स्वास्थ्य क्षेत्रको मुख्य समस्या : जनसंख्याको अनुपातमा दरबन्दीकाे अभाव

  २०८० असोज १२ गते १५:०६     विकासन्युज

काठमाडौं । पछिल्लो समय देशका केही अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि बिरामी आफन्तहरुले कुटपिट तथा दुव्र्यवहारका घट्ना घटाइरहेका  छन् । साेही विषयलाई लिएर चिकित्सकहरुले ओपिडी सेवा प्रभावित हुनेगरी राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् ।

चिकित्सकहरुकै आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले शुक्रबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्याे। वैठकमा आन्दोलनकारी चिकित्सकदेखि सांसद र मन्त्रीहरुले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या जनसंख्याको अनुपातमा चिकित्सकको व्यवस्था नभएकै कारणले भएकाे बताएका छन् ।

वैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या दरबन्दीको व्यवस्थापन नगरी गर्न नसकिने बताए । उनले अहिलेकै दरबन्दी कायम राखेर देखिएका समस्या समाधान गर्न नसकिने समेत धारणा व्यक्त गरेका छन् ।

‘दरबन्दी यही राखेर हामीले जे नीति, कानून बनाएपनि (चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई ईंगित गर्दै) हामीले यस्ता समस्या समाधान गर्न सक्दैनौं’, मन्त्री बस्नेतले भने । साथै उनले सरकारी बजेटबाट अस्पतालहरुमा दरबन्दी थप्ने कार्य गरेमा आफूले दातृ निकायहरुसँग सहयोग जुटाएर समेत प्रविधिको व्यवस्थापन गर्ने बताएका थिए । उनले अहिले तत्काल २९ हजार नर्सिङ कर्मचारीको आवश्यकता भएको समेत बताएका थिए ।

मन्त्री बस्नेतका अनुसार भएको चिकित्सकहरुको दरबन्दीमा पनि पहुँचको आधारमा धेरै चिकित्सकहरु राजधानी बस्ने र ग्रामिण क्षेत्रमा नजाने समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो आंकडाअनुसार अहिले आठ सय जना भन्दा धेरै डाक्टरहरु काजमा रहेर काम गरिरहेका छन् । तर, चिकित्सकहरुले सिर्जना गरेको विकृतिको विषयमा भने चिकित्सकहरुको आन्दोलनले केही बोल्न खोजेको देखिँदैन ।

‘धेरैजना डाक्टरहरु काजमा छन्, ती अधिकांश पहुँचवाला हुन्, २० जना अर्थोपेडिक भए पुग्ने ट्रमा सेन्टरमा ४२ जना अर्थोपेडिक छन्’, मन्त्री बस्नेतले भने, एउटा डाक्टर १६ वर्षदेखि बिमारीको नाममा काठमाडौंमा बसेका छन् ।’ चिकित्सकहरुको काजको विषयमा देखिएको समस्यालाई आफूले पार्टीमा पनि राखेर समाधान गर्नेतर्फ लागेको उनको भनाइ छ । उनले स्वास्थ्य मन्त्रीको तहबाट मात्रै स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान हुने अवस्था नरहेको भन्दै ‘कलेक्टिभ’ प्रयासको आवश्यकता भएको बताएका थिए ।

डेढलाख जनसंख्या बराबर १ जना चिकित्सक

विश्व स्वास्थ्य संगठनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रति एकहजार जनसंख्या बराबर एक जना चिकित्सक हुनुपर्ने मान्यता अगाडि सारेको छ । तर, नेपालमा प्रति डेढ लाख जनसंख्या बराबर एक जना चिकित्सकले काम गर्नुपर्ने अवस्था रहेको शुक्रबार भएको समितिको बैठकमा बोल्ने चिकित्सक र सांसदहरुले बताएका थिए । एक दिनको ओपिडी समयमा ८० जना सम्म बिमारी हेर्नुपर्ने अवस्थाले बिमारी र बिमारीका आफन्तलाई रोगको बारेमा बुझाउन नसकिएको चिकित्सकहरुले गुनासो राखेका थिए ।

नेपाल आवासी डाक्टर एशोसिएसनका अध्यक्ष डाक्टर कपिल गौतमले नेपालमा चिकित्सकहरुको उत्पादनमा कमि नभएपनि डेढलाख जनसंख्या बराबर एक जना चिकित्सकले उपचार गर्नुपरेको बताए । एकजना आवासीय चिकित्सकले निरन्तर ४० घण्टासम्म ड्युटी गर्नुपरेको अवस्थामा डाक्टरको निद्रा र प्यासलाई कसैले नहेरेको भन्दै पिडा व्यक्त गरेका थिए । साथै उनले १० वर्ष लागेर विशेषज्ञता हासिल गर्दा सरकारले मासिक ४८ हजार तलब दिने गरेको र निजी क्षेत्रमा २० हजारमा काम गर्नुपर्ने अवस्था रहेको बताए ।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले पनि स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण भनेको जनशक्तिको अभाव नै मुख्य भएको बताएका थिए ।

नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्रकान्त भण्डारीले पनि जनशक्तिको समस्या भएपनि दरबन्दी नबढाइएको बताए । उनले आफूहरुले सो विषयमा बारम्बार आवाज उठाइरहेपनि समस्या समाधान नभएको भनाइ राखेका थिए ।

‘समस्या जनशक्तिको छ, दरबन्दी बढ्दैन’, उनले भने, ‘हामीले बारम्बार आवाज उठाइरहेका छौं, तर, जनरल एजुकेसन पढेकाको बाहुल्यता भएको प्रशासन भएको हुँदा सम्बोधन हुन सकेको छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न छुट्टै समिति बनाएर काम गर्नुपर्ने बताएकी थिइन । उनले अस्पतालमा देखिएका कतिपय समस्यामा अस्पताल प्रशासनको कमजोरी भएपनि डाक्टरलाई मात्रै आरोप आउने गरेको बताएकी थिइन् ।

गृहसचिव दिनेशकुमार भट्टराईले फस्र्ट ब्रेन भनिएका डाक्टरहरुले आन्दोलनको नाममा कतै आफ्नो जिम्मेवारी भुलिरहेका त छैनन् भनेर डाक्टरहरुलाई घुमाउरो पारामा प्रश्न तेर्साएका थिए । गृहमन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि उचित भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.