२०८० असोज ५ गते १५:५६ विकासन्युज
काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ठूलो आर्थिक संकटमा परेको छ । हाइड्रोपावर कम्पनी निर्माणको लागि थप पुँजीको अभाव भएपछि आर्थिक समस्यामा परेर थप अगाडि अगाडि बढाउन नसक्ने अवस्थामा कम्पनी पुगेको हो ।
रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले दैलेखको अपरपराजुली खोलामा २.५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने गरी तीन बैंकसँग लगानी सम्झौता गरेको थियो । वि.सं. २०७२ सालमा एभरेष्ट बैंकको अगुवाईमा सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सो परियोजनामा लगानी गरेका थिए ।
तीन बैंकले सो आयोजनाका लागि ३६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको थियो । जसमध्ये हालसम्म ३१ करोड रुपैयाँ भुक्तानी भइसकेको बुझिएको छ ।
हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष नरसिंह मल्लका अनुसार बैंकबाट कर्जा लिएवापत् हालसम्म ६ करोड रुपैयाँ ब्याज तिरिसकेको छ । उनले आयोजना निर्माणका लागि थप पुँजी जुटाउन नसक्दा समस्या सिर्जना भइरहेको बताए । स्रोतका अनुसार लगानी जुटाउनका लागि लगानीकर्ताहरुबीच कुरा नमिल्दा आयोजना वेवारिसे बनेको हो ।
सो आयोजनामा लगानीकर्ताको १३ करोड पुँजी छ । बैंकको लगानी ३१ करोड हुँदा कुल ४४ करोड रुपैयाँ सो आयोजनामा डुबेको छ । आयोजना समस्यामा पर्दा र बैंकलाई ब्याज पनि तिर्न नसकेपछि शुक्रबार एभरेष्ट बैंकले ३५ दिने सूचना सार्वजनिक गरेको छ ।
बैंकले ३५ दिनभित्र कर्जा चुक्ता गर्न बैंकले सूचना सार्वजनिक गरेको छ । बैंकका अनुसार सावाँ ब्याज चुक्ता गर्न पटक–पटक लिखित एवं मौखिक रुपमा सूचना गरी ताकेता गर्दा समेत वेवास्ता गरेकोले ३५ दिनभित्र बैंकमा सम्पर्क गर्न आग्रह गरेको हो । उक्त समयभित्र कर्जा नियमित गर्न नसके बैंकहरुले चल अचल सम्पत्ति प्रचलित कानून बमोजिम लिलाम गरेर बिक्री गर्न सक्नेछन् ।
अध्यक्ष मल्लका अनुसार सो आयोजनाको निर्माण कार्य हालसम्म ८५ प्रतिशत सम्पन्न भइसकेको छ । थप निर्माण कार्य गर्नका लागि रकम अभाव भएपछि कम्पनीले कर्णाली प्रदेश सरकारसँग गुहार मागेको थियो । साथै, कम्पनीले बैंकबाट ऋणवापत पाउनु पर्ने बाँकी ५ करोड रुपैयाँ कर्जा माग्दा बैंकहरुले प्रमोटरलाई २ करोड रुपैयाँ आफै थप्न भनेको थियो । तर, प्रमोटरहरुले सो बराबरको रकम आफैं थप्न नमानेपछि बैंकले पनि बाँकी रकम नदिएर कर्जा चुक्ता गर्न ताकेता गरेको हो ।
‘आयोजना निर्माण कार्य अन्तिम चरणमा छ तर थप काम गर्नका लागि आवश्यक रकम अभाव भयो, बैंकहरुले प्रमोटरलाई २ करोड रुपैयाँ थप्न भनेको थियो । तर, प्रमोटरहरुले ८० लाख रुपैयाँ भन्दा बढी रकम थप्न सकेनन्, थप रकम जुटाउन नसकेपछि बैंकले पनि बाँकी ऋण दिन मानेन,’ उनले भने, ‘रकम नभएपछि आयोजना अलपत्र पर्ने देखिन्छ, त्यसपछि प्रदेश सरकारलाई लगानी गर्न आग्रह गर्याैं, सरकारले पनि लगानी गर्न मानेन ।’
एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विजय कुमार शर्मा कम्पनीका प्रमोटरहरुले कर्जा चुक्ता गरेमा लिलामी प्रक्रिया रोक्ने बताउँछन् । उनका अनुसार कर्जा रिकभरी नभएपछि बैंकले बाध्य भएर सम्पत्ति लिलामी गर्न खोजेको हो ।
‘समयमा कर्जा तिर्न सकेन, अब अर्काे लगानीकर्ताले लिन्छ, कम्पनीको भ्यालू धेरै छ, हामी हाम्रो लगानी असुल गर्छौं,’ डीसीईओ शर्माले भने ।
उनका अनुसार सो कम्पनीमा एभरेष्ट बैंकको मात्रै १४ करोड रुपैयाँ लगानी छ । हाइड्रोपावरको भ्यालू ५० देखि ६० करोड रुपैयाँ रहेको उनको भनाइ छ । सो कम्पनी लिलामी गर्नका लागि २/३ लगानीकर्तासँग छलफल भएको उनले बताए ।
रारा हाइड्रोपावर कम्पनी साविक अवलपराजुल गा.वि.स. ४ र ५ स्थित ११ हजार ४५ वर्ग मिटर क्षेत्रफल र साविक पिलाडी गा.वि.स. ६ स्थित १०७० वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको छ ।
बैंकका अनुसार हाल निर्माणाधीन विद्युत गृह, पावर हाउस, विद्युत उत्पादन तथा विस्तारका लागि ऋणी कम्पनीका तर्फबाट तयार गरिएको वा गरिने सम्पूर्ण विद्युतीय सञ्जाल तथा उक्त विद्युत गृहमा जडित विभिन्न यन्त्र उपकरण मेसिनरिज तथा अन्य घर, भवन, कार्यालय, पर्खाल तथा अन्य निर्माण कार्यहरु बिक्री गर्ने बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
Copyright © 2023 Bikash Media Pvt. Ltd.