कार किन्न बुबाको पालामा ९०% कर्जा, छोराको पालामा ५०% मात्र, को बस्छ यो देशमा ?

  २०८० भदौ ३१ गते ८:१६     अनुपकुमार बराल

देशको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण छ । अर्थतन्त्रमा ठूलो योगदान रहेको यो क्षेत्रमा क्रियाशिल नेपाली अटो व्यवसायीहरूको भविष्य भने अहिले अन्यौलपूर्ण अवस्थामा छ । सरकारकाे नीतिमा अस्थीरता छ । सरकारको नीतिले अटो व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अहिले नेपाली अटो व्यवसाय दयनिय अवस्थामा छ । यस क्षेत्रलाई दयनिय बनाउने पनि सरकार नै हो । यसमा अरू कसैको दोष छैन । अटो व्यवसायको भविष्य राम्रो बनाउने कुरामा  व्यवसायीको हातमा मात्रै हुँदैन ।

विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि यो क्षेत्र सुधारोन्मुख बाटोतर्फ लम्कदै थियो । त्यसको लगतै सरकारले गाडीको आयातमा प्रतिबन्ध लगायो । सरकारले विदेशी मुद्राको सञ्चितिको अभाव भएको भन्दै आयातमा कडाइ गरेको भनिएको थियो । सरकारले कुनै पनि अध्ययन तथा विश्लेषण नगरी गाडीको आयातमा प्रतिबन्ध लगायो । जसको असर आजसम्म अटो व्यवसायीहरूले भोग्नु परिरहेको छ ।

सरकारको कुल राजश्वमा २५ प्रतिशत योगदान यस क्षेत्रले दिएको छ । यस क्षेत्रबाट प्रत्यक्ष एक लाख र अप्रत्यक्ष रूपमा १५ लाख बढीले रोजगारी पाएका छन् । सरकालले जुन सेगमेन्टको आयातमा प्रतिबन्ध गरेको थियो । त्यो नेपालमा हुने कुल आयातको एक प्रतिशतको मात्रै क्षेत्र थियो । जसले कुल राजश्वमा ६ प्रतिशत योगदान दिन्थ्यो । यो तथ्याङ्कलाई हेर्दा सरकार अटो मोबाइल व्यवसायप्रति ठूलो भरोसामा रहेको जस्तो देखिन्छ । आयात प्रतिबन्धको चेन इफेक्ट गाडी उत्पादक कम्पनीहरूसम्म पर्यो । किनभने नेपाली व्यवसायीले गाडीको आयात गरेर बेच्ने हो ।

आयात गरेर बेच्ने बस्तुमा सरकारले गाडी तथा मोटरसाइकल मात्र देख्यो । तर, त्यहाँ पार्टपुर्जा लगायतका सामाग्री आयात भएको देखेन । त्यसले गाडीमात्र नभई सिस्टम र प्रोसेस नै बन्द भयो । एउटा कुनै उत्पादक कम्पनीसँग आयातकर्ताले गाडी आयात गर्दा लगभग ६ महिनाको योजना दिनु पर्छ । नत्र नेपालमा कति गाडी बिक्री हुन्छ ? यसको भोलुम कति छ ? यसतर्फ कुनै विश्लेषण नै भएन ।

अटो व्यवसाय क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भइसकेको छ । एउटा साधारण भन्दा साधारण डिलरले सोरुम खोलेर बस्नु पर्यो भने उसको ओभर हेड कति हुन्छ ? बैंक चार्ज कति हुन्छ ? यी सबै चिजको मूल्याङकन नगरी आयात प्रतिबन्ध गर्नले त्यसको चेन असर यस क्षेत्रमा परेको छ ।

पेट्रोल र डिजेलका गाडी आयात बन्द भएको बेलामा इलेक्ट्रिक भेहिकल (ईभी) ले केही राम्रो गर्याे । ईभी आउँदै थियो, नयाँ नयाँ प्रविधि आइरहेका थिए । तर, यहाँ जो ६० वर्षदेखि व्यवसाय गरी अर्बौं रुपैयाँ लगानी गर्नु भएको छ । त्यत्रो ठूलो लगानी गरेको क्षेत्र चाहिँ तहस नहस भयो तर त्यतातिर चाहिँ कासैको चासो भएन ।

अहिले गाडी व्यापार डामाडोल अवस्थामा छ । यदि अटो व्यवसायीको कारण विदेशी विदेशी मुद्रा सञ्चिति बाहिरिएको भए गाडीको आयात बन्द हुँदा अर्थतन्त्र बुम हुनु पर्ने हो । तर, त्यस्तो भएन । आज मान्छेको बिहान खायो भने बेलुका के खाने भन्ने अवस्था छ । हजारौंलाई रोजगारी दिएको एउटा कम्पनीमा आज २ सय जनाले काम गर्छन् । व्यापारमा कमी आएको कारण नै यो समस्या देखिएको हो । यस्तै, हामीलाई गाडी उत्पादक गर्ने कम्पनीहरूले पनि विश्वास गर्न छाड्यो । अर्डर दिएको छ तर गाडी ल्याउन पाइँदैन । अनि कसरी उत्पादक कम्पनीसँग सम्बन्ध राम्रो हुने ?

सम्बन्ध बिग्रिएपछि व्यवसायी उत्पादक कम्पनीहरूसँग हात जोड्दै जाने अवस्था छ । २४० प्रतिशत कर तिरेर नेपालमा गाडी भित्र्याउनु पर्ने अवस्था छ । गाडीमा पनि बैंकले फाइनान्स गर्दैन । राजश्व तिरेर ल्याएको गाडी पनि यो देशमा सहज तरिकाले बच्न सक्ने वातावरण छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटपछि कर्जाको जोखिम भार घटेर १०० मा आएको छ । त्यसले व्यापारमा सकारात्मक सन्देश देला । सरकारले यसलाई घटाएर ६०/७० पुर्याउनु पर्छ ।

नेपालमा पछिल्लो समय ईभीको ट्रेन्ड बढेको छ । तर, इन्धनबाट चल्ने सवारीमा ठूलो लगानी भइसकेको छ । एक पटक सबै कुरामा परिवर्तन हुँदैन । भौगोलिक अवस्थाले पनि इन्धनबाट चल्ने गाडी चाहिन्छ । निर्माणले कुन गति लिएको छ ? विकासका काम कति भए ? यी सबै विषयलाई मध्यनजर गर्दै कुन प्रडक्टलाई प्रोत्साहन गर्ने, कुनलाई नगर्ने भन्ने विषयमा छलफल गर्नुपर्छ ।

अहिले अर्थतन्त्रमा सुधारका संकेतहरु देखिरहेका छन् । बैंकको पनि ब्याजदर घटाउँदै गएका छन् । व्यवसायी पनि ब्याजदर घट्ने आशा लिएर बसेका छन् । किनभने बैंकमा मौजात बढेको छ । विदेशी मुद्रा सञ्चिति राम्रो कन्डिसनमा छ । त्यसले गर्दा केही चहलपहल होला । यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो सोको सञ्चालन गरिरहेको छ । त्यसले पनि अटो मोबाइलको व्यापारलाई चलायमान बनाउनको लागि भूमिका खेल्छ । नाडा अटो शोमा राम्रो नै कारोबार भएको छ । सुधारोन्मुख बाटोमा अटो बजार जाने छ, हामी आशावादी छौं ।

सरकारले गाडीको आयात रोक लगाउने वित्तिकै सरकारसँग अब पैसा छैन भन्ने मान्छेमा सन्देश गयो । देश श्रीलंका बन्दैछ भन्ने भ्रम फैलियो । जसका कारण भएको पैसा पनि खर्च नगरी मान्छे पैसा लिएर पर्ख र हेरको अवस्थामा बसे । त्यसैले पनि आर्थिक संकट बढ्दै गयो । आर्थिक संकट भएपछि मान्छेमा किन गाडी चढ्ने ? ४/५ लाख रुपैयाँ भएपनि किन खर्च गर्ने ? भन्ने मानसिकतामा पुगे ।

हामीले आयात बन्ददेखि आर्थिक संकट करिब १८/२० महिना भोग्यौं । यो बीचमा अटो व्यवसायीहरूको सय भन्दा बढी व्यवसाय बन्द भइसकेको छ । व्यवसाय, सोरुम बन्द हुनु, लगानी डुब्नु व्यवसायीहरूको लागि ठूलो चिन्ताको विषय हो । एक सय वटा सोरुममा वर्कसप बन्द हुँदा ३०/४० हजारको रोजगारी पनि गुम्यो । कुनै किसिमको मूल्याङकन नगरी नीतिगत रूपमै अप्ठ्यारो बनाउने नीति बनाउने हो भने भोलिका दिनमा को कहाँ रहन्छ भन्ने टुङ्गो छैन ।

उद्योग धन्दा बन्द हुने र विकास निर्माणको काम ठप्प हुने हो भने कुनै बेला निर्माण व्यवसायीले चलाएका सवारी पनि लिलाममा जाने अवस्था आउँछ । खर्बौंको लगानी गरेका व्यवसायीहरू घाटामा चलिरहेको बेलामा खबौंको नाफामा बैंकहरु चलिरहेको अवस्था छ । अर्थतन्त्रको अवस्था यस्तो हुँदा  ८ प्रतिशतको ब्याजदरलाई बैंकले बढाएर १६ प्रतिशत बनाए । सरकारले हस्तक्षेप गरेन । बाटो एउटै हो यात्रा सबै मिलेर गर्नुपर्छ । संकट आयो भन्दैमा कुनै पनि क्षेत्र डामाडोल होस् भनेर चाहिँ ठान्नु हुँदैन ।

सरकारले गरेका राम्रो कामको प्रशंसा जहिले पनि व्यवसायीहरूले गरिरहेका छन् । ईभीलाई सरकारले सपोर्ट गरेको छ । त्यो प्रशांसनिय काम गर्यो भनेर भनिरहेका छौं । भोलिका दिनमा सरकारलाई ईभीको ब्याट्री व्यवस्थापनमा पूर्ण रूपमा सहयोग गर्न अटो व्यवसायी तयार छन् । प्यासेन्जर गाडीमा बैंकले गरेको लगानी एक प्रतिशत पनि डिफल्ट छैन । देश निर्माणको काम बढाउँदै जाने हो भने अहिलेको गाडीले पुग्दैन ।

बुबाको पालामा ९० प्रतिशत फाइनान्समा गाडी चढ्न पायो । छोराले ५० प्रतिशत रकम नहाली हुँदैन । पहिला नै ५० प्रतिशत रकम हाल अनि मात्र गाडी पाउँछस् भन्ने पनि कुनै देश हुन्छ ? अनि मान्छे यो देशमा कसरी बस्छ ?

भोलिका दिनमा अटो बजारको भविष्य राम्रो बनाउने हो भने एउटा स्पष्ट नीतिको आवश्यक छ ।  कुनै पनि व्यवसायलाई स्थीर रूपमा चलाउनको लागि कम्तीमा १० वर्षे योजना ल्याउनुपर्छ । देशभित्र व्यवसायीलाई एसेम्बल प्लान्ट, उद्योग चलाउन गाह्रो छ । जति सुकै सानो उद्योग चलाउँछु भनेता पनि मेरो उद्योग दर्ता गर्न पहिला नै ८ ठाउँ पुग्नु पर्छ । सबै स्टेक होल्डरसँग बसेर १० वर्षे योजना बनाऊँ । नेपालमा आज राम्रो राम्रो ब्राण्ड आएका छन् । टायर, ब्याट्री लगायतका धेरै उद्योग सुरु भएका छन् । बिस्तारै चार पाँग्रे सवारीको पनि एसेम्बल सुरु हुँदैछ । व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिले हो । बैंकको ब्याजदर सुनिश्चित हुनु पर्छ । ब्याजदर बजारले निर्धारण गर्छ भनेको छ । त्यसमा हामीले विरोध जनाएको छैन । तर, बजारलाई चलायमान बनाइ राख्ने नीति पनि सरकारले ल्याउनु पर्छ । पेट्रोल तथा डिजेलमा विदेशी मुद्रा बाहिरियो भनेर गाडी आयात रोक्नु हुन्न। ढुक्को वातावरण सिर्जना गरेपछि व्यवसायीले लगानी गर्छन् । मन ढुकढुक बनाएर घर जग्गा जमिन सबै बैंकमा राखेर लिलामी सहनु पर्ने अवस्था छ । त्यसैले १० वर्षे बलियो नीतिको आवश्यक छ ।

(बराल नाडा अटो शोका सभापति हुन्)

One comment on "कार किन्न बुबाको पालामा ९०% कर्जा, छोराको पालामा ५०% मात्र, को बस्छ यो देशमा ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.