२०८० भदौ २९ गते १७:२१ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिशन पुनरावलोकन गर्ने तयारी गरिरहेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ सो बताएका हुन् ।
‘ब्रोकर कमिसन पुनरावलोकन गर्ने तयारी भैरहेको छ, कति घट्छ भन्ने अहिले नै एकिन भएको छैन, तर ब्रोकर कम्पनीको दीर्घकालीन हेरेर नि पुनरावलोकन गरिनेछ,’ उनले भने ।
पुँजी बजारमा सूचीकृत कम्पनी नडुब्दासम्म कम्पनीहरुको व्यवसाय नखस्किने उनको भनाइ थियो ।
‘हालसम्म पुँजी बजारमा सूचीकृत कम्पनी कुनै पनि डुबेका छैनन्, त्यसैले कुनै पनि कम्पनीको व्यवसाय घटेको मानिदैन, सूचीकृत कम्पनी कुनै डुबेपछि मात्रै व्यवसाय खस्किएको भन्न मिल्छ,’ उनले भने ।
कार्यकारी निर्देशक श्रेष्ठले पब्लिक र प्रमोटर सेयरधनी छुट्याउने नीति बैंक तथा बीमा कम्पनीले ल्याएको भएकाले यसमा बोर्डले केही गर्न नसक्ने बताए ।
‘अन्य देशमा संस्थापक र सर्वसाधारण सेयर भनेर छुट्याइएको पाइँदैन, नेपालमा मात्रै पब्लिक र प्रमोटर सेयरधनी छुट्याइने गरेको छ, बैंक तथा बीमा कम्पनीको नियामक निकायले ल्याएको नीति हो, यसमा धितोपत्र बोर्डले केही गर्न सक्दैन,’ उनले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.