पाँच वर्षमा मासिक पाँच हजार एकल भत्ता दिन्छौं : मेयर शर्मासँगको कुराकानी

  २०८० भदौ २८ गते १८:२६     विकासन्युज

काठमाडौं । दैलेख जिल्लाको नारायण नगरपालिकाका नगर प्रमुख हुन् लोमन शर्मा । खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायतका विषयलाई प्राथमिकता दिएर काम गरिरहेका मेयर शर्मा पालिकाको विकासका लागि दिनरात खटिरहेका छन् । पहिलो वर्ष नै घोषणापत्रमा उल्लेख गरिएका मुद्दाको ५० प्रतिशत काम सम्बोधन भइसकेको उनको भनाइ छ । शर्माले यो अवधिमा नगर कृषिमा आत्मनिर्भर भएको पनि बताए । शर्मा युवा उद्यमी र युवालाई कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर लागि परेका छन् । उनै मेयर शर्मासँग नगरले अघि सारेको योजना, पालिकाले गर्दै आएका काम, युवा उद्यमीमा नगरको भूमिका लगायतका विषयसँग सम्बन्धित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

तपाईं मेयरका रुपमा निर्वाचित हुनु भएको करिब डेढ वर्ष भयो । तपाईंले यो अवधिभित्र पालिकामा गरेका महत्वपूर्ण काम के-के हुन् ?

हामी नारायण नगरपालिकामा निर्वाचित भएर आएपछि प्राथमिकताका विषयवस्तु र कामको केन्द्रिकरण गरेका छौं । जस अनुसार आवधिक र वार्षिक योजना बनाएर काम गर्यौं । सोही अनुरूप नगरले खानेपानीलाई पहिलो प्राथमिकता दिएको छ । त्यसपछि क्रमशः स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकासका कामलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । यहाँ खानेपानीको लागि केही वर्ष अघिसम्म जनताले चर्को महसुल बुझाउँदै आउनु परेको थियो । अहिले पाँच हजार लिटरसम्मको पानी निःशुल्क उपभोग गर्न पाउने निर्णय गरेका छौं । यस्तो व्यवस्था गत आर्थिक वर्ष २०७९÷८० बाट लागू गरेका हौं । खानेपानी विस्तारको लागि नगरले नीजि धारा जोड्ने तथा पानीको ट्याङ्कीहरु निर्माण गर्ने कार्य गरिरहेको छ । खानेपानीको संरचना बनाउने तथा सहज तरिकाले खानेपानी आपूर्ति गर्ने काममा भइरहेको छ । जसमा नगर ५० प्रतिशत सफल भइरहेको छ ।

यसैगरी नगरले स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको छ । नगरले सुत्केरी आमाहरूलाई लक्षित गर्दै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यतिमात्र नभई अस्पतालमा बच्चा जन्मिसकेपछि आमा र बच्चा घरसम्म पुर्याउनको लागि पनि यो सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ । जेष्ठ नागरिक, असहाय, असक्त, दीर्घ रोगीहरूलाई घरदैलो उपचार सेवा सञ्चालन गरेका छौं । यो सेवाबाट तीन हजार जेष्ठ नागरिकले पाइराख्नु भएको छ । ८० वर्ष माथिका जेष्ठ नागरिकहरूलाई निःशुल्क औषधी उपचार गरिरहेका छौं भने उहाँहरूको लागि अस्पतालसम्म आवतजावत गर्ने सेवा सञ्चालन गरेको अवस्था छ । स्वास्थ्य बीमादेखि स्वास्थ्य चौकी सुधारसम्मका काम भएका छन् । प्रायः प्रत्येक वडामा स्वास्थ्य चौकीको भवनहरू निर्माण भई सञ्चालनमा आएका छन् ।

घरघरमा चिकित्सकको सेवाको सुरुवात गर्ने तयारी गर्दैछौं । यसले जनताको स्वास्थ्यमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा राखेका छौं । सुत्केरी आमाहरूलाई अस्पताल आउनु नपर्ने घरमै गएर अथवा वडामै गएर भिडियो एक्स–रे गरी स्वास्थ्य परीक्षण गर्ने पनि गरिरहेका छौं ।

तपाईंले काम गरेको महसुस गराउनका लागि र पालिकावासीलाई नयाँ पन दिलाउने किसिमको के काम गर्नु भएको छ ?

हेर्नुहोस् सडक भत्केको छ, नबनाई हुँदैन । निरन्तर चलिरहने काम भएता पनि त्यसको सुधार र विकासका निमित्त त सदैव लागि राख्नु पर्यो । नगरवासीको आर्थिक अवस्था सबल कसरी बनाउने भन्ने कुराहरू छँदैछन् । यसका अलावा नगरले एक पुरुष तथा एक महिलालाई भत्ता दिने व्यवस्था गरेको छ । एकल महिलाहरूले पहिलाबाटै भत्ता पाउँदै आउनु भएको थियो । हामीले आर्थिक रूपमा एकल पुरुषहरूलाई पनि सहयोग पुगोस् भनेर भत्ता वितरण गर्न सुरु गरेका छौं ।

हामीलाई एकल पुरुष वा महिलालाई एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएका छौं । प्रत्येक वर्ष एक हजार रुपैयाँ थप्दै जान्छौं र पाँच वर्षमा ५ हजार रुपैयाँ भत्ता पुर्याउने हाम्रो योजना छ । यो सेवा करिब १ सय ४३ जनाले पाउनु भएको छ । ५५ वर्ष भन्दा माथि ५८ वर्ष भन्दा मुनिका एकल पुरुष वा महिलालाई भत्ता दिएका छौं ।

नारायण नगरपालिकाले युवालाई उद्यमी बनाउन के कस्तो काम गरिरहेको छ ?

युवालाई उद्यमी बनाउनको लागि प्रत्येक वर्ष नगरले सीपमूलक तालिमको आयोजना गरिरहेको हुन्छ । ताकी उहाँहरूले सीप सिकेर नयाँ काम गर्न सकुन् । नगरपालिकाभित्र रोजगारी सिर्जना गर्न रोजगार कोषको खडा गरेका छौं । अहिले प्रत्येक वडाका युवा साथीहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडेर काम पनि दिइरहेका छौं । त्यसमार्फत उहाँहरूले १०० दिनको रोजगार पाउनु हुन्छ । योसँगै युवाहरूलाई कृषिमा आबद्ध गरी व्यवसायिक कृषिमा प्रोत्साहन गरिरहेका छौं ।

नगरपालिकाले वार्षिक रूपमा युवालाई सीपमूलक तालिम दिनको लागि लाखौं रुपैयाँ बजेट छुट्याइ रहेको हुन्छ । तर, यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नस्थानीय तहलाई किन सकस परेको हो ?

नगरले सीटीभीटीका थुप्रै कार्यक्रम सञ्चालन गरेका छ । उहाँहरूले सीप सिकेपछि प्रमाणपत्र पनि प्रदान गर्छौं । ताकी भोली गएर त्यो प्रमाणपत्र विदेशमा गएर पनि काम लागोस् । जसले तालिम लिनु भएको छ, उहाँहरूले त्यो सीपसँग आधारित व्यवसाय अनिवार्य गर्नुपर्ने बाध्यात्मककारी व्यवस्था गरेका छौं । त्यसैले यो प्रभावकारी भएन भन्न मिल्दैन । सीप सिकेका युवा साथीहरू आज साना तथा घरेलु उद्योगको स्थापना गरी व्यवसायी बनिराख्नु भएको छ । हामीले दिएको तालिम सफल छ । हामीले गत वर्ष २५ जनलाई तालिम दिएका थियौं । उहाँहरू कुनै न कुनै व्यवसायसँग आबद्ध हुनुहुन्छ । त्यसैले यसलाई निरन्तरता दिइराख्नु पर्छ ।

युवालाई बिदेशिन रोकेर गाउँमै रोजगार बनाउन स्थानीय तहको ठूलो भूमिका रहन्छ । तपाईंले गाउँपालिकामा युवा लक्षित रोजगारीको लागि कस्तो नीति बनाउनु भएको छ ?

हामी प्रत्यक्ष रूपमा विदेश नजाऊ भनेर भन्न सक्दैनौं । किनभने राज्यले गर्ने काम स्थानीय तहले गर्न सक्दैन । स्थानीय तहले विदेश नजाने भन्ने नीति पनि बनाएको छैन । तर, यहीँ व्यवसाय गर नगर सहकार्य गर्न तयार छ भनेर भन्न सक्छ । विदेश जानु आजका दिनमा फेसन भइसकेको छ । नगई पनि भएको छैन । यहाँ नियमित रोजगारी छैन, लगानीको अवसर छैन । त्यसैले पनि यो ट्रेन्ड बढेको हो । यसमा स्थानीय तहले गर्न सक्ने काम गरिहरेका छ । युवालाई अवसर सिर्जना गर्नमा नगर सदैव तत्पर छ ।

नगरलाई आर्थिक रूपमा सबल बनाउने योजना सहित कसरी काम गरिराख्नु भएको छ ?

नगरलाई आर्थिक रूपमा सबल बनाउने आधारको रुपमा कृषि क्षेत्रलाई देखेका छौं । र, यस क्षेत्रलाई प्राथमिकता दिएर पनि काम गरिरहेका छौं । कृषि उत्पादन, आधुनिकिरण र व्यवसायीकरणमा नगरले जोड दिइरहेको छ । जीवन निर्वाहका लागि मात्र कृषि हैन की व्यवसायिक कृषि बनाउनु पर्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौं । जस्तै, हामीले फलफूल, तरकारी, कुखुरा पालन लगायतका पकेट क्षेत्र छुट्याएका छौं । कृषिमा पनि नगरले उदाहरणीय काम गरेको छ ।

नगरपालिका कृषि र पशुपालनमा आत्मनिर्भर छ ?

हो, नगर कृषि र पशुपालनमा आत्मनिर्भर छ । नगरभित्रका एक कृषकको वर्षेनी कृषिबाट ३ लाख रुपैयाँसम्म आम्दानी गर्नु हुन्छ । हामीले कृषिमा अनुदानको व्यवस्था मिलाएका छौं । कृषिका समूह बनाइ आवश्यक गृहकार्य पनि गरिरहेका छौं ।

अहिले जताततै काठमाडौं महानगरका मेयर र धरान उपमहानगरका मेयरले गरेको कामको मात्र उदाहरण दिन्छन् । तपाईंहरुको पनि क्षेत्राधिकार उति नै हो । तर, तपाईंहरु किन गुमनाम ?

उहाँहरुसँग पर्याप्त स्रोत साधन छ । काम गर्नको लागि आर्थिकदेखि जनशक्तिसम्म मजबुत छ । उहाँहरूले गरेको कामलाई म पनि सम्मान गर्छु । काठमाडौं महानगरका मेयर बालेद्र शाह (बालेन) सार्वजनिक जग्गामा बनको संरचना हटाउने, शहरको सौन्दरिकण गरेर चर्चामा आउनु भएको छ । तर, उहाँले कृषि, रोजगार जस्ता काम गर्नु भएको छैन । यहाँ हामीले प्रत्यक्ष जनताको घरदैलैमा पुगेर काम गरेका छौं । हामीले काम गर्नमा लाग्यौं, प्रचार गर्नमा लागेनौं । उहाँहरू प्रचार गर्नमा लागेकोले पनि धेरै काम गरेको जस्तो देखिएको हो । हाम्रो स्रोत साधनबाट भएको काम र उहाँहरूको स्रोत साधनबाट भएको कामको तुलना गरौं । हामीले अप्ठ्यारो अवस्थासँग जुधेर काम गरेका छौं । ग्रामीण क्षेत्रको एउटा स्थानीय तह सञ्चालन गर्नमा ठूलो चुनौती छ । उहाँहरूसँग पर्याप्त स्रोत साधन छ । महानगरको अर्बौं रुपैयाँ त राजश्व मात्र संकलन हुन्छ । बजेट पनि सोही अनुरूपको हुन्छ ।

राज्यबाट नगरलाई वार्षिक १० करोड रुपैयाँ बजेट प्राप्त हुन्छ । सोही रकमबाट सेवा प्रवाहदेखि विकास निर्माण खानेपानी, रोजगार, बिजुली बत्ती लगायतका आर्थिकदेखि प्रशासनिकसम्म काम गर्न पर्यो । स्रोतका हिसाबले पनि नगर र महानगरको तुलना गर्न मिल्छ ? धरानका मेयर हर्क साम्पाङ श्रम जुटाएर धरानमा पानी ल्याएर कारण चर्चामा आउनु भएको छ । हामीले त्यस्तो काम त नगरभित्र कति गरेका छौं कति । ग्रामीण क्षेत्रमा काम गर्न गाह्रो छ । हामीले सीमित स्रोत साधन बाबजुद धेरै काम गर्न सफल भएका छौं ।

प्रदेश सरकारसँगको समन्वय कस्तो छ ?

स्थानीय तहले अधिकार पाएका छन् तर राज्यका तर्फबाट पाउनु पर्ने स्रोत साधन पर्याप्त पाउन सकेनौं । संघको बजेट आउँछ, प्रदेशमा अड्कन्छ । प्रदेशले १५ प्रतिशत पनि बजेट खर्च गर्न सक्दैन । त्यो पैसा फ्रिज भएर जान्छ । सरकारले विकासको जिम्मा प्रदेशले दिएको छ । तर, प्रदेश काम गर्न सक्दैन । हामीले केवल सेवा प्रवाह गर्नेमात्र पैसा प्राप्त गर्छौं । त्यो बाहेक विकास निर्माणको लागि पैसा प्राप्त गर्न सकेनौं । जनसंख्या र भूगोलका आधारमा बजेट विनियोजन हुन्छ । ग्रामीण क्षेत्रमा जनसंख्या थोरै हुन्छन्, भूगोल ठूलो हुन्छ ।

मन्त्रालयका हरेक कार्यक्रम पनि राजधानीमा मात्रै केन्द्रित हुने गर्छन् । हामीले देखि रहेका हुन्छौं काठमाडौं भित्रको एउटै सडक वर्षमा ५ पटकसम्म भत्काउँदै बनाउँदै गरेको । तर, यहाँ एउटा सडक पनि राम्रो बनाउने बजेट पाएनौं । सरकारले ग्रामिण क्षेत्रमा गरेको लगानी पुगेन । हामीलाई अधिकार दिइयो । राज्यबाट विनियोजन हुने रकम दिइएन । हामीलाई गत वर्ष राज्यबाट १० करोड रुपैयाँ बजेट दिएको थियो । बजेट अनुसारको योजना छनोट गरी कार्यक्रम पनि बनायौं । तर, वित्तीय समानीकरण अनुदान कटौती भयो । जसका कारण भुक्तानी गर्नमा पनि समस्या भयो । राजश्वको पैसा आउँछ भनेर त्यी अनुसारको सिलिङ बनायौं । साढे ४ करोड रुपैयाँ राजश्वको पैसा आएन ।

१० करोडको सिलिङ दिने अनि ७ करोड रुपैयाँ बजेट कटौति गरेपछि पालिका अवस्था के होला ? यो वर्ष हामीले एउटा पनि नयाँ योजना तान्न सकेनौं । किनभने बजेट छैन । आन्तरिक स्रोत जसको बढी छ त्यो पालिका चल्छ, हैन भने स्थानीय तह सञ्चालन गर्न गाह्रो छ । तथापि पनि स्थानीय तहमा धेरै उपलब्धि भएको छ भन्ने मेरो निष्कर्ष हो ।

अन्त्यमा, तपाईंको कार्यकाल सकिनै लाग्दा नारायण नगरपालिका कस्तो हुन्छ ?

हामीले प्राथमिकता दिएका काम पुरा गर्नेछौं । निर्वाचित भएर आइसकेपछि नगरभित्र धेरै सडक सुधार गरेका छौं । ग्रामिण क्षेत्रमा सडकको पहुँच पुर्याउँदैछौं । खानेपानीलाई सुधार गयौं । सडक बत्ति जडान गर्दैछौं । विद्यालयमा दक्ष शिक्षकको पदपूर्ति गर्ने काम गरिरहेका छौं । एक वर्षमा घोषणापत्रमा उल्लेख गरेका कुराको ५० प्रतिशत सम्बोधन गरिसकेका छौं । त्यसैले हामी सफल भएको पनि महसुस गरेका छौं । अहिलेको कार्यकाल सकिँदा नगरभित्रको धेरै कुरामा सुधार र परिवर्तन भएको पाउनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.