जसलाई पत्रकारले पोले, पुलिसले पोलेन

  २०८० भदौ २७ गते १४:५१     विकासन्युज

काठमाडौं । मिति २०८० साउन ३ गते । साँझ पखको समय । सञ्चार माध्यममा समाचार आयो, ‘त्रिभुवन विमानस्थलबाट एक सय केजी सुन बरामद गरियो ।’ त्यो समाचार हावासरी देशविदेशमा फैलियो । देशभर सुन काण्डको नामले चर्चा भयो । त्रिभुवन विमानस्थल, भन्सार कार्यालयबाट पनि जाँचपास भएर ट्याक्सीसम्म पुग्दा समेत नसमातिएको त्यति धेरै सुन कसको होला ? शुरूमा सय किलो बढी भनिएको सुन पछि ६०.७६१ किलोग्राम भएको प्रमाणित भयाे।

यो प्रकरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरु, शिर्ष नेतासँगै ठूल्ठूला व्यवसायीहरुको संलग्नता रहेको अनुमान गरियो । अनुमान मात्रै गरिएन स्रोतको हवाला गर्दै केही ‘मेन स्ट्रिम’ मिडियाहरुले पनि व्यक्तिको नाम नै किटान गर्दै लेखे, ‘सुन दिपक मलहोत्राको भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

त्यसरी समाचार आएपछि सोही दिन व्यवसायी दीपक मलहोत्राले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सुन प्रकरणमा मेरो संलग्नता देखिएमा जुनसुकै कारवाही पनि भोग्न तयार छु ।’

समाचार माध्यमा उल्लेख गरिएका अन्य कुनै पनि व्यक्तिसँग आफ्नो चिनजान, सम्बन्ध र कुनै पनि कारोबार नभएको बताए । समाचार खण्डन नगरे कानुनी उपचारमा जाने समेत बताए ।

उनको सो धारणापछि पनि उनको विषयका समाचारहरु रोकिएनन् । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा सुन प्रकरणमा व्यवसायी मलहोत्राको संलग्नता रहेको दावीसहितको समाचारहरु सम्प्रेषण हुन थाले । व्यवसायी मलहोत्रा त्यसपछि मौन बसे ।

व्यवसायी मल्होत्रा मात्रै सुन प्रकरणमा मुछिएनन्, अर्का व्यवसायी राकेश अडुकियालाई पत्रकारले पाेले। सञ्चार माध्यमहरुले यो प्रकरणमा राकेशको भूमिका शंकास्पदका रुपमा मात्रै लिएनन्, यो प्रकरणसँगै उनले देश नै छोडेर भागेको समाचारहरू प्रकाशित भए ।

उनका छोरा रोहनलाई सुन प्रकरणै पक्राउ गरेको विषय पनि बाहिरियो । उनीमाथि थप अनुसन्धान गर्न आवश्यक नभएको भन्दै सीआईबीले बुझ्न नमानेको विषय पनि बाहरियो । लामो समयसम्म मलहोत्रा र अडुकियाको वरिपरी नै सञ्चार माध्यमहरु घुमिरहे । उनीहरुलाई नै सञ्चार माध्यमले प्रमुख अभियुक्तका रुपमा लिए ।

व्यवसायी अडुकिया भन्छन्, ‘नाम चलेका सञ्चार माध्यमले म फरार भएको भनेर समाचार लेखे, यस्तो समाचार प्रकाशित गर्ने पत्रकार र ती सञ्चार माध्यमका सम्पादकलाई मेरो अफिसमा बोलाएर चिया खुवाएँ, म फरार नभएको जानकारी गराएँ । तर, समाचारको खण्डन गराइनँ ।’

सञ्चार माध्यममार्फत् त्यस्ता किसिमका समाचारहरु सम्प्रेषण भएपनि सिआईबीले उनीहरुमाथि अनुसन्धान गर्न आवश्यकता नै ठहर्याएन । अहिले पनि सिआईबीले विभिन्न व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेको छ ।

आज (बुधबार) नेपाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पत्रकार सम्मेलन गर्दै ५० जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सुझाव दिएको जानकारी गरायाे छ । ६०.७१६ सुन प्रकरणमा संलग्न भएको भन्दै ३२ जनालाई सार्वजनिक गर्यो । १८ जना अझै फरार रहेको र अनुसन्धान जारी रहेको सिआईबीले बताएको छ ।

उनीहरुबाट ३ अर्ब ५० करोडको बिगो दावी माग गर्यो । तर, यसमा हालसम्म व्यवसायी मलहोत्रा र अडुकियाको संलग्नता नरहेको सिआईबीका प्रमुख किरण बज्राचार्यले बताइन् । उनका अनुसार अहिलेसम्म अनुसन्धान गर्दा उनीहरुको संलग्नता देखिएको छैन ।

‘हामीले अनुसन्धान गर्ने हो, कसले के भन्यो र के लेख्यो भन्नेतर्फ हाम्रो ध्यान जाँदैन, अहिलेसम्मको अनुसन्धानमा उनीहरुको संलग्नता देखिएको छैन, अझै पनि अनुसन्धान जारी छ,’ उनले विकासन्युजसँग भनिन् ।

उनका अनुसार सुन प्रकरणमा पक्राउ परेकाहरुमध्ये २३ जना विदेशी र ९ जना नेपाली छन् । ती व्यक्तिहरुले सात वटा कम्पनी खडा गरेर सुन ल्याउने गरेका खुलेको छ । उनीहरू मध्ये कतिले अदालतबाट सफाइ पाउछन्, कतिले सजाए पाउँछन् त्यो अहिले भन्न सकिदैन । तर जसरी विभिन्न सञ्चार माध्यमले व्यवसायी मलहोत्रा र अडुकियामाथि सुन प्रकरणमा दोषीको रूपमा पोले, त्यसरी नै पुलिसले भने उनीहरूलाई पोलेको  छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.