बैंकको नाफा एक महिनामै १९ प्रतिशत घट्यो !

  २०८० भदौ १७ गते १४:५५     सीआर भण्डारी

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा २५ प्रतिशत नाफा गरेको भन्दै चातर्फी चर्चा भयो । अन्य व्यापार व्यवसाय समस्यामा परिरहेको बेला बैंकहरुले नाफा गरेको भन्ने सन्देश दिन बैंकरले गर्वका साथ वित्तीय विवरण सार्वजनिक पनि गरे । सर्वसाधारण, सञ्चार माध्यम वा जोसुकैले पनि वित्तीय विवरण हेरेर नै बैंकको वास्तविकता थाहा पाउने हो । गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा अधिकांश बैंकको नाफा बढेको थियो । वित्तीय विवरण अनुसार नै बैंकिङ इन्डष्ट्रीको नाफा २५ प्रतिशत बढेको थियो ।

आर्थिक गतिविधि सुस्त भएको बेला र उद्योगी व्यवसायीले व्यवसायबाट नै पलायन हुने अवस्था सिर्जना भइरहेको बेला बैंकहरुले भने २५ प्रतिशत नाफा वृद्धि गरेको भन्दै केहीबाट चर्को आलोचना भयो । त्यो आलोचना विभिन्न उद्योगी व्यवसायी, विज्ञ तथा राजनीतिक दलका नेताहरुसम्मले गरे ।

बैंकहरुको वित्तीय विवरण सार्वजनिक हुने बेलै पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले भनेका थिए, ‘आर्थिक वर्ष २०७८/७९ का २६ वटा वाणिज्य बैकहरुको नाफासँग आव २०७९/८० का २० वटा वाणिज्य बैकहरुको नाफा तुलना गरेर २५ प्रतिशतको नाफा वृद्धि भनेर भ्रम छरिँदैछ, स्वपूँजीमा प्रतिफलका बारेमा कुरा गरेको पाइँदैन ।’

उद्योगी व्यवसायी, विज्ञ तथा राजनीतिक दलको नेताबाटै बैंकको नाफाको विषयमा टिप्पणी हुन थालेपछि बैंकरहरु हच्किए । सुरुमा २५ प्रतिशत नाफा भनेर मख्ख परेका बैंकहरु पछि आलोचना हुन थालेपछि कुरा फेर्न थाले । पछि उनीहरु स्पष्टिकरण दिँदै भन्न थाले, ‘बैंकहरुको नाफा २५ प्रतिशतले बढेको होइन, वास्तविक नाफा बढेको करिब ६ प्रतिशत मात्रै हो ।’

तर, बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा भने नाफा २५ प्रतिशत नै बढेको देखिन्छ । सबैले थाहा पाउने भनेकै सोही वित्तीय विवरणबाट नै हो । को व्यक्तिले के भन्छ, कुन बैंकरले कस्तो भन्छ भन्ने विषय प्रकाशित वित्तीय विवरणका अगाडि गौण हो ।

भएको के हो ?

बैंकहरुले सार्वजनिक गरेको तथ्यांकलाई सरसर्ती हेर्ने हो भने तथ्यांक ठीकठाक छ । २० वटा वाणिज्य बैंकको नाफा २४.९२ प्रतिशतले नै बढेको देखिन्छ । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका थिए । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ५६ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको तथ्याङ्कले देखाउँछ । यो दुई आर्थिक वर्षको नाफा तुलना गर्दा नै २४.९२ प्रतिशत बढेको देखिएको हो ।

तर, नेपाल बैंकर्स संघले गत मंगलबार पत्रकार सम्मेलन गर्दै बैंकहरुले ५.९३ प्रतिशत मात्रै नाफा गरेको तथ्यांक सार्वजनिक गर्यो । बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्क र बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क तुलना गर्दा १९ प्रतिशत नाफा घटेको हो । बैंकर्स संघले भन्यो, ‘बैंकहरुले वित्तीय विवरणमा सार्वजनिक गरेको तथ्याङ्क गलत हो, वास्तविक तथ्याङ्क अर्कै हो, बैंकहरुले बढी नाफा गरे भनेर भ्रम मात्रै फैलाइयो ।’

बैंकर्स संघले त्यसमा पनि सञ्चार माध्यमलाई नै दोष दियो । बैंकहरुले सार्वजनिक गरेको तथ्यांकलाई नै आधार मानेर समाचार सम्प्रेषण गरेका सञ्चार माध्यमलाई नै बैंकर्स संघले भ्रम फैलाएको आरोप लगायो । सर्वसाधारण, सञ्चार माध्यम तथा अन्य जोकोहीले पनि कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई आधार नमानेर कसलाई मान्ने ?

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी प्राविधिक रुपमा समस्या भएको स्वीकार गर्छन् । उनका अनुसार बैंकहरुले गत वर्ष २५ प्रतिशत नाफा बढाए भनेर बजारमा चर्चा चलेको भएपनि त्यो हिसाब प्राविधिक रुपमा गलत भएको हो । पत्रकार सम्मेलनमै उनले भने, ‘गत वर्ष मर्जरमा गएका बैंकको तथ्याङ्क समावेश गर्दा ५.९३ प्रतिशत मात्रै नाफा बढेको हो, त्यसमा गाभिएका तथा मर्जरमा गएका बैंकको तथ्यांक उल्लेख छैन ।’

राष्ट्र बैंकको व्यवस्था अनुसार मर्जरमा गएका बैंकहरुको नाफा नयाँ बनेको बैंकले सार्वजनिक नगर्न पनि पाउँछन् । सोही व्यवस्थाको लाभ लिँदै बैंकहरुले यस्तो बठ्याईं गरेका थिए ।

गत वर्ष एक दर्जन बैंकहरु मर्जर तथा एक्विजिशनमा सामेल भए । मर्जर तथा एक्विजिशनमा गएका बैंकहरुले अघिल्लो वर्षको तथ्याङ्कमा एउटा बैंकको मात्रै तथ्याङ्क राखेर बैंकको वित्तीय विवरण बिग्रियो र बैंकहरुले नै सर्वसाधारण, लगानीकर्ता, सञ्चार माध्यम लगायलाई भ्रममा राखे । बढी नाफा भयो भनेर वाहीवाहीको अपेक्षामा रहेका बैंकहरु त्यसको सट्टा आलोचना भएपछि कुरा फेरे । र, मर्जरमा गएका तथा गाभिएका बैंकको तथ्यांक नराखेको विषय स्वीकार गर्न बाध्य भए । जुन भ्रमको सुरुवात बैंकरहरु बाट नै भएको थियो ।

मर्जरमा गएका बैंकहरुले नाफा बढेको देखाउनका लागि भएपनि अघिल्लो वर्षको नाफामा एउटा संस्थाको मात्रै तथ्याङ्क राख्दा यस्तो भएको हो ।

मर्जरमा सामेल भएका साविक बैंकहरुको तथ्याङ्क गणना गर्दा आधा दर्जन बढी बैंकको नाफा घटेको छ । जसमध्ये कुमारी बैंकको ५४.०१ प्रतिशत घटेर १ अर्ब ९५ करोड रुपैयाँ मात्रै नाफा गरेको थियो । अघिल्लो वर्ष साविक एनसीसी बैंकसहित ४ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । तर, बैंकले साविक एनसीसी बैंकको नाफा गणना नगरी अघिल्लो वर्ष २ अर्ब ५७ करोड रुपैयाँ मात्रै गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

त्यसैगरी हालै मर्जर सम्पन्न भएको लक्ष्मी सनराइज बैंकको खुद नाफा ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको तथ्याङ्क सार्वजनिक गर्याे । बैंकको वित्तीय विवरणमा अघिल्लो वर्ष १ अर्ब ५१ करोड रुपैयाँ मात्रै नाफा गरेको तथ्याङ्क छ । तर, बैंकर्स संघको तथ्याङ्कले भने लक्ष्मी सनराइजको नाफा ३४.९१ प्रतिशत घटेको छ । साथै, अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४७ करोड नाफा गरेको थियो । बैंकले अघिल्लो वर्षको तथ्याङ्कमा साविक सनराइज बैंकको नाफा गणना नगरी वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरण अनुसार खुद नाफा १३.१४ प्रतिशत बढेर ४ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ७९ करोड नाफा गरेको थियो । तर, बैंकर्स संघको तथ्याङ्कमा भने बैंकको नाफा २७.१४ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको संघको भनाइ छ । बैंकले साविक मेगा बैंकको नाफा गणना नगरेको देखिन्छ ।

यस्तै, प्रभु बैंकको नाफा वित्तीय विवरणमा ४८.५४ प्रतिशत बढेको छ भने बैंकर्स संघको तथ्याङ्कमा ३.२० प्रतिशत घटेर २ अर्ब ८२ करोड नाफा गरेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९१ करोड नाफा गरेको थियो । अघिल्लो वर्षको सूचकमा साविक सेञ्चुरी बैंकको नाफा गणना नगरी विवरण राखेको देखिन्छ ।

त्यस्तै, हिमालयन बैंकले सार्वजनिक गरेको विवरणमा ३७.९६ प्रतिशत बढेको थियो । तर, बैंकको साविक सिभिल बैंकको तथ्याङ्क गणना गर्दा भने ३.०४ प्रतिशत नाफा घटेर ३ अर्ब २६ करोड रुपैयाँ मात्रै नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, ग्लोबल आइएमई बैंकको ०.३९ प्रतिशत घटेर ७ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । जबकी बैंकले अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले साविक बैंक अफ काठमाण्डूको तथ्याङ्क गणना नगरी प्रकाशन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.