चिकित्सा क्षेत्रमा विज्ञान : पक्षघात भएको व्यक्ति प्रविधिको सहायताले बोल्न सक्ने

  २०८० भदौ १० गते १०:२६     विकासन्युज

तस्बिर स्राेतः एनबीसीन्युज

काठमाडौं । एक गम्भीर पक्षघात भएकी महिला दिमागको संकेतलाई आवाजमा रुपान्तरण गर्ने डिजिटल प्रविधि अवतारको सहायताले बोल्न सक्षम भएकी छन् । जुन कामको सफलता वैज्ञानिकहरुले मानव समाजमा पहिलोपटक गरेका हुन् ।

वैज्ञानिकहरुले विकास गरेको मस्तिस्क कम्प्युटरले स्ट्रोक र एमियोटोफिक लेटरल स्केलेरोसिस जस्ता कारणले बोल्ने क्षमता गुमाएका मानिसहरुको जीवन परिवर्तन गर्न सक्ने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । अहिलेसम्मको अवस्थामा प्रविधिले बिमारीको आँखाको चाल र अनुहारको संकेतलाई शब्दमा रुपान्तरण गरेर आवाज निकाल्ने काम गर्ने गर्थ्यो, जसले गर्दा प्राकृतिक रुपमा जस्तो कुराकानी गर्न भने सम्भव हुन सकेको थिएन ।

तर, पछिल्लो विकसित प्रविधि जसमा साना इलेक्ट्रोडहरु मस्तिस्कको सतहमा जोडेर मस्तिस्कमा उत्पन्न भएका तरंगहरुलाई नियन्त्रण गरेर बोली र अनुहारको चाललाई समेत नियन्त्रण गर्ने गरिन्छ । यो प्रविधिबाट मस्तिस्क संकेतहरुलाई अनुहारको चाल, मुस्कान र आश्चर्यलाई समेत रुपान्तरण गर्न सकिन्छ ।

अनुसन्धानको नेतृत्व गरिरहेका अमेरिकाको सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया विश्वविद्यालयका एडवर्ड चाङले दुई पक्षबीचमा प्राकृतिक संवाद गराउने आफूहरुको लक्ष्य भएको र अहिलेको विकासले बिमारीहरुको समस्या समाधानको लागि ठूलो सहयोग पुर्याउने बताएका छन् ।

एकजना ४८ वर्षकी महिला ‘आन’ १८ वर्षदेखि ब्रेनस्टेम स्ट्रोकबाट पीडित भएकी थिइन । उनले मुभमेन्ट ट्रयाकिङ प्रविधिको प्रयोग गरेर सामान्यतया एक मिनेटमा १४ अक्षर मात्रै टाइप गर्न सक्छिन् । तर, उनले पछिल्लो अवतार प्रविधिको सहायताले भविष्यमा काउन्सिलर बन्न सक्ने विश्वास बोकेकी छन् ।

वैज्ञानिकहरुले आनलाई बोल्न सहयोग पुर्याउनको लागि २५३ वटा इलेक्ट्रोड जोडिएको पातलो कागज जस्तो आयातकार प्रविधि उनको मस्तिस्कमा प्रत्यारोपण गरेका छन् । यदि उनलाई स्ट्रोक नभएको भए इलेक्ट्रोडको सहायताले उनको जिब्रो, बंगारा, स्वरयन्त्र र अनुहारको चाललाई समेत नियन्त्रण गर्न सम्भव हुने वैज्ञानिकहरुको दाबी छ ।

मस्तिस्कमा इलेक्ट्रोडको प्रत्यारोपणपछि आनले एआई प्रणालीको एल्गोरिदम देखि उनको मस्तिस्कको विशेष संकेतहरुलाई पत्ता लगाएर धेरै वाक्यहरुको आवाज निकाल्न र त्यसलाई दोहोर्याउन टिममा बसेर तालिम गरिरहेकी छन् ।

पहिला आनलाई जोडिएको कम्प्युटरले विशिष्ट ३९ वटा ध्वनी सिकेर च्याट जिपिटी स्टाइलमा भाषा मोडेलको प्रयोग गरेर वौद्धिक ढंगले वाक्यमा रुपान्तरित गर्ने काम गर्ने काम गर्थ्यो । जसले भाषाको संकेतको आधारमा पूर्ण शुद्धताका साथ भाषा रुपान्तरण गर्न सक्दैनथ्यो । सो प्रविधिले एक मिनेटमा ७८ शब्द मात्रै सिर्जना गर्नसक्थ्यो, जबकी मानिसहरुले प्राकृतिक रुपमा बोल्दा ११० देखि १५० शब्दहरु प्रयोग गर्छन् ।

वैज्ञानिकहरुका अनुसार अहिले विकास गरिएको आधुनिक प्रविधिले शुद्ध, सटिक, परिस्कृत र आवश्यक गतिमा काम गर्छ, जुन बिमारीको लागि अति व्यवहारिक छ । नेदरल्यान्डको युनिभर्सिटी अफ अटरेक्टका न्युरोसाइन्टिस्ट प्राध्यापक निक राम्सेले अहिले विकास भएको प्रविधि विगतको तुलनामा निकै ठूलो उपलब्धि भएको टिप्पणी गरेका छन् ।

अर्को महत्वपूर्ण कदम भनेको वायरलेस भर्सन हो, जसलाई मस्तिस्कको खोपडीमुनी प्रत्यारोपण गर्न सकिन्छ । जुन प्रविधिको सहायतामार्फत पक्षघात भएका बिमारीहरुले मोबाइल फोन र कम्प्युटरहरुको समेत प्रयोग गर्न सक्छन् । एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.