विश्व अर्थराजनीति : चीनको नेतृत्वमा ब्रिक्सको विस्तार, अमेरिकालाई चुनौती

  २०८० भदौ ९ गते १४:२६     विकासन्युज

काठमाडौं । विश्व अर्थराजनीतिमा लामो समयदेखि प्रभुत्व कायम राख्दै आएको अमेरिकालाई उदयीमान चीन चुनौती बन्न सक्ने चर्चा हुँदै आएको विषय हो । तर, चीनले अर्थराजनीतिक संगठनकै विकास गरेर अमेरिकी साम्राज्यलाई तोड्ने प्रयास शान्त हिसाबले परिणाममै देखाउन खोजिरहेको छ । चिनीयाँ विश्वव्यापी उद्देश्यको एकटा महत्वपूर्ण कडीको रुपमा ‘ब्रिक्स’को विस्तारलाई हेरिएको छ ।

विश्व अर्थतन्त्रमा चीन दोस्रो बनिसकेको छ । तर, सम्पूर्ण आयामहरुमा चीन पहिलो शक्तिशाली बन्न सजिलो छैन । त्यसका लागि उसले शक्ति राष्ट्र तथा उदयीमान शक्ति राष्ट्रहरुलाई सहयात्री बनाउने प्रयास गरिरहेको छ ।

सन् २००९ बाट औपचारिक रुपमा शुरुवात भएको ब्राजिल, रसिया, भारत र चीन सम्मिलित राष्ट्रहरुको सहयात्रा सन् २०१० मा पुग्दा दक्षिण अफ्रिका समेत जोडिएर ब्रिक्सको रुप लियो । पछिल्लो १३ वर्षको अन्तरालमा सो संस्थाले बलियो आफूलाई एउटा बलियो अन्तर्राष्ट्रिय संगठनको रुपमा प्रस्तुत गरेको छ ।

भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्सको सम्मेलनमा अर्जेन्टिना, मिश्र, ईरान, इथियोपिया र साउदी अरब पर्यवेक्षक सदस्यको रुपमा सहभागी भए, जुन राष्ट्रहरु आगामी वर्ष ब्रिक्सको सदस्य राष्ट्र हुने बताइएको छ । ब्रिक्समा भएको सदस्य राष्ट्रहरुको सहभागिता अमेरिका सहित शक्ति राष्ट्रहरुको जी सेभेन भन्दा ठूलो हुन पुगेको छ ।

ब्रिक्स सम्मेलनको क्रममा चिनियाँ राष्ट्रपति सि जिङ पिनले ब्रिक्सको विस्तारलाई एतिहासिक भएको र सो विस्तारले विश्वमा शान्ति तथा विकासलाई थप बलियो बनाउने बताएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्स देशको साथ साझेदारी गर्ने राष्ट्रहरुको पुरा ध्यान राख्ने बताएका थिए ।

सम्मेलनमा प्रत्यक्ष सहभागी नभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियोमार्फत सम्बोधन गर्दै नवउदारवादले विकासशील देशहरुको परम्परागत मूल्यको लागि खतरा पैदा गरिरहेको विचार व्यक्त गरेका थिए । साथै सो विचार विश्वमा बहुध्रुवीय व्यवस्थाको लागि समेत चुनौति भएको उनको भनाइ थियो । पुटिनको यो भनाइ अहिले अमेरिकाको नेतृत्वमा विश्वमा जर्बजस्त हाबी भइरहेको नवउदारवादी विचार र एकध्रुवीय अभ्यासप्रति नै परिलक्षित छ ।

अहिले ब्रिक्समा जोडिएका देशहरु भूगोल, जनसंख्या र प्राकृतिक स्रोतका हिसाबले धनी रहेका छन् । खासगरी अमेरिकी प्रभुत्वमा कायम रहिआएको एकध्रबीय विश्व अर्थराजनीतिलाई चुनौती दिने हिसाबले चीनको पहलमा ब्रिक्स अगाडि आएको र रसिया र भारत लगायतका मुलुकहरुले पनि सो संगठनलाई आफ्नो अन्तर्राष्ट्रिय शक्ति विस्तारका निम्ति प्रयोग गर्ने कोसिस गरिरहेका छन् ।

पछिल्लो समयमा रुस युक्रेनबीच युद्धको विषयलाई लिएर अमेरिकाले विश्वलाई रुस विरुद्ध उभ्याने प्रयत्न गर्न खोज्यो तर, बलियो रसियन एलाइन्सले गर्दा सो विषयमा अमेरिका सफल हुन सकेन । त्यस्तै, चीन विरुद्धको घेराबन्दीमा पनि अमेरिका असफल हुँदै आएको छ, जसको कारण पनि चीनको अर्थराजनीतिक रुपमा विश्वमा विस्तारित उपस्थिति नै हो ।

अमेरिका भने ब्रिक्स विस्तारको विषयलाई लिएर चिन्तित नभएको प्रतिक्रिया अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले दिएका छन् । उनले ब्रिक्समा सहभागी भएका राष्ट्रहरुको मुख्य मुद्दामा समानता नरहेकाले कसैको भू-राजनीतिक प्रतिद्वन्दमा उत्रिने सम्भावना नरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.