मूल्यवद्धि र कोरोनाले ७ करोड एशियालीलाई चरम गरिबीतर्फ धकेलेको एडीबीको दावी

  २०८० भदौ ८ गते ७:५४     विकासन्युज

काठमाडौं । खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब ७ करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास बैंक (एडीबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१७ को मुद्रास्फीतिमा समायोजित मूल्यका आधारमा मनिलास्थित यो ऋणदाताले दैनिक २.१५ डलरभन्दा कम खर्चमा जीविका चलाउनुलाई चरम गरिबीका रूपमा परिभाषित गरेको छ ।

एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एशिया र प्रशान्त क्षेत्र कोभिड–१९ को महामारीबाट निरन्तर सुधार भइरहेको छ, तर जीवनयापनको बढ्दो सङ्कटले गरिबी उन्मूलनतर्फको प्रगतिलाई कमजोर बनाइरहेको छ ।”

सन् २०२२ मा अनुमानित १५ करोड ५२ लाख मानिस अर्थात् यस क्षेत्रको जनसङ्ख्याको ३।९ प्रतिशत चरम गरिबीमा बाँचिरहेका थिए, जुन महामारी र उच्च खर्चबिनाको जीवनयापनभन्दा ६ करोड ७८ लाख बढी हो ।

विकासशील एसिया भन्नाले मध्य एसियाको कजाकिस्तानदेखि प्रशान्त महासागरको कुक टापुसम्म फैलिएको बहुपक्षीय ऋणदाताका ४६ उदीयमान सदस्य अर्थतन्त्रलाई बुझाउँछ ।

रिपोर्टमा भनिएको छ, “उच्च मुद्रास्फीतिका कारण गरिब जनता सबैभन्दा बढी मारमा परेका छन् । उनीहरूले आवश्यकताका लागि उच्च मूल्य तिर्न सक्दैनन् । यसले गर्दा धेरैले पैसा बचत गर्न, स्वास्थ्य सेवाको लागि भुक्तानी गर्न वा शिक्षामा लगानी गर्न सक्दैनन् ।”

एडीबीका अनुसार महामारीले सन् २०२० मा ७ करोड ५० लाखदेखि ८ करोडभन्दा बढी मानिसलाई चरम गरिबीमा धकेलेको छ ।

सन् २०२२ को ४।४ प्रतिशतरहेको मुद्रास्फीति यस वर्ष ३।६ प्रतिशतमा खुम्चिने बैंकले जनाएको छ ।

विकासशील एशियाली अर्थतन्त्रले गरिबीविरुद्ध निरन्तर प्रगति गरिरहनुपर्ने भए पनि सन् २०३० सम्ममा अनुमानित एक अर्ब २६ करोड मानिस अर्थात् यस क्षेत्रको अनुमानित जनसङ्ख्याको करिब ३० प्रतिशतलाई अझै पनि ‘आर्थिक रूपमा कमजोर’ मानिएको छ । यो शब्दले सन् २०१७ को मूल्यमा आधारित दैनिक ३.६५ देखि ६.८५ डलरमा बाँच्ने व्यक्तिलाई ‘आर्थिक रूपमा कमजोर’ जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.