चन्द्रमामा पुगेर भारतले रच्यो इतिहास, पानीमा आधारित बरफको खोजी गर्ने लक्ष्य

  २०८० भदौ ६ गते १८:४२     विकासन्युज

नयाँदिल्ली । भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचेको छ । आज भारतको चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको हो ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ ।

चन्द्रयान-३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । यदि चन्द्रयान-३ सफलतापूर्वक अवतरण भएसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ ।

रुसको लुना-२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महात्वाकांक्षी प्रयास सार्वजनिक भएको हो । चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान-३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ ।

अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् । सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान-२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान-२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान-३ मा छ ।

सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गरेका हुन् । रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.