७.४१ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी तराईमा

  २०८० भदौ १ गते १३:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि बढेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको १२ महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत कायम भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।

साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप-समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ ।

२०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ५.६९ प्रतिशत रहेको थियो ।

२०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । २०८० असार महिनामा गैर-खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३ प्रतिशत, ६.४१ प्रतिशत, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत रहेको थियो ।

२०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.७० प्रतिशत, तराईमा ७.४८ प्रतिशत, पहाडमा ६.९८ प्रतिशत र हिमालमा ८.१९ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ७.३८ प्रतिशत, ८.३२ प्रतिशत, ८.४१ प्रतिशत र ८.८४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.