केरा पकाउन रसायन र विषादीको प्रयोग, स्वास्थ्यका लागि हानिकारक

  २०८० साउन १९ गते ११:५३     विकासन्युज

फाइल फाेटाे

चितवन । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो ।

कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ ।

उनका अनुसार चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको हो । केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बाेनेट बढी प्रयोग गरेको पाइएको छ ।

प्राविधिक सहायक सिम्खडाका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टिनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ । चितवनमा प्रायः गरेर केरालाई क्वारेन्टिनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाले बताए । पैतीस प्रतिशतभन्दा कम रोकावट आएमात्र केरा खानयोग्य हुन्छ ।

अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने फल हो । तर कहिलेकाहीँ केरा स्वास्थ्यका लागि हानिकारक पनि सावित हुनसक्छ । यसमा बढी मात्रामा रसायन र विषादीको प्रयोग भएमा केरा स्वास्थ्यका लागि हानिकारक हुनसक्ने चिकित्सक बताउँछन् ।

भरतपुर अस्पतालका डा गोविन्द कँडेलले धेरै परिमाणमा इथालिन र क्याल्सियम कार्बाेनेटजस्ता औषधि प्रयोग गरेर पकाइएको केरा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए । यस्तो केरा खाएमा पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको धेरै दुख्नेजस्ता गम्भीर असर देखिन सक्ने उनको भनाई छ । गर्भवतीलाई यस्तो केरा खुवाएमा पेटमा रहेको बच्चालाई समेत असर गर्न सक्छ ।

कृषि विज्ञका अनुसार केरामा रसायन हालेर पकाइएको छ कि छैन भनेर चिन्न केही कुरामा ध्यान दिनुपर्छ ।

कर्बोहाइड्रेड तथा अन्य रसायन प्रयोग गरिएको छ भने गन्ध फरक हुन्छ । आकार हेरेर पनि केरामा रसायन मिसाएको छ कि छैन पत्ता लगाउन सकिन्छ । केरालाई विषादीरहितभन्दा पनि विषादीको प्रभाव कम गर्न केरा किनेर ल्याएको एक–दुई दिनपछि मात्र प्रयोग गर्नु उपयोगी हुने चिकित्सक बताउँछन् ।

खानुअघि एक घण्टा पानीमा डुबाएर राखियो भने पनि त्यसमा भएको रसायनको मात्रा कम भएर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.