सहकारीद्वारा बाँझो जमिनमा सामूहिक आलु खेती, कृषक पनि खुसी

  २०८० साउन ९ गते १४:२४     विकासन्युज

म्याग्दी । पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ ।

सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अहिले हराभरा भएको छ ।

सहकारीले खेर गएको जमिनसँगै भाडामा लिएर माटो परीक्षण गरेर माटो सुहाउँदो उत्पादनमा जोड दिएको सहकारीका अध्यक्ष सन्तनाथ सुवेदीले बताए । ’बजारसम्म उत्पादनलाई लैजान सुरु गरेका छौँ, बजारीकरण सहज भएमा उत्पादनको समस्या छैन’, अध्यक्ष सुवेदीले भने ।

उनका अनुसार सहकारीले मालिका गाउँपालिकाको सात वडाभित्र ७५ समूहमा आबद्ध शेयर सदस्यमार्फत उत्पादन, सङ्कलन र बजारीकरणमा केन्द्रित भएको छ । सहकारीमार्फत आलुलगायत तरकारीको बीउ, आवश्यक सीप, प्राविधिक सहयोग दिएपछि किसानहरुले समेत बाँझो जमिनको सदुपयोग गरेका छन् ।

कृषि उपजको बजारीकरण र ढुवानीका लागि स्थानीय सरकारले सहयोग गरेमा किसानको बाँझो जग्गामा कृषिजन्य उत्पादनले ढकमक्क बताउन सकिने आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले जनाएको छ । सहकारीमार्फत सामूहिकरुपमा तरकारी खेती सुरु भएसँगै कृषक पनि खुसी भएको मालिका–४, ओखरबोटकी सरीमा पुनले बताए । सहकारीमा कूल चार सय ८६ जना शेयर सदस्य र सेयर पुँजी ५६ लाख रुपैयाँ छ ।

हालसम्म एक करोड लगानी रहेको सहकारीले कृषि उत्पादनबाहेक च्याउ, भिर मह, सिस्नोको धुलो जस्ता अन्य कृषि उत्पादनहरुलाई समेत बिक्री गर्ने गरेको छ । विसं २०७६ मा स्थापना भई मालिका गाउँपालिका कार्यक्षेत्र बनाएर सञ्चालन भएको सहकारीले उत्पादित वस्तुसँग वस्तु साट्ने, बाँझो रहेको जमिनमा कृषि खेती गर्ने र उत्पादनमूलक क्षेत्रलाई जोड दिइएको स्थानीयवासीले बताएका छन् ।

अहिले संस्थाले गरेको तरकारी दरबाङ, रातोढुङ्गा, बाबियाचौरलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने निकट भविष्यमा सदरमुकाम बेनीबजारसहित विभिन्न क्षेत्रमा समेत बजार विस्तारको लक्ष्य छ । संस्थाले तरकारी खेतीका साथै आर्थिक कारोबारमा चार जनालाई रोजगारीसमेत प्रदान गर्दै आएको अध्यक्ष सुवेदीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.