‘पोखरामा देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह उद्घाटन, प्रभावकारी इन्धन आपूर्तिमा कोशेढुंगा’

  २०८० साउन १ गते १७:१६     उमेशप्रसाद थानी

 

नेपाल आयल निगमको संस्थागत विकास, वित्तीय स्थायित्त्वको लागि नेपाल सरकारको नीति तथा कार्यक्रम, पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न विभिन्न समयमा गठित संसदीय अध्ययन तथा सुझाव समितिले दिएको सुझाव तथा विगतका विभिन्न अध्ययन प्रतिवेदनको सिफारिस समेतका आधारमा निगम सञ्चालक समितिबाट स्वीकृत भएको “पेट्रोलियम पदार्थ स्वचालित मूल्य कार्यविधि,२०८० बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य कायम गर्ने गरी २०८० असार ३१ गते देखि स्वचालित मूल्य प्रणाली लागु गरिएको छ ।

स्वचालित मूल्य प्रणालीको कार्यान्वयनसँगै अब अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा कार्यविधि बमोजिम घटबढ हुनेछ ।

पेट्रोलियम पदार्थको सहज, सरल र सुव्यवस्थित ढंगले निरन्तर आपूर्ति एवं वितरणको व्यवस्था गर्न र आम उपभोक्ताहरुको हित सुनिश्चित गर्न पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीले अहम भूमिका निर्वाह गर्ने र यहाहरु सम्पूर्णको साथ एवं सहयोग सदैव रहने विश्वास निगमले लिएको छ ।

त्यसैगरी, निगमको आधुनिक पूर्वाधार निर्माणमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को भारत भ्रमणका क्रममा भारत सरकारको लगानीमा पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल बनाउने समझदारी भएको छ । नेपाल र भारत सरकार बीच भएको समझदारी अनुसार करिब ५ वर्षको अवधिमा परियोजना सम्पन्न गर्ने गरी भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल निर्माण हुने र मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको छ । साथै चितवनको लोथरमा १ लाख ३ हजार १५० किलोलिटर क्षमताको नयाँ ग्रिनफिल्ड टर्मिनल निर्माण गरिने छ । यी पूर्वाधारहरुको निर्माणले दीर्घकालीन रूपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुने विश्वास निगमले लिएको छ ।

त्यसैगरी, आज पोखरामा उद्घाटन भएको परियोजना नेपाल आयल निगमले वि।स २०५८ सालपछि निगमको आफ्नै लगानीमा अघि बढाई मुलुककै डिजल भण्डारणको हिसावले दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको औपचारिक सुरुवात गर्न लागेको छ । गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौंडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको विश्वास रहेको छ ।

पोखरा डिपोमा इन्धन भण्डारण ट्याङ्कीको शिलान्यास हुँदा, हामीले हाम्रो निरन्तर बढ्दै गइरहेको अर्थतन्त्रको माग पूरा गर्न र प्रवर्द्धन गर्न इन्धनको भरपर्दो र प्रभावकारी आपूर्ति सुनिश्चित गर्न खोज्ने परिदृश्य अनुभूति भएको देखिरहेका छौं । निर्माण भएका यी भण्डारण गृह तथा पूर्वाधारहरु निगमको भौतिक पूर्वाधारमा प्रगति, नवीनता र आधुनिकताको प्रतीकको रूपमा खडा भएका छन् ।

यी भण्डारण ट्याङ्कीहरूको निर्माण कार्यमा निगमका पदाधिकारी तथा कर्मचारीहरु र संस्थाहरूको विशेषज्ञता र सहयोगको एक स्मारकीय उपक्रमकोरुपमा खडा भएको छ । योजनाको तर्जुमा देखि सटीक कार्यान्वयनसम्म प्रत्येक चरणमा समर्पित टोलीको विशेषज्ञता र प्रतिबद्धताद्वारा निर्देशित यस परियोजनामा योगदान पुयाउने सबै सरोकारवाला निकायहरु ९त्रिभुवन विश्वविद्यालय इन्जिनियरिंग अध्ययन संस्थान, काठमाण्डौ विश्वविद्यालय परामर्श सेवा, निर्माण व्यवसायी समानान्तार-रेलिगियर-भारत ट्यांकस जे.भी र नेपाल आयल निगम परिवार लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । तपाईंहरुको कडा परिश्रम, दृढ संकल्प र अटल भावनाले हामीलाई यो गौरव र उपलब्धिको क्षणमा ल्याएको छ ।

पोखरा डिपोमा निर्माण सम्पन्न भएका नयाँ इन्धन भण्डारण ट्याङ्की तथा पूर्वाधारहरू डिपो सुरक्षा, संस्थागत दिगोपन र दक्षताप्रति हाम्रो अटल प्रतिबद्धताको प्रमाण रहेको व्यहोरा अवगत गराउन चाहान्छु । यी अत्याधुनिक सुविधाहरूले नवीनतम प्रविधिहरू आत्मसात गर्दै उच्चतम सुरक्षा मापदण्डहरूको पालना गरेको छ । यो पूर्वाधारले यस क्षेत्रको ऊर्जा सुरक्षालाई सुदृढ गर्ने मात्र नभई आर्थिक वृद्धि, औद्योगिक विकास र सुधारिएको उपभोक्ताको जीविकोपार्जनका लागि बलियो आधार पनि प्रदान गर्नेछ भन्ने विश्वास निगमले लिएको छ ।

सुन्दर पर्यटकीय शहर पोखरा र पर्यटकीय हबको रुपमा रहेको गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो छ । यस प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । हाल एक दिनमा यस प्रदेशमा तीन लाख ३ लाख २० हजार लिटर डिजेल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भईरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता रहेको छ ।

प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजेलको माग करिब ७ दिन र पेट्रोलको माग करिव २ दिन मात्रै धान्न सक्ने अवस्था विद्यमान रहेको थियो। निगमले आज समूदघाटन गरेको नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण करिव ३० दिन भन्दा वढी पुग्नेछ भने साविकको ७६० के।एल क्षमताको मट्टीतेल ट्यांकको पेट्रोल ट्यांकमा भएको रुपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिन भन्दा बढीको माग धान्न सक्ने भएको छ ।

वि.स २०५८ साल पश्चात क्षमता विस्तार तथा स्तरोन्नती हुन नसकेको यस डिपो अब अमलेखगन्ज, थानकोट पश्चात नेपालकै तेश्रो ठूलो पेट्रोलियम भण्डारण गृह बनेको छ ।

निर्माण सम्पन्न भएको यस परियोजनाले काठमाडौं लगायत अन्य क्षेत्रको ब्याकअपको रुपमा पनि काम गर्ने छ भने गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको पूर्वाधार संरचनामा पनि सुधार हुने निगमको विश्वास रहेको छ ।
हाल डिपो रहेको कुल ७७ रोपनी जमिनलाई नै प्रयोग गरेर निगमले नयाँ भण्डारण गृह निर्माण तथा स्तरोन्नति कार्य सम्पन्न गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा, पुल्चोकको प्राविधिक अध्ययन तथा काठमाण्डौ विश्वविद्यालयको प्राविधिक परामर्श सहायतामा तथा निर्माणकर्ता कम्पनी समानान्तर रेलिगियर-भारत ट्यांकस जे।भी बाट निर्माण सम्पन्न भएको भण्डारण गृहको कुल लागत मुअकर बाहेक करिब् ८९ करोड नेपाली रुपैयाँ रहेको छ । सम्झौता भएको करिब अढाई वर्ष भित्रै निर्माण सम्पन्न भएको परियोजना अन्तर्गत हालको डिपो हातामा ५० लाख लिटर क्षमताका दुई वटा डिजेल भण्डारण ट्यांक निर्माण सम्पन्न भएको छ ।

नव निर्मित भण्डारण गृहमा एक नयाँ पहुँच सडक, २४ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, चालक तथा सुरक्षाकर्मीका लागि नयाँ संरचना निर्माण गरिएको छ । इन्धन भण्डारण ट्यांक, अग्नि नियन्त्रण उपकरण तथा प्रणाली र यसमा जडान भएका संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित रहेका छन् ।

डिजेल लोड तथा अनलोड सुविधा पूर्ण रुपमा स्वचालित र उच्च प्रविधियुक्त तथा आधुनिक सुरक्षा प्रविधिमा आधारित रहेको छ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याकंरले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । ट्यांकर लोड तथा अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका छ वटा पम्प जडान गरिएको छ । ४ वटा नयाँ Loading / Unloading Bay निर्माण सम्पन्न भएको छ । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागी लगायतको दूर्घटना पहिचान गर्न विशेष प्रविधि (अलार्म सिस्टम) डिपोमा जडान भएको छ ।

आपतकालिन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकिकृत रिमोट कन्ट्रोल प्रविधि जडान गरिएको छ । कुनै पनि कारणबाट डिपोमा आगलागी भएको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा निर्माण सम्पन्न भएको छ । ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग गर्न सकिने गरी पूर्वाधार निर्माण गरिएको छ ।

(पोखरामा साेमबार आयाेजित देशकै दाेस्राे ठुलाे पेट्रोलियम भण्डार डिपो उद्घाटन कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले दिएको मन्तव्यको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.