मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनु पर्छ : गभर्नर अधिकारी

  २०८० असार १७ गते १९:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

सो अवसरमा गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । उनले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए ।

छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै उनले हाल तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको बताए ।

उनले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए । लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तिमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने उनले बताए । उनले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमुलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि औल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.