महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख नगदसहित बिदाइ

  २०८० असार १५ गते १४:०८     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ ।

बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले ६० वर्ष उमेर पूरा भएका चार, जनप्रतिनिधिमा निर्वाचित एक तथा एक जनालाई मरणोपरान्त सम्मान गरेका हुन् । स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको २०४७÷४८ देखि निरन्तर सेवारत उनीहरुलाई नगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गरिएको नगर स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले जानकारी दिए ।

नगरपालिकाले सम्मान गरेका पाँचमध्ये वडा नं ५ की स्वर्गीय पार्वती भण्डारीलाई मरणोपरान्त सम्मान तथा आश्रित परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । वडा नं १८ की लालमती आले, वडा नं १२ की सुशीला सापकोटा र वडा नं १७ की तारा सुवेदीलाई एक÷एक लाख तथा वडा नं ५ की श्रीमाया तिवारीलाई ८० हजार रुपैयाँको साथमा सम्मान पत्रसहित बिदाइ गरिएको पौडेलले बताए ।

तिवारीको सेवा अवधि १६ वर्ष मात्रै पुगेकाले उनलाई ८० हजार रुपैयाँ प्रदान गरिएको पौडेलले जानकारी दिए । वडा नंं १७ बाट जनप्रतिनिधिमा निर्वाचित पूर्व सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मानकुमारी सापकोटा सम्मान पत्रले सम्मानित भएकी छिन् । उनी जनप्रतिनिधिका रुपमा निर्वाचित भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन नीतिगत समस्या रहेकाले उहाँलाई सम्मानपत्रबाट मात्रै सम्मानित गरिएको नगरपालिकाले जनाएको छ ।

साठी वर्ष उमेर र १० वर्ष सेवा अवधि पूरा गरेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय सरकारबाहेक स्वास्थ्य कार्यालयमार्फत थप २० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताए । उमेर पुगेर सेवाबाट अवकाश पाएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको स्थानमा यसअघि नै सम्बन्धित वडा तथा टोलका आमा समूहको सहमति र सिफारिसमा नयाँ व्यक्ति छनोट गरिसकिएको जनाइएको छ । गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले स्वयंसेविकाको सेवासुविधालाई क्रमशः वृद्धि गर्दै लैजाने नगरपालिकाको योजना रहेको बताए ।

महिला स्वास्थ्य स्वयंसेविकाले घरघरमा पुगेर स्वास्थ्य सन्देश प्रवाह र सेवाको भूमिकामा उल्लेख्य योगदान पु¥याएका अधिकारीले बताए । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य स्वयंसेविकाको सेवाको मूल्याङ्कन गर्दै मासिक तीन हजार रुपैयाँ प्रोत्साहन र दुई सय रुपैयाँ सञ्चार खर्चबापत उपलब्ध गराउने नीति पारित गरेको छ । यसअघि उनीहरुले नगरपालिकाबाट मासिक एक हजार रुपैयाँमात्रै पाउने गरेका थिए । यसबाहेक उनीहरुले सङ्घमार्फत मासिक एक हजार रुपैयाँ तथा पोशाकबापत वार्षिक १० हजार रुपैयाँ पाउने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.