आकाशमा पदयात्रा शुक्रबारदेखि, २४औं तलामा रेस्टुरेन्ट, शुल्क एक हजार

  २०८० असार १३ गते १५:०८     विकासन्युज

काठमाडौं । कमलादीस्थित स्काईवाक टावर असार १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । निर्माण कम्पनी वन्डर्स नेपाल प्रालिले सो टावरको काम सम्पन्न भएको र शुक्रबार टावरको उद्घाटन गरी आम सर्वसाधारणका लागि प्रवेश खुल्ला गरिन लागेको वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले बताए ।

आन्तरिक तथा वाहिय पर्यटकलाई नयाँ अनुभव दिने उद्देश्यका साथ कम्पनीले उक्त टावर निर्माण गरेको हो । अध्यक्ष पोखरेल अनुसार स्काईवाक टावर २ अर्बको लगानीमा तयार भएको छ । साहसिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्रको रूपमा टावर स्थापित हुने पनि उनको भनाइ छ ।

सो टावर चढ्नको लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने पोखरेलले बताए । उनका अनुसार विदेशी पर्यटनलाई पनि एक हजार रुपैयाँ नै शुल्क लाग्ने छ ।

अशक्त अपाङ्ग भएकाहरूलाई टावर चढ्नको लागि ५० प्रतिशत छुट अर्थात् ५०० रुपैयाँ लाग्ने पनि पोखरेलले बताए । यसै गरी ७० देखि ८० वर्षकालाई पनि ५०० रुपैयाँ लाग्ने छ भने ८० वर्ष माथिकालाई र ३ फिटसम्मको बच्चालाई निःशुल्क टावरमा प्रवेश छ । कम्पनीले टावर चढ्न अनलाइनबाटै प्रि-बुकिङ तथा बुकिङ गर्न सक्ने व्यवस्था पनि मिलाएको छ ।

टावरमै रेस्टुरेन्टदेखि पार्किङसम्मको सुविधा 

स्काईवाक अर्थात् ‘आकाशमा पदयात्रा’ बाट काठमाडौंको दृश्यलाई निहाल्न सकिन्छ । भुईँबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने ठाउँ हो । उक्त टावरमा हिँड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ ।

करिव ७८ मिटर अग्लो यो टावर काठमाडौं उपत्यकाकै अग्लो संरचना हुनुका साथै यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ । काठमाडौंको उचाइमा उभिएर मानिसहरूलाई आकाशमा हिँडेजस्तो अनुभूत गराउन यो टावर सञ्चालनमा ल्याएको पोखरेलले बताए ।

कम्पनीले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काईवाक टावर बनाएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो ।

टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैँचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी बगिरहेको देखिन्छ । टावर सत प्रतिशत सुरक्षित रहेको पनि कम्पनीले बताएको छ ।

‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने ।

यस्तै, टावरको माथि सीमा हिँड्ने स्पेश २ हजार स्कवायर फिट छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ ।

उक्त टावरमा लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । टावर २५ तलाको छ । २२ तलासम्म जान दुई वटा लिफ्टको व्यवस्था छ । एउटा लिफ्टमा करिव २४ जना अट्छन् भने दुइटै लिफ्टमा गरी एकपटकमा ४८ जना चढेर तलमाथि गर्न सकिन्छ ।

टावरमै बसेर चिया कफीको लिँदै काठमाडौंको रमणीय दृश्य निहाल्न सकिन्छ । किनभने टावरको २३ औं र २४ औं तलामा रेस्टुरेन्ट छ ।

यसै गरी भुईँ तलाको साइटमा गार्डेन, सपिङ सेन्टर, रेस्टुरेन्ट छ । त्यस क्षेत्रमा ५० वटा गाडी र २ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ रहेको पनि पोखरेलले सुनाए । उनका अनुसार सोही ठाउँमा पार्किङले नपुगे ग्राहकको लागि अन्य ठाउँमा व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.