प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाईफले पायो अनुमति, बीमा क्षेत्रमै पहिलो

  २०८० जेठ २३ गते १८:३२     विकासन्युज

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले जेठ २३ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई कूल २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल एक करोड २० लाख कित्ता सेयर प्रतिकित्ता २३६.०१ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १३६.९१ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २३६.९१ रुपैयाँमा सेयर जारी गर्न लागेको हो ।

कूल कित्तामध्ये इन्स्योरेन्सले कर्मचारीलाई ६ लाख कित्ता सेयर छुट्याएको छ । कर्मचारीलाई भने कम्पनीले अंकित मूल्य अर्थात प्रतिकित्ता एक सय रुपैयाँमै एक करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने छ ।

आइएमई लाईफ इन्स्योरेन्स नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ ।

यसैगरी जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपालको प्रतिष्ठित र अग्रणी व्यवसायिक समूह आइएमई ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीहरु मध्ये आइएमई लाईफ इन्स्योरेन्स कम्पनी पनि एक हो । दक्ष तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालित यस इन्स्योरेन्सले बीमित तथा शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । आर्थिक विकासमा बीमा क्षेत्रबाट अर्थपूर्ण सहभागीता जनाउनु यस कम्पनीको उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.