२०८० जेठ २३ गते १५:१६ विकासन्युज
काठमाडौं । राष्ट्र बैंकको एकीकृत निर्देशनले लक्ष्मी बैंक र सनराइज बैंकलाई असारभित्र एकीकृत कारोबार गर्नु पर्ने दबाव परेको छ । राष्ट्र बैंकले वि.सं.२०८० असारसम्म एकीकृत कारोबार गरेमा विभिन्न ६ वटा सुविधा तथा छुटको व्यवस्था गरेसँगै लक्ष्मी सनराइज बैंकलाई असार मसान्तभित्रै एकीकृत कारोबार गर्नु पर्ने दबाव परेको हो ।
‘वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा तथा छुट प्रदान गरिने छ,’ राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकको सो सुविधा तथा छुट प्राप्त गर्न मर्जर प्रक्रियामा रहेका लक्ष्मी बैंक र सनराइज बैंकलाई असारभित्रै एकीकृत कारोबार गर्नु पर्ने छ । यसअघि मर्जरपछि लक्ष्मी सनराइज बैंकले सुविधा तथा छुट पाउने की नपाउने भनेर दुविधा रहेकोमा अब भने सुविधा प्राप्त गर्ने स्पष्ट भएको सञ्चालक दिनेश पौड्यालले बताए । सुविधा तथा छुट प्राप्त गर्नकै लागि भएपनि असारभित्रै एकीकृत कारोबार गर्नु पर्ने उनको भनाइ छ ।
राष्ट्र बैंकको एकीकृत निर्देशनले हामी पनि स्पष्ट भएका छौं, हामीले राष्ट्र बैंककोसुविधा तथा छुट पाउने की नपाउने भन्ने थियो, अब स्पष्ट भइयो, मर्जरपछि बैंकलाई सहज हुने भयो,’ उनले भने ।
राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट, एकीकृत कारोबार सञ्चालन गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा तोकिएको सीमा कायम गर्न ६ महिनाको समय प्रदान गरिने राष्ट्र बैंकले बताएको छ ।
‘मर्जरमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने छ, तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने छ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ ।
साथै, एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने राष्ट्र बैंकको भनाइ छ ।
दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न असार ३ गते साधारण सभा बोलाएका छन् । सनराइज बैंकको १५ औं वार्षिक साधारणसभा र लक्ष्मी बैंकले विशेष साधारणसभाले मर्ज गर्ने विशेष प्रस्ताव पारित गर्ने छन् । सञ्चालक पौड्याल असारमसान्तभित्रै एकीकृत कारोबार गर्ने तयारी रहेको बताउँछन् ।
‘असार ३ गते दुवै बैंकले साधारण सभा बोलाएका छन्, साधारणसभाले पारित गरेपछि तुरुन्तै (असार ४ गते) राष्ट्र बैंक पठाउँछौं, राष्ट्र बैंकले पनि चाँडै स्वीकृति दिने अपेक्षा छ, एकीकृत कारोबारका लागि स्वीकृति पाएपछि असारभित्रै एकीकृत कारोबार गर्छाैं,’ उनले भने, ‘सञ्चालक समितिको टुंगो लागिसकेको छ, अध्यक्ष लक्ष्मी बैंकले नै पाउँछ, बाँकी रहेका आन्तरिक कामहरु तिव्र गतिमा भइरहेका छन्, कर्मचारी समायोजनको काम भइरहेको छ, दुवै बैंकको सिस्टम एउटै सफ्टवेयरमा प्रयोग भएकाले सहज हुन्छ ।’
कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको छ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको उनले बताए । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस स्किम ल्याउने उनको भनाइ छ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने प्रारम्भिक सहमति भएको छ ।
मर्जरपश्चात् लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्चराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् ।
साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.