२०८० जेठ २३ गते १२:५० विकासन्युज
काठमाडौं । राष्ट्र बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई विभिन्न छुटको व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै वि.सं. २०८० असारसम्म एकीकृत कारोबार गरेमा विभिन्न ६ वटा सुविधा तथा छुटको व्यवस्था गरेको हो ।
‘वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा तथा छुट प्रदान गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने छ । साथै, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।
साथै, एकीकृत कारोबार सञ्चालन गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा तोकिएको सीमा कायम गर्न ६ महिनाको समय प्रदान गरिने राष्ट्र बैंकले बताएको छ ।
‘मर्जरमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने छ, तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने छ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ ।
एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने राष्ट्र बैंकको भनाइ छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.