बडवाइजर बियर उत्पादकको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

  २०८० जेठ १९ गते १९:४१     विकासन्युज

नवलपरासी । नेपालको लागि बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासीस्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेको छ ।

प्राइभेट इन्फास्टकचर डेभलपमेन्ट ग्रुप कम्पनी इन्फ्राको एशिया र सरल उर्जा नेपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो ।

उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ उर्जा उत्पादन गर्नेछ ।

यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना भएको बताइएको छ । त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना रहेको दुवै कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘राज ब्रुअरीले सोलारबाट उत्पादन भएको उर्जाले आफ्नो कारखाना संचालन गरी अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ, राज ब्रुअरीको सोलार रूफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कम गर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कम गर्न मद्दत गर्नेछ,’ विज्ञप्तीमा भनिएको छ ।

समारोहमा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राज बहादुर शाहले ब्रुअरीको उर्जा आवश्यकताहरू पूरा गर्न सोलार रूफटप स्थापना गरी कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसार तर्फको प्रयास भएको बताए ।

त्यसैगरी, सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताएका छन् । सिम्पल इनर्जीले आगामी दिनहरुमा महिलाहरुलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्याउने पनि उनले जानकारी दिए ।

यस्तै, जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले ब्रुअरीका लागि सोलार उर्जा स्थापना गर्न पाउँदा खुसी भएको र यसरी नै ग्रुप अन्तर्गतका अरु कम्पनीहरुमा पनि सोलार उर्जा प्रयोग गर्ने योजना रहेको बताए ।

नेपालको स्थापित विद्युत उत्पादन क्षमता लगभग २७ सय मेगावाट रहेको छ, जसमा ९६ प्रतिशत जलविद्युत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.