शिक्षकको लाइसेन्स परीक्षा सबैले दिन पाइने, दिवा खाजामा जंक फुड अमान्य

  २०८० जेठ १५ गते १८:३९     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका अधिकांश पूराना कार्यक्रमलाई निरन्तरता दिएको छ । आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन् ।

तर, बजेटमा सरकारले शिक्षा क्षेत्र सम्बन्धित केही नयाँ कार्यक्रम पनि अगाडि सारेको छ । अहिलेसम्म शिक्षा विषय अध्ययन गरेका वा एकवर्षे बिएड गरेका विद्यार्थीले मात्रै दिन पाउने शिक्षकको लाइसेन्स परीक्षामा अब सबै विषय अध्ययन गरेका विद्यार्थी सहभागी हुन पाउने आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री महतले त्यसका लागि आवश्यक कानूनको व्यवस्था गर्ने बताएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटमा शिक्षा क्षेत्र सम्बन्धित अन्य निम्न मुख्य विषयहरुलाई समेटिएको छ :
– दलित तथा विपन्न विद्यार्थीले पाउँदै आएको छात्रवृत्तिमा निरन्तरता
– मुसहर र डुम विद्यार्थीलाई चिकित्सा शिक्षाको लागि प्रदान गर्दै आएको छात्रवृत्तिमा निरन्तरता
– दिवा खाजा कार्यक्रमलाई निरन्तरता, दिवा खाजामा जंक फुड दिन नपाइने
– विद्यालय तहका छात्राहरुलाई स्यानीटरी प्याड निःशुल्क दिने कार्यक्रम निरन्तरता
– विद्यालय तहका सबै विद्यार्थीलाई निःशुल्क पुस्तक कार्यक्रमको निरन्तरता
– लुम्बिनी प्रदेशको बुटवल, मधेस प्रदेशको बर्दिवास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज बनाउन रकम विनियोजन
– स्वदेश वा विदेशमा सिप सिकेको स्व घोषणा गरेको आधारमा सिप परीक्षण गर्ने व्यवस्था मिलाइने
– शैक्षिक नतिजा, शिक्षण सिकाई क्रियाकलाप र स्रोत साधनको परिचालनको आधारमा विश्वविद्यालयलाई अनुदान उपलब्ध गराइने
– मदन भण्डारी विश्वविद्यालय र योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालनमा ल्याउन आवश्यक काम गर्ने र नेपाल विश्वविद्यालय ऐन प्रकृयाको कामलाई सम्पन्न गर्ने
– डडेल्धुरामा मेडिकल कलेज बनाउन आवश्यक बजेट विनियोजन

सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.