भ्रष्टाचारीमाथि अनुसन्धान गर्ने निकायका प्रमुख नै भ्रष्टाचारको बाटोमा

  २०८० जेठ ११ गते १७:२०     विकासन्युज

काठमाडौं । अहिले नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ । यो प्रकरमा ‘हाई प्रोफाइल’हरु मुछिएका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख आयुक्त पनि यो प्रकरमा संलग्न भएको बयान अभियुक्तहरुले दिएका छन् ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम लिएको विषय पनि अहिले ब्यापक बहसमा आएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा संग्लन भएकोे भन्दै प्रहरीले पक्राउ गरेका अभियुक्तले उनी गृहसचिव हुँदा एक करोड रुपैयाँ गाडीमा राखेको बताएपछि राईमाथि प्रश्न उठेको हो । सो प्रकरणको गिरोहका नाइके सानु भण्डारी र केशवप्रसाद दुलालले सरकारी वकिलको रोहबरमा प्रहरीसँगको बयानका क्रममा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. इद्रजित राई मार्फत् सिंहदरबारमै सचिव राईको गाडीमा एक करोड रुपैयाँ राखिएको बताएका थिए ।

उनीहरुले सचिवको गाडीमा नगद राखेर उनलाई भेट्न कार्यकक्षमा समेत गएको बताएका थिए । नगद राखेर उनलाई भेट्न जाँदा काम हुन्छ तपाईहरु ढुक्क हुनुस् भनेपछि हामीहरु फर्किएको उनीहरुले प्रहरीलाई बयानका क्रममा भनेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तहरु भ्रष्टाचारको मुद्दामा मुछिने विषय भने नयाँ होइन । विभिन्न समयमा आयोगका प्रमुख नै भ्रष्टाचारमा मुछिने गरेका समाचारहरु बाहिरिने गरेपनि उनीहरुमाथि अनुसन्धान भने फितलो हुने गरेको छ ।

संवैधानिक परिषद्बाट सिफारिस भई २०७० साल वैशाख २५ गते लोकमान सिंह कार्कीलाई अख्यितारको प्रमुख आयुक्तका रूपमा नियुक्ति लिए । उनले नियुक्ती लिएसँगै आयुक्तका लागि उच्च नैतिक चरित्र र ख्याति प्राप्त नभएको भन्दै उनकोे नियुक्तीविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता भयो ।

अधिवक्ता ओमप्रकाश अर्यालले उनको नियुक्ती विरुद्ध मुदा दर्ता गरेका थिए । २०७० को वैशाखमा मुद्धा दर्ता भएकोमा सर्वाेच्चले २०७३ को पुसमा उनको नियुक्त बदर हुने ठहर ग¥यो ।सर्वोच्चको आदेशसँगै लोकमानसिंह कार्कीको नियुक्ति बदर भयो र उनी पदमुक्त भए । तर, नियुक्ति भएको करिब एक वर्षपछि मात्रै उनी अयोग्य ठहरिए । यद्यपि नियुक्ति भएको ४ वर्ष उनले अख्तियारमा एकछत्र राज चलाए र धेरैलाई त्राहीमाम बनाए ।

उनीमाथि भ्रष्टाचार मुद्दा चलेको र सफाइ पाएको, जनआन्दोलनका क्रममा शक्ति र पदको दुरूपयोग गरेको, मानव अधिकारको उल्लङ्घन गरेको लगायतका विभिन्न आरोप उनीमाथि लगाइएको थियो ।

यस्तै, तत्कालीन प्रमुख आयुक्त राजनारायण पाठक पनि भ्रष्टचारको मुद्दामा दोषी ठहर भएका छन् । भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको सम्बोधन विवाद मिलाउने भन्दै अख्तियारका आयुक्त पाठकले लम्बोधर न्यौपानेमार्फत् ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारोक्तिको भिडियो बाहिरिएको थियो । घुस लेनदेन गरेको स्वीकारोक्तिको भिडियो बाहिरिएपछि अख्तियार आफैले पूर्व आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोधर न्यौपानेविरुद्ध २०७५ चैत १२ गते विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

करिब ४ वर्ष चलेको मुद्दामा २०७८ को पुस २८ गते विशेष अदालतले अख्तियारकै पूर्व आयुक्त पाठक र कलेजका अध्यक्ष न्यौपानेलाई भ्रष्टाचारको उद्योग गरेको भन्दै जनही तीन वर्ष ३ महिनाको कैद सजाय र भ्रष्टाचार उद्योगमा घुस बार्गेनिङको आधा रकम अर्थात् जनही ३९ लाख रुपैयाँ जरिवाना गराउने फैसला गरेको छ ।

यस्तै, आयोगमा प्रमुख आयुक्त बनिसकेका दीप बस्न्यातविरुद्ध पनि अख्तियारले नै भ्रष्टाचारको मुद्दा दायर ग¥यो । लामो समयको अनुसन्धानपछि अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित १ सय ७५ जनालाई आरोपी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बस्न्यात भूमिसुधार मन्त्रालयको सचिव हुँदा सरकारी जग्गा व्यक्तिका नाममा सार्ने गरी भौतिक पूर्वाधार मन्त्रालयबाटै टिप्पणी उठेको थियो । विशेष अदालतको आदेशपछि उनी हाल डिल्लीबजार कारागारमा छन् ।

राजनीतिक दलहरुले भागबण्डा गरे आयोगको प्रमुख आयुक्त नियुक्त गर्दा अख्तियारको विश्वसनियता माथि नै प्रश्न उठ्न थालेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् ।

उनले अख्यितारका आयुक्त नियुक्तीमा राजनीतिक भागबण्डा हुँदा अख्तियारको छवि नै खलबलिएको टिप्पणी गरे । राजनीतिक भागबण्डाकै कारण लोकमानसिंह कार्कीदेखि प्रेमकुमार राईमाथि चलिरहेको मुद्दा हेर्दा पनि त्यो विषयको छनक पाउन सकिन्छ ।

भ्रष्टाचार र अनुचित कार्यको छानबिन गर्ने र दोषी भेटिए कारबाहीका लागि मुद्दासमेत दायर गर्ने अख्तियारकै प्रमुखहरु भ्रष्ट हुँदा आम जनताले अख्तियारलाई हेर्ने नजर समेत गुमेको उनको भनाइ छ । ‘पछिल्ला घटनाले हाम्रो देशको फेलर देखाउँछ, हामी नैतिक रुपमा कति पतन भएका छौँ भन्ने ज्वलन्त उदाहरण अख्तियारका आयुक्तहरु हुन्’, उनले भने ।

उनले अख्तियारको वि बचाउनैका लागि प्रेमकुमार राईमाथि लगाईएको आरोपको छिटो छानवि हुनुपर्नेमा जोड दिए । यस्तै, उनले राईमाथि आरोप लागेपछि सवैधानिक नियुक्तीबाट राजीनामा दिएर छानविनमा सहयोग गर्नु पर्नेमा जाड दिए ।

‘चिनीले आफ्नो गुलियोपना सखाएपछि गुलियो खोज्न कहाँ जाने भने जस्तो हो, भ्रष्टाचारको छानविन गर्ने निकायकै प्रमुख भ्रष्ट हुँदा अख्तियारको विश्वसनियता माथि नै प्रश्न उठ्यो’, उनले टिप्पणी गर्दै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.