एउटै जिल्लाबाट साढे ६ हजार विदेश पलायन

  २०८० जेठ १० गते ७:२१     विकासन्युज

(फोटो सामाजिक सञ्जालबाट साभार)

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट ६ हजार ३४९ युवा जनशक्ति बाहिरिएका छन् । नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् ।

मन्थली नगरपालिकालगायत विभिन्न गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार चालू आव २०७९÷८० को साउनदेखि वैशाखसम्म रामेछापबाट ६ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन् ।

१० महिनाको तथ्याङ्कलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे ६ हजार मानिस विदेश गएको देखिन्छ । रोजगारीका लागि मलेसिया, युएई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमानलगायत देशमा गएको तथ्याङ्कमा उल्लेख छ । सामी कार्यक्रम अधिकृत दीपक केसीका अनुसार चालु आव २०७९÷८० को साउनदेखि वैशाखसम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट ८ हजार ८५९ जनाले राहदानी लिएका छन् ।

यो अवधिमा रामेछापका २ नगरपालिका र ६ गाउँपालिकाबाट १ हजार २५० महिला र ५ हजार ९९ पुरुष वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन कार्यक्रम रामेछापका अधिकृत दीपक केसीले बताए । मन्थली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सो कुराको सर्वाजनिक गरिएको थियो ।

मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्थली नगरप्रमुख लव श्रेष्ठले यो कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सीप प्रदान गर्ने, विदेश गएकाको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, विदेश गएपछि विभिन्न समस्यामा परेका र उनका परिवारलाई आवश्यक परामर्श तथा सहयोग जस्ता कार्यक्रम सञ्चालन भइरहेको बताए ।

रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.