बालेनले उठाएको पहिचानसहितको नामको विषयमा निजी विद्यालयले चासो देखाएनन्

  २०८० जेठ ४ गते १४:३३     विकासन्युज

काठमाडौं । नयाँ शैक्षिक सत्रको शुरुवातसँगै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले गत बैशाख १७ गते महानगरभित्र सञ्चालनमा रहेका विद्यालयहरुको नाम र चिन्हमा एकरुपता ल्याउनको लागि शिक्षा नियमावलीको केही अंश लेखेर नियमको पालना गर्न अनुरोध गरेका थिए । सो सँगै उनले नियमको कार्यान्वयन नभएमा महानगर कानुनी कारबाही गर्न बाध्य हुने बताएका थिए ।

तर, महानगर प्रमुख शाहले नियमावली कार्यान्वयन गर्नको लागि विद्यालयहरुलाई जानकारी गराएको १८ दिन बित्दा पनिअहिलेसम्म कुनै पनि विद्यालयले सो विषयमा चासो देखाएका छैनन् । काठमाडौं महानगरभित्र यतिबेला ५०४ वटा संस्थागत र ९४ वटा सामूदायिक विद्यालय सञ्चालनमा रहेका छन् । महानगर शिक्षा विभागका अनुसार ती मध्ये अन्तर्राष्ट्रिय समुदायका विद्यार्थी नपढाएका तर अन्तर्राष्ट्रिय र नेपाली संस्कृतिसँग नमिल्दो नाम जोडेका झण्डै एक तिहाईको संख्यामा विद्यालय छन् ।

महानगर शिक्षा विभागका प्रमुख सिताराम कोइरालाका अनुसार प्रमुखले जानकारी गराएपनि अहिलेसम्म कुनैपनि विद्यालयको सो विषयमा चासो नदेखाएको बताए । उनका अनुसार विद्यार्थी भर्ना गर्ने समय सकिएपनि कुनै विद्यालयले नमिल्दो नाम परिवर्तन गर्ने र चिन्ह परिवर्तन गर्ने विषयमा अहिलेसम्म सम्पर्क वा चासो व्यक्त गरेका छैनन् । साथै कुनै पनि विद्यालयले सो विषयलाई कार्यान्वयन गर्न नसकिने भनेर पनि जानकारी गराएका छैनन् ।

‘विद्यार्थी भर्ना हुने बैशाख मसान्तभित्र हो, बैशाख सकियो, भर्नाको म्याद सकियो भन्ने बुझ्छौं हामी, अनि जेठको पहिलो हप्ताभित्र कतिले पठाउनु हुन्छ, ७ गतेसम्म वेट गरौं’, उनले भने, ‘कसले पठाउनुभयो कसले पठाउनु भएन भनेर हामीले हेर्छौं ।’ उनले विद्यालयको प्रतिक चिन्ह षटकोणको विषय अनुगमनको क्रममा हेर्ने तयारी भएको बताए ।

महानगर प्रमुख बालेनले शिक्षा नियमावली अनुसार निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुले अनिवार्य रुपमा १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने र सो विवरण विद्यालयको वेबसाइट र सूचना पाटीमार्फत् सार्वजनिक गर्नुपर्ने भन्दै सार्वजनिक जानकारी गराएका थिए । तर, भर्ना अभियान सकिएपछि अहिलेसम्म कुनै पनि विद्यालयले सो विषयमा वेबसाइटबाट सार्वजनिक गरेका छैनन् । तर, सो विषयमा भने केही विद्यालयहरुले काम गर्दै गरेको भनेर जानकारी आएको प्रमुख कोइरालाले बताए ।

‘हामीले छात्रवृत्ति दिएका छौं, अपलोड गर्दैछौं, तयारी गर्दैछौं भनेर हामीलाई जानकारी आएको छ, छात्रवृत्ति छनोटमा वडा अध्यक्षको अध्यक्षतामा समिति हुन्छ, त्यसैले अध्यक्षले समय दिनुपर्ने हुँदा र समितिले समय नदिएको हुँदा रोकिएको भनेर जानकारी पनि आएको छ,’ उनले भने । तर, वेबसाइट अपलोड गर्यौं भनेर जानकारी भने नआएको उनले बताए ।

महासचिव भन्छन् – नाममा नेपालीपन हुनु राम्रो हो

निजी तथा आवसाीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का महासचिब आरबी कटवालले मौलिकता झल्कने गरी नाम राख्ने विषय राम्रो भएको तर सो विषयले शिक्षाको गुणस्तरमा फरक नपार्ने बताए । ‘नेपालीपन झल्कने नाम राख्नु राम्रो हो, तर नामले पढाइको गुणस्तरमा खासै तत्विक भिन्नता दिन्छ जस्तो मलाई चाहिँ लाग्दैन’, उनले भने ।

महानगरको कदम सकारात्मक भएको र नाम परिवर्तन फेरि गर्ने विषयमा प्राविधिक कारणले कठिनाइ बनाएको उनले बताए । साथै उनले सो नाम स्थापित गर्नमा करोडौं खर्च भइसकेको पनि बताए ।

‘यो नाम भनेको हिजो नेपाल सरकारको सम्बन्धित निकाय थियो त्यसले दिएर उहाँहरुले सञ्चालन गर्नुभएको हो, सो नाम अहिले सोसाइटीमा वा बजारमा जुन किसिमले पुर्याउनुभएको छ, त्यसमा करोडौं खर्च भएको छ’, उनले भने । साथै विद्यार्थीहरुको सर्टिफिकेटसँग पनि सो विषय जोडिएकोले नाम राख्नेहरुलाई नाम परिवर्तन गर्न कठिनाइ हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.