के मेरो सपना पूरा होला त ?

  २०८० जेठ १ गते १३:२६     सुरक्षण खनाल

एक दिन अवश्य जाने छु…
आँसु खस्ने मुहारमा हाँसो साट्न,
बा र आमालाई सुखमा राख्न ।

दुःख, कष्ट र बेदाना निचोड्दा निस्किएको रस पिएर,
बालाई चप्पल, आमालाई सारी फेरिदिने धोको लिएर ।

जाने छु, संघर्षका सहर,
भारी अनि मिठो सपनाको झोला लिएर ।

अब त ! ठाउँ पनि बिरानो भयो ।
आफ्नै इष्टमित्र, गाउँ पनि बिरानो भयो ।

आँखा भरी आँसु बग्दा पुछ्ने को छ र यहाँ,
आफू बाहेक अरुकोनी मन दुख्छ भनी सोच्ने को छ र यहाँ ।

सफलताको शिखर चढ्न खोजिरा छु यहाँ,
पाइला रोकिँदा अघि बढाइ दिने को छ र यहाँ ।

एक्लो पारी जाने त धेरै हुन्छन्,
हात समाई सँगै हिँड्ने को छ र यहाँ ।

देख्न त सबैले देख्छन्, खुसी छ भनेर
अनुहार हेरी मनको पीडा बुझ्ने को छ र यहाँ ?

उमेर सँगै काँध पनि भारी भयो
चर्को घाममा तालु डढ्छ
पैतालामा किला गड्छ
मेरो सपना पनि अधुरो रह्यो ।

साथीहरू भन्छन्,
भन् न ! सपना पुरा गर्ने हैन ?
म भन्छु,
बिपनाको ओइरो लागेको छ, सपना देख्ने साहस नै छैन ।

के मेरो सपना पुरा होला त ?
कहिले होला मेरो सपना पूरा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.