कर्मचारीको तलब भुक्तानी गर्न १० अर्ब ३० करोड रुपैयाँ निकासा

  २०८० वैशाख २६ गते १३:०२     विकासन्युज

काठमाडौं । सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न थप १० अर्ब ३० करोड रुपैयाँ बजेट निकासा गरेको छ ।

अर्थले थप निकासा दिएपछि रोकिएको कर्मचारीहरुको तलब भुक्तानी गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरिएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए ।

उनले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटमा रकम अपुग भएपछि केही कर्मचारीले चैत महिनाको सेवा सुविधा नपाएको बताए ।

‘चालू आवमा कर्मचारीको बजेट बढ्दा त्यसको असर अहिले देखिएको हो, तत्कालको व्यवस्थाका लागि थप रकम आइसकेको छ, अपुग रकमका लागि हामीले अर्थमा पुनः पत्राचार गरिसकेका छौँ, रकम आउनासाथ निकासा भैहाल्छ,’ उनले भने ।

चालु आर्थिक वर्षका पछिल्ला केही महिनामा तलबभत्ता खुवाउन विभिन्न मन्त्रालय र कार्यालयहरुसँग बजेट अपुग भएको थियो । यसको मुख्य कारण यो वर्ष कर्मचारीको तलब वृद्धि हुनु हो । सरकारले कर्मचारीको तलब २० प्रतिशतले बढाएको थियो । चालु आवको बजेट बनाउँदा मन्त्रालयहरुले तलबभत्ता शीर्षकमा गत वर्षको हाराहारी रकममात्र समावेश गरेका थिए ।

तर, बजेट भाषणमा २० प्रतिशतले तलब बढेपछि अधिकांश मन्त्रालय र कार्यालयहरुमा बजेट अपुग भएको हो । यो सरकारको राजस्व कम उठेर तलब खुवाउन समस्या परेको विषय होइन ।

सरकारको आम्दानीभन्दा खर्च बढी हुन थालेसँगै कर्मचारीहरुले तलब समेत पाएका थिएनन् । रकम अपुग भएकै कारण सरकारले निजामती कर्मचारीहरुका लागि चैत महिनाको सेवा सुविधा भुक्तानी गरेता पनि नेपाल प्रहरी तथा शिक्षक कर्मचारीहरुको तलब रोकेको थियो ।

यस्तै, रकम अभाव भएकै कारण शिक्षकलाई दिदैँ आएको बिरामी बिदा तथा औषधि उपचार खर्च र २२ हजार शिक्षकको पेन्सन समेत रोकिएको थियो । सरकारले शिक्षक कर्मचारीको सेवा सुविधा तथा औषधि र उपचार खर्च तीन/तीन महिनामा भुक्तानी दिदैँ आएको छ । चैत महिनामा आउनुपर्ने सेवासुविधा आएपनि उक्त खर्च बापतको पैसा गएको थिएन ।

निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार अर्थले दिएको बजेट अपुग भएपछि २२ हजार पूर्व शिक्षकको चैत महिनाको पेन्सन रोकिएको थियो । अर्थले थप रकम निकासा गरेसँगै रोकिएको पेन्सन पठाउने तयारी भएको कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.