सहरमा मन्दी र महँगी, गाउँ फर्कदै गरिब वर्ग

  २०८० वैशाख २६ गते १०:४२     अनुसा थापा

खाद्यान्नको मूल्य निरन्तर बढेको बढ्यै छ । व्यापारीहरुले हप्ता बित्न नपाउँदै खाद्यान्नको मूल्य बढाउँछन् । हरेक सामानको मूल्य आकासिएको छ । योसंगै आम्दानी नहुनेहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइपुगेको छ । एकातिर मँहगी अर्कोतिर बेरोजगारी । अनि कसरी जीविकोपार्जन गर्ने ? काठमाडौंमा टिक्न नसक्ने अवस्था सिर्जना भइसकेको छ । सानो व्यापार व्यवसाय गरेर भएनि खाऊँला भनेर आफ्नो गाउँठाउँ छोडेर शहर आएकाहरु अहिले धमाधम फर्किन थालेका छन् ।

यो अवस्था काठमाडौंमा मात्र होइन्, जिल्लाको सदरमुकाममा पनि देखिन थालेको छ । जिल्लाको सदरमुकाममा कोठा लिएर बस्नेहरु पनि आफ्नै घर फर्किरहेका छन् । बाँच्नका लागि विकल्प नै नभएपछि के गर्ने ? काम गरेर खर्च धानौंभन्दा काम पाइँदैन् । बिहानबेलुका खानै पर्यो, कोठा भाडा तिर्नैपर्यो र आफूलाई खर्च पनि चाहियो । अहिले बाँच्न पनि धौं धौं पर्ने स्थिति बनिसकेको छ । बजारमा पूरै मन्दी छाएको छ । व्यापार व्यवसाय गर्नेहरुलाई पनि उत्तिकै सास्ती छ ।

एकातिर व्यापार ठप्प छ अर्कोतिर चर्को कोठाभाडा । खर्च धान्न नसक्ने भएपछि अधिकांशले सटर छोडिसकेका छन् । काठमाडौं उपत्यकालगायत अन्य जिल्लाका धेरै सटर खाली भइसकेको छ । यता, उनीहरुले कोठासमेत छाडिसकेका छन् । आम्दानीको स्रोत नै नभएपछि यहाँ मँहगो कोठा लिएर के गर्ने ? केही वर्षअघि र अहिलेको अवस्था ठ्याक्कै उल्टो छ । त्यतिबेला एउटा कोठा पाउन पनि महाभारत हुन्थ्यो । एउटा कोठा खोज्नलाई तीन महिना लाग्थ्यो ।

कोठा खोज्न खुलेका कार्यालयलाई पैसा दिएर पनि कोठा खोज्न लगाइन्थ्यो । तर, अहिले त घरैपिच्छे ‘टुलेट’ को पोस्टर टाँसेको देखिन्छ । त्यति गर्दा पनि कोही कोठा खोज्न आइदिए त हुन्थ्यो । हिजो कोठाबहालमा बस्नेबाट बसिबसि खाने घरधनीहरुको आम्दानीको स्रोत गुमेको छ । एउटा कोठाको ठाँउ हेरेर मासिक पाँचदेखि १० हजारसम्म लिन्थें । अझ दुलोजत्रो गोदामको १५ हजार रुपैयाँ उठाउँथे । एउटै सटरको २० हजारदेखि १० लाखसम्म लिने गरेका थिए ।

एक फ्ल्याटको २५ हजारदेखि लाखसम्म पनि उठाए, घरधनीले । खाली सटर २० लाखदेखि ५० लाखसम्म बिक्री हुन्थ्यो । तीन महिनाको अग्रिम भाडा घरधनीले उठाउँदै आएका थिए । कोठा र सटर पाउन महामुश्किल भएकाले घरधनीले जति भन्यो त्यति नै तिर्ने गरिन्थ्यो । तर, अहिले त लेखेर टाँस्दा पनि कसैलाई फरक परेको छैन् । कोठा खोज्न कोही आउँदै आउँदैनन् । व्यापारीहरुको व्यापार सोत्तर भइसकेको छ । व्यापार हुञ्जेल त उनीहरुले पनि घरधनीले भनेझैं भाडा तिरे ।

दिनमै लाखौंको व्यापार गर्नेहरु अहिले ३०/३५ प्रतिशत व्यापारमा खुम्चिएर बसेका छन् । कतिपयको त पसल खोल्नु ‘टाइमपास’ जस्तो भएको छ । दिनभरि बोनी पनि नगरिकन निस्किन्छन् । देशमा लोकतन्त्र, संघीयता आएर वा प्रदेश बनेर सर्वसाधारणले काठमाडौं छोडेका भने होइनन् । विकास भएर गाउँ गएको भन्ने अवस्था पनि छैन् । किन कि हिजो उनीहरुले गाउँ छोडेर आउँदा जस्तो थियो, अहिले पनि त्यस्तै छ । अहिले गाउँ फर्किनुको कारणचाँहि बजारमा देखिएको आर्थिक मन्दी हो ।

व्यापार व्यवसाय सुकिहाल्यो । अन्य काम गरेर खाउँ भने रोजगारी छैन । मुलुकमा दिनदिनै बेरोजगारी बढेको बढ्यै छ । व्यापार व्यवसाय गर्नेहरु पनि बेरोजगार बन्दा बेरोजगारीको संख्यामा थप वृद्धि भएको छ । पानी पनि किन्नुपर्ने ठाँउमा दैनिक गुजारा गर्न पनि ग्राह्रो भएपछि आआफ्नो जन्मथलो फर्किन थालेका हुन् । आफ्नै गाउँठाँउ गएपछि कोठा भाडा तिर्नुपर्दैन । अर्कोतिर यहाँ जस्तो पानीसमेत किन्नु पर्ने ठाँउ होइन । आफ्नै खेतबारीमा श्रम गर्यो भने पनि खान त पुग्छ ।

मुलुकमा खाद्य संकट हुने त निश्चित भइसकेको छ । यहाँ पनि भोकमरी लाग्न बेर छैन् । किन कि नेपाल परनिर्भर देश हो । यहाँ हरेक खाद्यान्न भारतलगायत तेस्रो मुलुकबाट आयात हुन्छ । खेतीयोग्य जमिन सबै मासिसकेको छ भने बाहिरबाट आउने खाद्यान्न किन्नका लागि पनि व्यक्तिसँग पैसा हुँदैन । नेपालीहरुले जागिर खाए, जग्गा किने र घर बनाए । विदेश बसेर आएकाहरुले पनि घरजग्गामै लगानी गरे । सबैभन्दा उर्वर भूमि भएको काठमाडौं उपत्यका घरैघरले ढाँकिएको छ ।

अन्य जिल्लामा पनि बढ्दो अव्यवस्थित बस्ती बसिसकेको छ । कृषिप्रधान देशका किसानहरु धमाधम विदेश पलायन भइरहेका छन् । खेती गर्न जमिन नै नभएपछि विदेश नगएर पनि के गर्नु ? घरभाडामा लगाएर बसिबसि खान्छु भन्नेहरुको पनि हाल बेहाल भएको छ । भाडा तिर्न नसकेपछि अधिकांश आफ्नो गाउँघर फर्किसकेका छन् । कोठाहरु धमाधम खाली भइरहेको छ । कतिले त बैंकबाट ऋण लिएर घर ठड्याएका छन् । अब घरको किस्ता कहाँबाट तिर्ने र घरखर्च कसरी टार्ने भनेर उनीहरु चिन्तित बनेका छन् ।

बाहिरबाट आयात गरेको सामान किन्न पनि पैसा चाहियो । नेपाल र नेपालीको अवस्था कहालीलाग्दो बनिसकेको छ । माटोभन्दा ठूलो केही होइन् भन्ने सरकारले बुझेन्, जनताले बुझ्न चाहेनन् । नेपालमा माटो खरिदबिक्री गर्ने काम भयो । जसले गर्दा खाद्यान्नको संकट हुने देखिन्छ । खेतीयोग्य जमिनलाई कंक्रिट बनाइएको छ । कंक्रिट बनाइसकेपछि कहाँ खेती गर्ने ? अन्न नै नभएपछि कोही बाँच्न सक्दैन । देशमा भोकमरी लाग्यो भने कंक्रिट चपाउन मिलेन ।

घर बनाएर केके न गर्छु भन्नेहरुको समेत होश् उडेको छ । अझ बैंकबाट किस्ता लिएरहरुले त पुर्परोमा हात समानुपर्ने अवस्था सिर्जना भएको छ । घरजग्गा कारोबार ठप्प छ । बैंकबाट ऋण लिएर घरधनी बनेकालाई किस्ता तिर्नै सकस परेको छ । सदनदेखि सडकसम्म मुलुकको अर्थतन्त्रकै विषयमा बहस चलिरहेको छ । आर्थिक मन्दीले बजारलाई छपक्कै छोपेको छ । सांसदहरु निरन्तर अर्थतन्त्रकै बारेमा सदनमा कुरा उठाइरहेका छन् । देशको अर्थतन्त्र पाँच दशकअघिको अवस्थाको पुगेको बताइन्छ ।

पाँच दशकअघि कम राजस्व उठ्दासमेत सरकारलाई कुनै फरक पर्दैनथ्यो । किन कि जनसंख्या कम थियो । आफ्नै खेतबारीमा फलेको खाद्यान्नले जीविको चलाउन पुग्थ्यो । नेपाल सरकारले अन्य देशलाई खाद्यान्न बेच्थ्यो, अनुदानमा दिन्थ्यो । सरकारी खर्चको नाममा कर्मचारीलाई तलब दिए पुग्थ्यो । सरकारी खर्च धान्नसमेत सरकारलाई महाभारत परेको छ । अझ पेन्सन, सरकारी गाडी, भत्ताको व्यवस्था गर्न थालेपछि त राज्यको ढुकुटी सोत्तर बनेको छ । सरकारी खर्च धान्नकै लागि विदेशीसमक्ष हात फैलाउनुपरेको छ । विदेशी ऋण बढेको बढ्यै छ, तिर्ने कहाँबाट हो ? अत्तोपत्तो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.