ठेला व्यापारबाटै मनग्य आम्दानी गर्दै भारतका राजकुमार साह

  २०८० वैशाख २१ गते १६:३४     विकासन्युज

अर्जुनधारा । काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन । वास्तबमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्नसके काम र दाम दुवै यहीँ छ । यसको उदाहरण हो बिर्तामोडका विभिन्न सडक पेटीमा ठेला–व्यापार गर्नेहरु ।

भारत घर भएका राजकुमार साह बिर्तामोडको भद्रपुररोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेचेर मासिक ७५ हजार रुपैयाँ कमाउछन् । छोरीको स्कुल खर्च, कोठा भाडा, औषधि उपचार खर्च गरेर पनि राम्रै बचत गर्न सकेको साहले बताउँछन् । साँझपख अफिस सकेर धैरै कर्मचारी नास्ता खान आउने गरेको उनको भनाइ छ ।

भद्रपुर रोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आएका कृष्ण साहले पनि दैनिक दुई-तीन हजारको व्यापार गर्ने गरेको बताए । ठेला व्यापारबाटै उनको पनि तीन जनाको परिवार राम्रैसँग चल्दै आएको छ । दाजुले वर्षाैंदेखि गर्दै आएको ठेला व्यापार विगत पाँच वर्षबाट कृष्णले सम्हालेका हुन् ।

ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने भएकाले सानो लगानी गर्नेका लागि यो रोजाइको व्यवसाय बनेको छ ।

झापाको बिर्तामोड पछिल्लो समय तीव्रगतिमा सहरीकरण भइरहेको कोशी प्रदेशको व्यापारिक केन्द्र हो । विर्तामोडको चोकचोक, गल्लीगल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँमा राखिएका ठेला व्यापारले धेरैको जीविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सीता साह बताउछिन् । उनी दैनिक एक सय ५० भन्दा बढीलाई पानीपुरी चटपटे खुवाउछिन् ।

घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्ररूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो हुने भएकाले पनि ठेला व्यापारतर्फ धेरैको आकर्षण देखिन्छ । बिएण्डसी हस्पिटल अगाडि ठेलामा जुुुस बेच्दै आएका प्रभु साह कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुने बताउछन् । भारतको विहारका उनी गर्मी सुरु भएपछि ठेलामा जुस बेच्ने गर्छन् । हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन् ।

ठेलामा व्यापार गर्नेले वर्षैभरि एकै किसिमको व्यापार नगरी मौसमअनुसार व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । धनकुटा स्थायी घर भई तीन वर्षयता विर्तामोडमा ठेलाको व्यापार गर्दै आएका सनमान तामाङले मौसमअनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएका कारण मौसमी व्यापारमा लागेको बताउँछन् । उनले गत वर्षदेखि कहिले फलफूल, कहिले उखुको जुस तथा कहिले सागसब्जी बिक्री गर्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.