यसरी घटाउन सकिन्छ कर्जाको ब्याजदर

  २०८० वैशाख २० गते ११:४२     अम्बिर बोगटी

अहिले बैंकको ब्याजदरको विषयमा चौतर्फी बहस भइरहेको छ । धेरैले ब्याज घटाउनु पर्ने धारणा राखिरहेका छन् भने कतिपयले ब्याजदर घटेमा अर्कै किसिमको समस्या उत्पन्न हुने तर्क पनि राखिरहेका छन् । सबैले पहल गर्याे भने बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर घटाउन सकिन्छ । बैंकहरुले निक्षेपकर्ताबाट निक्षेप संकलन गरेर आफ्नो लागत जोडेर कर्जा प्रवाह गर्छन् । कर्जाबाट प्राप्त रकमले सबैको चित्त बुझाउने काम बैंकहरुले गरिरहेका छन् । बैंकले कर्मचारीलाई तलब, घरभाडा, कार्यालय सञ्चालन, सूचना प्रविधि लगायत अन्य थुप्रै खर्च बैंकहरुले गरिरहेका हुन्छन् । सबै खर्च कटाएर सरकारलाई कर पनि तिर्नुपर्छ । अन्य क्षेत्रमा २५ प्रतिशत मात्रै कर तिर्नु पर्छ भने बैंकहरुले ३० प्रतिशत कर तिर्नुपर्छ । यस्तै, बैंकहरुले आफ्ना सेयरधनीहरुलाइ पनि लाभांश दिनुपर्छ । बैंकको निक्षेपको ब्याजदरभन्दा बढी प्रतिफल पाउनु पर्याे भनेर लगानीकर्ताहरुले र्याखर्याख्ति पारेका हुन्छन् ।

वि.सं.२०७९ पौष मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुसँग कूल निक्षेप ५४ खर्ब ४ अर्ब रुपैयाँ रकम र कूल कर्जा ४८ खर्ब १३ अर्ब रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत गणना गर्दा ऋण लगानी क्षमता ४८ खर्ब ६३ अर्ब ६० करोड रुपैयाँ मात्रै हुन्छ भने कोर पूँजी निक्षेप अनुपात (सीसीडी) ८५ प्रतिशत गणना गर्दा ५१ खर्ब २७ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी क्षमता हुन्छ ।

सीसीडी रेसियो लागू गर्दा बैंक तथा वित्तीय संस्थाहरुको २ खर्ब ६३ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी क्षमता बढ्ने देखिन्छ । त्यो २ खर्ब ६३ अर्ब रकम लगानी गर्न दिइयो भने सरकारको राजश्व संकलन पनि बढ्छ । पूँजीको हाहाकार भएको बेला सहज हन्छ । तर, सो रकम लगानी गर्दा बैंकहरुलाई जोखिम पनि हुन सक्छ । राष्ट्र बैंकले सुक्ष्म निगरानीमा राखेर लगानी गर्न दिनु पर्छ । सो रकमलाई सरकारले तोकेको उत्पादनमुलक तथा जोखिम कम हुने क्षेत्र, रोजगारी वृद्धि हुने परियोजना र आयात प्रतिस्थापन हुने उद्योगमा लगानी गर्न दिनु पर्छ । एक/डेढ वर्षका लागि मात्रै लागू गर्ने हो भने अहिलेको तरलता सहज भएर ब्याजदर घटाउन मद्दत पुग्छ ।

संस्थागत निक्षेपको ब्याज घटाऔं

पुस मसान्तसम्मको बैक तथा वित्तीय संस्थाहरुमा रहेको कूल निक्षेपको ३६.६० प्रतिशत अर्थात् २० खर्ब रुपैयाँ संस्थागत निक्षेपको हिस्सा रहेको छ । उक्त रकम नेपाल सरकार, सरकारको स्वामित्व भएको संघसंस्थाहरु, बीमा कम्पनीहरु, विभिन्न गैह्रसरकारी संस्थाहरुको स्वामित्वमा रहन्छ । जसलाई वर्गीकरण गरी ब्याजदर निर्धारण गर्दा हाल कायम ब्याजदरमा २ प्रतिशितसम्म र कर्जाको ब्याजदरमा १ प्रतिशतदेखि १.५० प्रतिशतसम्म घटाउन सकिन्छ ।

गत पुस मसान्तसम्म कूल संस्थागत निक्षेपको विदेशी मुद्राको निक्षेप १.८७ प्रतिशत अर्थात् १ खर्ब रुपैयाँ र स्थानीय तहको १.७१ प्रतिशत अर्थात् ९१ अर्ब ८८ करोड रुपैयाँ छ । विदेशी मुद्राको निक्षेप र स्थानीय तहको निक्षेपलाई चालू खातामा गणना गरेर सामान्य ब्याज प्रदान गर्नुपर्छ । यस्तै, नागरिक लगानी कोषको १२.२४ प्रतिशत अर्थात् १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ र कर्मचारी सञ्चय कोषको १२.८५ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब २० करोड रुपैयाँरहेको छ । साधारण सेयर सदस्य तथा योगदानकर्तालाई रकम फिर्ता गर्नुपर्ने वा आम्दानीको मुख्य स्रोत निक्षेप राखेर ब्याज प्राप्त गर्ने कर्मचारी संचयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष आदीहरुलाई मुद्रास्फिती दरमा बढीमा २ प्रतिशतसम्म थप ब्याजदर कायम गर्नुपर्छ । यी संस्थाहरुले ब्याजबाट आम्दानी गरेर योगदानकर्तालाई प्रतिफल दिने गर्छन् । यसरी सीमा निर्धारण गरियो भने टेण्डर आह्वान गरेर मोलमलाई गर्ने प्रक्रिया निरुत्साहित हुन्छ ।

बीमा कम्पनीको ५५.१७ प्रतिशत अर्थात् ४ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ र अन्य संस्थाको १९.७४ प्रतिशत अर्थात् १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ निक्षेप हिस्सा छ । बीमा कम्पनी, सहकारी संस्था, वित्तीय सहजकर्ता कम्पनीहरु, मर्चेन्ट बैंक (म्युचुयल फण्ड) तथा लगानी व्यवस्थापन कम्पनीहरुको उद्देश्य ब्याज खाने होइन । यी कम्पनीहरुको आम्दानीको स्रोत ब्याज बाहेक अन्य पनि हुन्छ । यी संस्थाहरुलाई उद्देश्य अनुसारको कारोबार गर्न प्रोत्साहन गर्नु पर्छ । यदि यी संस्थाहरुले बैंकको निक्षेपमै लगानी गर्न चाहन्छन् भनेपनि मुद्रास्फितिदर सरह अधिकतम ब्याजदर निर्धारण गर्नु पर्छ ।

सरकारी संस्था, गैर–सरकारी संस्था, गैह्र–नाफामुखी संस्थाको निक्षेपमा मुद्रास्फितिको ५० प्रतिशत कम वा आधार दर सरह ब्याजदर निर्धारण गर्नुपर्छ । यस्तै, अन्तर बैंक निक्षेपलाई कल डिपोजिटमा गणना गर्नुपर्छ भने ब्यक्तिगत निक्षेपलाई मुद्रास्फिति दरभन्दा बढी नै दिनु पर्छ ।

सरकार र राष्ट्र बैंकले सोही अनुरुप ब्याजदर निर्धारण गर्न सक्यो भने सबैलाई न्याय हुन्छ । जसले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरलाई घटाउन मद्दत पुग्छ । संस्थाहरुको उद्देश्य अनुसार लगानी गर्याे भने त्यहाँबाट आम्दानी गर्न सकिन्छ । ब्याज आम्दानी गरेर सरकारलाई नै ब्याज कर तिरिरहेका छन् । यदि उनीहरुले बैंकिङ्ग प्रणालीमा निक्षेप राख्छन् भने त्यस्ता ब्याजदरको हैसियत एउटै गर्नु हुँदैन । जस्तो हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआइडिसीएल), नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल पुर्वाधार विकास बैंकले ब्याज आम्दानी गर्नु भन्दा आफ्नो क्षेत्रमा लगानी गरेर त्यहाँबाट नाफा खानु पर्छ ।

संस्थाको उद्देश्य हेरेर विशुद्ध ब्याज खाने छ भने उनीहरुले तोकेको ब्याज पाउनु पर्छ । उद्देश्य एउटा लिएर बैंकमा ब्याज खाने वातावरण हुनु हुँदैन । यस विषयमा नियमनकारी निकायले नियमन गर्न जरुरी छ । ब्याजदर घटाउन सरकार आफै नै सक्रिय भएको हुँदा बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकसँग सहकार्य गरी यी संस्थाहरुको ब्याजदर घटाउन सरकारले नै पहल चाल्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरु आफै ब्याजदर घटाउन पनि सक्दैनन् । किनभने राष्ट्र बैंकको नीति निर्देशन भित्र रहेर सञ्चालन हुनु पर्छ । राष्ट्र बैंक पनि आफुखुसी केही गर्न पाउँदैन । किनभने ऐनद्धारा सञ्चालित संस्था हो ।

बैंक तथा वित्तीय संस्थाहरुको खर्च प्रणाली पनि महँगो छ । निक्षेप तान्न प्रचारप्रसारमा ठूलो रकम खर्च गरिरहेका हुन्छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलबभत्ता पनि अधिकतम छ । एक वर्षमै ४÷५ करोड रुपैयाँ तलवभत्ता बुझेको देखिन्छ । सञ्चालन खर्चको ८५ प्रतिशतसम्म आधारदर निर्धारणमा समावेश गरिने भएकाले कर्मचारी खर्चमा मितव्ययी हुनुपर्छ । खर्चको विषयमा राष्ट्र बैंकले पनि निगरानी गर्नु पर्ने हुन्छ ।

प्रतिस्पर्धा बढेको हुँदा बैंकहरु पनि प्रबिधिमैत्री हुनु परेको छ । बैंकिङ्ग क्षेत्रमा जोखिम पनि बढेको हुँदा सोही अनुसार खर्च गर्नु पर्छ । कर्मचारी खर्च, घरभाडा लगायतको वृद्धिले बैंकको खर्च बढेको छ । बैंकहरुको वित्तीय विवरण कमजोर हुँदा हाइफाइ गरेर खर्च गर्न सक्ने अवस्था छैन । आम्दानी गर्न सकिएन भने खर्च कटौति गरेर पनि बढाउन सकिन्छ । राम्रो पर्फमेन्स गरेर बैंकको आम्दानी बढाएको छ भने ती सीईओहरुले धेरै तलव भत्ता खाँदा केही फरक पर्दैन । तर, काम सरकारी बैंकसरह गरेर ५ करोड तलव खानु उचित हुँदैन । अहिले सरकारी बैंकका सीईओले ५० लाख मात्रै तलवभत्ता बुझेर राम्रो पर्फमेन्स गरेका छन् ।

सीईओ बैंकको कर्मचारी होइन । सीईओ सम्झौतामा बैंकमा आउने हो । सम्झौतामा सीईओ भएर आएपछि लक्ष्य अनुसारको काम गर्नु पर्ने हुन्छ । यदि भाडाको गाडी वा सार्वजनिक सवारीमा सवार गरेपछि बाटोमा बिग्रियो भने ओर्लिएर हिड्नु पर्छ । यदि सोही सवारीलाई रिजर्भ गरेर जाने हो भनेसमयमा गन्तव्यमा पुर्याउनुपर्छ । बाटोमा गाडी बिग्रियो भने पनि उसले अरु व्यवस्था गरेर समयमा पुर्याउनै पर्छ । सीईओले यति काम गर्छु सोही अनुसार तलव भत्ता चाहिन्छ भनेर सम्झौता गरेको हुन्छ । त्यसैले सम्झौता अनुसारको काम भएको छ की छैन भनेर अनुगमन गर्न जरुरी छ । नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका सीईओले वार्षिक ५० लाख रुपैयाँमा काम गरिरहेका छन् । तर, सोही अनुसारको पोर्टफोलियो भएका निजी बैंकका सीईओको तलबभत्ता करोडौं हुन्छ । आवश्यकता अनुसारको सेवा सुविधा दिएर अनावश्यक खर्च कटौति गर्न सकियो भने ब्याजदर घटाउन मद्दत पुग्छ ।

राष्ट्र बैंकले एसएलएफ (सर्टटर्म लोन) बैंक तथा वित्तीय संस्थाहरुलाई दिन्छ । वि.सं. २०७८ अघि ५ प्रतिशत रहेकोमा क्रमशः बढाएर ८.५ प्रतिशत पुर्याएको छ । यसलाई निरन्तर घटाएर ७ प्रतिशत हुँदै ५ प्रतिशतमा झार्याे भने ब्याजदर घटाउन सहयोग पुग्छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले दैनिक राष्ट्र बैंकमा ७० प्रतिशत अनिवार्य मौज्जाद (सीआरआर) नगद निक्षेप देखाउनु पर्छ । वि.सं. २०७८ अघि ३ प्रतिशत थियो भने अहिले बढाएर ४ प्रतिशत पुर्याएको छ । अहिले अफ्ठ्यारो बेलामा ३ प्रतिशतमा झार्याे भने बैंक तथा वित्तिय संस्थाहरुमा झण्डै ५०/६० अर्ब तरलता बढ्छ । त्यो रकम लगानी गर्न पाएपछि ब्याजदर घटाउन मद्दत पुग्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक महिना आधारदर निर्धारण गरेर ब्याजदर तय गर्छन् । आधार दरमा वास्तविक खर्च मात्रै समावेश गर्नुपर्छ । यो महिना जति खर्च हुन्छ सोही खर्च अर्काे महिना आधार दरमा समावेश गर्ने व्यवस्था हुनु पर्छ । आधारदरमा अनावश्यक खर्च जोड्न हुँदैन । नेपाल सरकार तथा सरकारी निकायहरुले तोकिएको विकास खर्च रकम समयमा गर्नु पर्छ । साथै, तत्कालै सबै ठेकेदार कम्पनीहरु, संस्था तथा ब्यक्तिहरुलाई दिनु पर्ने रकम अबिलम्ब भुक्तानी गर्नु पर्छ । भुक्तानीमा अल्झाएर तरलता अभाव श्रृजना गर्नु हुँदैन । यदि त्यो रकम समयमा प्राप्त गर्याे भने मजदूर लगायत सबैले पाउँछन् ।

असार मसान्तसम्म बैक तथा वित्तीय संस्थाहरुले डिबेन्चर (ऋणपत्र)को रकमलाई पूँजी र निक्षेप दुबै सूचकमा गणना गर्न पाउँछन् । साउन १ गतेदेखि एउटा मात्रै सूचकमा गणना गर्न पाउनेछन् । यदि त्यो ऋणपत्र निक्षेपमा गणना गर्न नपाउँदा डेढ खर्ब बराबरको ऋणपत्रलाई लगानी गर्न पाउँदैनन् । यो व्यवस्थालाई एक वर्ष समय थप गरेर तरलता हिज गर्नु दिनु पर्छ ।

अहिले बैंकहरुले टायर वान क्यापिटल ८.५ प्रतिशत र पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत कायम गरे हुन्छ । यो कायम गर्न सक्यो भने लाभांश वितरण गर्न पाउँछन् । तर, काउन्टर साइक्लिङ्ग बफर साउनदेखि लागू गर्याे भने २ प्रतिशत पूँजी प्रयाप्तता जोड्नु पर्छ । क्यापिटल एडुकेसी रेसियो २ प्रतिशतबाट बढेर १३ प्रतिशत पुग्छ । १३ प्रतिशत पुग्यो भने बैंकहरुले लाभांश वितरण गर्न पाउँदैनन् । अहिले विषम् परिस्थिती भएको हुँदा यो व्यवस्थालाई वि.सं. २०८१ सालसम्म थप गर्दा उपयुक्त हुन्छ ।

१२ करोडका सीमा हटाऔं

वि.सं. २०७७ असारमा सेयर कर्जाको ब्याजदर १०.८५ प्रतिशत रहेकोमा वि.सं. २०७८ मा घटेर ८.५ प्रतिशतमा झर्याे । त्यसपछि २०७९ असारमा १२.२५ प्रतिशत, पुसमा १४.०४ प्रतिशत र माघमा १४.५८ प्रतिशत पुग्यो । हाल बैंकहरुले ५८ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह गरेका छन् । जुनकूल कर्जाको १.३७ प्रतिशत मात्रै हिस्सा हो ।

वि.सं. २०७८ भदौ ९ गते राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति जारी गर्नुअघि पूँजी बजारमा संस्थागत लगानीकर्ताहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले सेयर खरिद बिक्रीमा लगानी गर्न पाउँथे । जतिबेला सेयर बजार मापन गर्ने नेप्से सूचक ३२०० अंकको उचाईमा र दैनिक २०/२२ अर्ब रुपैयाँको कारोबार हुन्थ्यो । जसले गर्दा सरकारलाई दैनिक रुपमा पूँजीगत लाभकर र कारोबारको सेवा शुल्क मनग्य प्राप्त हुन्थ्यो । देशको आर्थिक गतिविधि राम्रोसँग चलायमान भइरहेको थियो । तर, वि.सं. २०७८ भदौ ९ गतेबाट लागू भएको मौद्रिक नीतिका कारण सेयर बजार निरन्तर रुपमा ओरालो लागेर कारोबार रकम घटेर १ अर्ब रुपैयाँभन्दा कम र नेप्से सूचक १८ सय अंकको हाराहारीमा झरेको छ । मौद्रिक नीतिको व्यवस्थाले बैंकसँग ऋण लिएर लगानी गर्ने संस्थागत लगानीकर्ताहरु बजारमा कायम रहन सकेनन् ।

४/१२ करोडको सेयरधितो कर्जा नीतिका कारण ब्यक्ति तथा संस्थाहरुको ऋण लिन पाउने अधिकार पनि कुण्ठित हुन पुग्यो । बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न नपाउने गरि व्यवस्था बनाइयो । सेयर बजारमा दैनिक नयाँ कम्पनीको सेयर र सञ्चालनमा रहेका कम्पनीले पनि बोनस सेयर र हकप्रद सेयर थप्ने काम मात्रै गरेका छन् । यसरीसेयर थपिरहँदा खरिद गर्ने खरिदकर्ता भने बजारमा आउने वातावरण छैन । अन्तर्राष्ट्रिय प्रचलन अनुसारसेयर बजारमा ३५ प्रतिशतभन्दा बढी संस्थागत लगानीकर्ता हुन्छन् । एकातिरसेयर बजारमा सेयरको आपूर्ति बढाउने काम निरन्तर भैरहेको छ भने अर्काेतिरबाट खरिद गर्ने लगानीकर्तालाई निरुत्साहित गर्ने काम भइरहेको छ । जसको फलस्वरुप आजभन्दा २० वर्ष अघि१ सय रुपैया मूल्यमा आईपीओ जारी गरेका कम्पनीकोसेयर मूल्य २ सय रुपैयाँभन्दा तल झरेको छ । त्यसैले राष्ट्र बैकले लागूगरेका कुनै पनि ब्यक्ति, संस्था तथा समूहले बढीमा १२ करोडसम्मको मात्र सेयरधितो कर्जा लिन पाउने सम्बन्धी व्यवस्था पूर्ण रुपमा हटाउनुपर्छ ।

सेयर धितो कर्जामा लगाइएको सीमा हटाएर अन्य माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । जस्तो बैंकले ७० प्रतिशत मार्जिन लिदइरहेको छ भने त्यसलाई घटाएर ६०/६५ प्रतिशतमा झार्न सकिन्छ । सेयर कर्जा लिएपछि एकैपटक तिर्नुपर्ने व्यवस्थागर्न सकिन्छ । सबै कम्पनीको आईपीओ, बोनस सेयर, हकप्रद सेयर आएपनि संस्थागत लगानीकर्ता नहुँदा बिक्री हुन सकेको छैन ।सप्लाइ दिएपछि खरिदकर्ताको पनि व्यवस्था हुनुपर्छ । यदि खरिद गर्ने लगानीकर्ता नै हुँदैनन् भने बजार बढ्न सक्दैन । खरिदकर्ता बढाउनका लागि सरकार, नेपाल धितोपत्र बोर्डले पनि सोच्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थाहरुको वि.सं.२०७८ असारमसान्तमा सेयरधितो कर्जा झण्डै ९१ अर्बभन्दा बढी रहेकोमा वि.सं. २०७९ पुस मसान्तसम्म घटेर ५८ अर्ब २४ करोडमा झरेको छ । जसको ब्याजदर अन्य कर्जाभन्दा औषतमा १४.५८ प्रतिशत छ । जुन ऋण बैक तथा वित्तीय संस्थाहरुको सम्पुर्ण कर्जाको १.२१ प्रतिशत मात्र हुन आउँछ । त्यसकारण सेयरधितो कर्जामा २५ लाखभन्दा माथीको कर्जामा जोखिम भार प्रतिशत १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गनुपर्ने देखिन्छ । पूँजी बजारमा नेप्से सूचक ४४ प्रतिशत घटेर १८ सय अंकको हाराहारीमा कारोबार भइरहेको हुँदा१ सय प्रतिशतमा झार्नु पर्छ ।

सेयरबजार ओभरभ्यालुड कि अन्डरभ्यालुड ?

सेयर बजारलाई कसरी जाँच गर्ने भनेर हेर्न सकिन्छ । केन्द्रिय तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड ५० लाख रुपैयाँ छ । पछिल्लो तथ्याङ्क अनुसार सेयर बजारपूँजीकरण २७ खर्ब २५ अर्ब ६८करोड रुपैयाँ रहेको छ । कूल ग्राहस्थ उत्पादन र बफेट इण्डिकेटरको तुलना गर्दा ५५ प्रतिशत छ । ७५ देखि ९० प्रतिशत हुँदा उत्कृष्ट मानिन्छ । त्योभन्दा तल भएपछि सेयर बजार अण्डरभ्यालू भएको मानिन्छ । त्यसैले नेपालको पूँजी बजार अहिले उत्कृष्ट छैन भनेर देखाउँछ ।

सेयर बजार ३२ सय अंक पुगेको बेलामा अल्पकालिन गानीकर्ताहरुलाई ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत पुर्यायो । ब्यक्तिगत र संस्थागतलाई फरक–फरक शुल्क तिर्न लगाउनुपर्छ । सेयर कारोबार गर्ने अल्पकालिन ब्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत र दिर्र्घकालिन लगानीकर्तालाई ५ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्थालाई हटाएर सबै कारोबार गर्ने ब्यक्तिगत लगानीकर्ताहरुलाई ५ प्रतिशत र संस्थागत लगानीकर्ताहरुलाई १० प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था हुनुपर्छ ।

बैक तथा वित्तीय संस्थाहरुले सबै किसिमका चालू पूँजी प्रकृतिका कर्जाहरुमा वि.सं.२०७९ कार्तिक १ गतेदेखि लागू गरेको मार्गनिर्देशनका कारण नवीकरणमा समस्या देखिएको छ । अहिले समग्र क्षेत्रमा समस्या परेको हुँदा यो व्यवस्थाले ब्याज तिर्न नसकेको बेला साँवा पनि तिर्नुपर्छ । हाललाई १ वर्ष अर्थात् वि.सं. २०८० चैत मसान्तसम्म चालू पूँजी निर्देशनलाई स्थगन गरी उद्योग व्यवसायीहरुलाइ राहत पुग्न सक्छ भने बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण पनि सुधार हुन्छ ।

कृषि तथा कृषिजन्य उधोग व्यवसायलाई बैंक तथा वित्तीय संस्थाहरुले आधार दर प्लस प्रिमियममा २ करोडसम्म मात्रै कर्जा पाइन्छ । यसलाई बढाएर ५ करोड रुपैयाँसम्मको कर्जामा आधारदरमा बढीमा २ प्रतिशतसम्म मात्र प्रिमियम लगाउन पाउने व्यवस्था गर्नुपर्छ । किनभने मूल्य वृद्धि भएको छ ।

बैक तथा वित्तीय संस्थाहरुले नयाँ ऋणीलाई सस्तो र पुराना ऋणीलाई महँगो शुल्कमा कर्जा उपलब्ध गाइरहेका छन् । अब नयाँ र पुराना ऋणीलाई कर्जामा १ प्रतिशतभन्दा बढी फरक नहुनेगरी प्रिमियम शुल्क तोक्नुपर्छ । जसले गर्दा पुराना ऋणीलाई मर्का पर्दैन । साथै, बैक तथा वित्तीय संस्थाहरुले ऋणीसँग सबै ऋणहरुमा लिने आधारदरमा तोकिएको प्रिमियम दरको अन्तर बढीमा २ प्रतिशत भन्दा फरक नपर्ने गरी लगाउने व्यवस्था गर्नुपर्छ । सरकारको इच्छाशक्ति, नेपाल राष्ट्र बैंकको केही नीतिगत शंसोधन तथा सुधार र बैंकहरुको चाहना भएमा अहिलेको बैंक ब्याजदर सम्बन्धि समस्या सजिलै समाधान गर्न सकिन्छ ।

(लेखक नेकपा माओवादी केन्द्रका अर्थ तथा योजना विभागका सदस्य र तत्कालीन सिभिल बैंकका पूर्व अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.