हराभरा हुँदै झापाको ‘महेन्द्र पार्क’

  २०८० वैशाख १९ गते १४:२८     विकासन्युज

झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जो कोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ ।

भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।

विसं २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्यटक लोभ्याउने सौन्दर्य पार्क थियो यो । राजनीतिक द्वन्द्वका कारण रमणीयस्थल बिस्तारै उजाड बन्न पुग्यो ।

पार्कको बीचमा राजा महेन्द्रको पूर्णकदको सालिक रहेकाले यो पर्यटकीयस्थल राजनीतिक द्वन्द्वको सिकार बन्न पुग्यो । विसं २०४६ सालपछि २०६२/६३ को जनआन्दोलनसम्मको डेढ दशक अवधिसम्म पार्क बेवारिसे झैं बन्यो । पार्कभित्रका फूलका बगैँचा र भौतिक संरचनाले स्याहर पाएका थिएनन् भने वर्षौँसम्म पार्कको ढोका बन्द रह्यो ।

विसं २०६२/६३ को जनआन्दोलनमा पार्ककै छेउमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गरेका थिए । आन्दोलनकै क्रममा राजा महेन्द्रको सालिक भत्काइयो र राजाको गुणगान गरिएका शिलालेखहरु ध्वस्त बनाइयो ।

सुन्दर पार्क लामो समयसम्म भग्नावशेषमा अवस्थामा रहेपछि स्थानीय र सञ्चारमाध्यमले पार्कको जीर्णोद्धार हुनुपर्ने आवाज उठाउन थाले । जनआवाजको कदर गर्दै भद्रपुर नगरपालिकाले विगत चार वर्षदेखि यसको जीर्णोद्धार र सौन्दर्यकरणमा ध्यान दिन थालेको छ ।

चालु आर्थिक वर्षमा भद्रपुर नगरपालिका–८ ले महेन्द्र पार्कको पुनःनिर्माण र जीर्णोद्धारका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष गौरव सुब्बा बताउँछन् । राजनीतिक विवादभन्दा माथि उठेर सार्वजनिकस्थलको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका आधारमा वडा कार्यालयले पार्कलाई परिष्कृत र अझ बढी सौन्दर्यकरण गर्ने काम गरिरहेको उनले बताए ।

‘चालु आवमा १० लाख रुपैयाँ बजेट छुट्यायौँ’, वडाध्यक्ष सुब्बाले भने, ‘आगामी आवमा अझ धेरै बजेट छुट्याएर महेन्द्र पार्कलाई पहिलेभन्दा राम्रो पर्यटकीयस्थलका रुपमा विकास गर्ने हाम्रो योजना छ ।’ पार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी भद्रपुर नगरपालिकाले लिएको जनाउँदै उनले अब कुनै हालतमा पार्कलाई बेवारिसे बन्न नदिइने बताए ।

पालिकाको बजेटले हाल पार्कको वरिपरिको पर्खाल र भौतिक संरचनाहरुको रङ्गरोगन गरिएको छ । कलात्मक मूल प्रवेशद्वार, सालिक राखिएको पुरानो स्तम्भ, पानीको फोहोरा रहेको नहर, बिजुलीका खम्बा लगायतका भौतिक संरचना नयाँ रङ्गले उज्यालिएका छन् ।

पार्कभित्र बालबालिकालाई मनोरञ्जनका लागि पिङ, चिप्लेटी, चाकाचुलीलगायतका खेल सामग्रीहरु राख्ने र पुराना थोत्रिएका सामान हटाएर नयाँ राख्ने काम धमाधम भइरहेको छ । पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फूलबारीमा नयाँ फूल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ ।

क्यामेलियाको विभिन्न फूल र बोन्साइका पोथ्राले पार्कको आकर्षण बढाएका छन् । पर्यटक हिँड्ने फुटपाथ र गोरेटो वरपर हरियाली फूलका झ्याँङ हुर्काइएका छन् ।

रङ्गरोगन गर्ने, बगैँचामा माटो भर्ने लगायतका काम गर्न धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । समितिले नियमितरुपमा पार्कको जीर्णोद्धार अघि बढाइरहेको छ ।

एक महिनाभित्र महेन्द्र पार्कले काँचुली फेरिसक्ने पार्कका माली अमृत थापाले बताए । फुलका विरुवा कहाँ कसरी रोप्ने र हुर्किएका बोन्साई, धुपी, सल्लोलगायतका बोटका हाँगाबिँगा छिमलेर सुन्दर बनाउन लागिरहेको बताउँछिन् माली थापा । उनीसँग संयुक्त अरब इमिरेट्सको प्रसिद्ध बगैँचामा मालीको काम गरेको अनुभव छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.