अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

  २०८० वैशाख १५ गते १०:४३     विकासन्युज

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने भन्दै महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो ।

पहिलो चरणमा आइतबारदेखि घन्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । महानगरले पटक–पटक तार व्यवस्थापनका लागि पहल गर्दासमेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट काटेरै हटाउन लागिएको हो ।

बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि पाँचवटा सेवा प्रदायकका प्रतिनिधिमात्रै सहभागी भएका थिए । नेपाल टेलिकम, सिजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागी थिए ।

वीरगन्जको मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाले टाँगेका तार अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकाले महानगरले व्यवस्थापनका लागि पटक–पटक प्रयास गर्दै आइरहेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने हुँदा ती तारको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.