लिसङ्खुपाखरका किवि खेती गर्ने किसानलाई अनुदानमा किवि टि-वार

  २०८० वैशाख १४ गते १४:२१     विकासन्युज

सिन्धुपाल्चोक । लिसङ्खुपाखर गाउँपालिकाकाले किवि किसानलाई किवि टि–वार वितरण गरिएको छ ।

पालिकाको आर्थिक वर्ष २०७९/८० मा स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिका कृषि विकास शाखाद्वारा ५० प्रतिशत अनुदानमा २२ जना किवि खेती गर्ने किसानलाई किवि टि–वार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर बिष्टले जानकारी दिए ।

किविलाई थाङक्रोका रुपमा प्रयोग हुने किवी टि–वार हिजो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्टले किसानलाई हस्तान्तरण गरे । विष्टले पालिकाको किवि खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा किवि टि–वार वितरण गरिएको जानकारी दिए ।

गाउँपालिकाले किसानसँग प्रत्यक्ष जोडिएर किवी र आलुलाई विशेष प्राथमिकतामा राखेर लगानी गरेको उनको भनाइ छ । वडाअध्यक्ष भक्तलाल शाक्यले गाउँपालिकाले अनुदान दिएको सामग्रीलाई सही सदुपयोग गर्न आग्रह गरे ।

गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष नेपालका अनुसार लिसङ्खुपाखरमा एक सयभन्दा बढी किसान किवि खेतीमा संलग्न छन् । जसमध्ये निम्न आय भएका किसानलाई प्राथमिकतामा राखी तीन सय आठ किवि टि–वार वितरण गरिएको हो ।

उनका अनुसार फलामको टि–वार प्रतिगोटा ढुवानी समेत गरेर दुई हजार पाँच सय रुपैयाँमा गाउँपालिकाले खरिद गरेको हो । किसानले अब एक हजार दुई सय ५० मै पाउने छन् । अन्य किसानलाई पनि क्रमशः टि–वार वितरण गरिने कृषि शाखा प्रमुख नेपालले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.