सिटिजन्स सुपर ३० ले औषतमा २०.४१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ : सीईओ श्रेष्ठ

  २०८० वैशाख १३ गते ११:०३     विकासन्युज

काठमाडौं । सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि बन्दमुखी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक र बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरेको हो ।

क्यापिटलको फण्डमा बैशाख २० गतेसम्म न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सकिनेछ । सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठसँग विकासन्युजले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड लगायतका विषयवस्तुमा रहेर कुराकानी गरेको छ ।

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको योजना हो ?

यो इक्विटीमा फोकस फण्ड हो । ८० प्रतिशत लगानी इक्विटीमा गर्छाैं । नेप्सेमा सूचीकृत भएका ३० वटा उत्कृष्ट स्टक छनोट गर्छाै । ती ३० वटा स्टकमा घुमीफेरी लगानी गर्छाैं । बजार अहिले घटेको छ । बजार १९ सय अंकको हाराहारीमा कारोबार भइरहेको छ । बजारमा प्रवेश गर्ने उचित समय छ । बैंकहरुको सेयर न्यूनतम मूल्यमा कारोबार भइरहेको छ । अहिले सेयर किन्नु भनेको ‘डिस्काउन्ट’मा खरिद गरे सरह हो । भोलिका दिनमा बजार ‘रिभाइव’ भएर बढ्यो भने बढी भन्दा बढी प्रतिफल दिन सक्छौं । बजार धेरै तल झरिसक्यो । योभन्दा तल झर्ने वाला छैन । त्यसैले यहि बेलामा ३० वटा स्टक छनोट गरेर लगानी गर्ने फण्डको विशेषता हो ।

सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ, यो बेला फण्ड बिक्री हुन सक्छ ?

हालै बजारमा आएका ३/४ वटा फण्डमा राम्रो आवेदन परेको छ । बजार बढेको बेला लगानीकर्ता आफैं आएर सेयर खरिद गर्नुहुन्छ । तर, घटेको बेला कोही पनि आउनु हुन्न । म्युचुअल फण्डको सबैभन्दा मुख्य कुरा भनेको ‘न्याभ’ (नेट एसेट भ्यालू) हेर्नुपर्छ । सिटिजन्स सुपर ३० बन्दमुखी योजना हो । बन्दमुखी योजनामा लगानी होल्ड गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै न्याभले लय समात्छ । सिटिजन्स सुपर ३० फण्डको पहिलो वर्ष १२ रुपैयाँ र बन्द हुने समयमा १४ रुपैयाँ न्याभ हुनेछ । म्युचुअल फण्डको फाइदा दीर्घकालका लागि हो । आजको भोलि फाइदा हेर्नु हुँदैन । त्यसैले सिटिजन्स सुपर ३० फण्ड पनि बिक्री हुने आशा छ ।

अहिले म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (नेट एसेस्ट भ्यालू) र सेयर मूल्य घटेको छ । कसरी लगानीकर्ताको आकर्षण बढ्छ ?

बजार घटेपनि बढेपनि लगानी बजारमै गर्ने हो । वितगका म्युचुअल फण्डहरुले औषत १७/१८ प्रतिशतसम्म प्रतिफल दिएका छन् । अहिले पनि वार्षिक औषत ३२ प्रतिशत प्रतिफल दिइरहेका छन् । बजार धेरै तल झरेको हुँदा अब घट्ने ठाउँ छैन । बजार घटेको बेलामा लगानी गर्याे भने इकाईधनीहरुलाई उच्च प्रतिफल दिन सकिन्छ ।

अहिले पनि अधिकांश कम्पनीहरुले राम्रो ‘पफर्ममेन्स’ गरेको छन् । अर्थतन्त्रमा समस्या परेको हुँदा राम्रो कम्पनीको सेयरमा असर गरेको हुन सक्छ । अहिले राम्रा कम्पनीको सेयर ‘डिस्काउन्ट’मा खरिद गर्ने बेला हो । ओभर भ्यालू भएका कम्पनी पनि बजारमा छन् । वित्तीय विवरणदेखि सबै ग्रोथ राम्रो भएका कुनै कम्पनीको सेयर मूल्य धेरै तल झरेको पनि छ । तर, ती कम्पनीहरुको ग्रोथ बजारमा देखिएको छैन । यस्ता ३० वटा स्टकलाई छनोट गरेर लगानी गर्छाैं । राम्रो पर्फमेन्स भएका कम्पनीको सेयरमा लगानी गर्न डराउनु पर्ने स्थिती हुँदैन । किनभने हाम्रो अनुसन्धान टिमले भेरिफाइड गरेर त्यस्ता कम्पनी छनोट गरेको छ । ती कम्पनीहरुको तीन महिना वा एक वर्षमा राम्रो विकास भएकै हुन्छ ।

कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्नुपर्छ भन्नुहुन्छ भने कसैले घटेको बेला खरिद गर्नुपर्छ भन्नुहुन्छ । यसले लगानीकर्तामा दुविधा पार्दैन ?

बजारमा ठूल्ठूला लगानीकर्ताहरु हुनुहुन्छ । सेयर बजारमा सबै लगानीकर्ताका आ–आफ्नै अनुभव छन् । बजार घटेको बेला खरिद गर्ने र बढेको बेला बिक्री गर्ने सबै लगानीकर्ताहरुले भन्नु हुन्छ । बजार घटेको बेलामा सबैको सेयर घटेको हुन्छ । कुनै घट्न योग्य हुन्छन् भने कुनै घट्न योग्य हुँदैनन् । घट्नयोग्य नभएका स्टकलाई लगानीकर्ताहरुले आत्तिएर बेचेका पनि हुन्छन् । सेयर बजारलाई बैंक ब्यालेन्स, घरजग्गाको मूल्य, सुनचाँदी मूल्य जस्तै सोच्नु हुँदैन, जुन आज बढ्ने भोलि घट्ने । बैंकमा राखेको रकमबाट आएको ब्याजदर जस्तो सेयर बजार होइन । प्रत्येक दिन उठ्ने वित्तीकै बैंकमा राखेको रकम बढेको बढ्यै जस्तो पनि बजार होइन । सेयर बजारमा जोखिम अनुसारको प्रतिफल पनि छ । प्रतिफलको आकार ठूलो छ ।

एउटा म्युचुअल फण्डले औषतमा वार्षिक ३२ प्रतिशतसम्म प्रतिफल दिएको छ । यति धेरै प्रतिफल बैंकमा राखेको रकमबाट पाइँदैन । बजारमा जोखिम भएपनि गुणात्मक प्रतिफल पनि लिन सकिन्छ । बजार जहिले पनि माथि नै उक्लिने हो । नेप्से सूचक २ सय, ७ सय, ११ सय, १८ सय र ३२ सय अंक सबैले देखेको छ । नेप्से ११ सय अंकबाट तल झर्दा लगानीकर्ता आत्तिए । बजारमा फसे भनेर सोचेका हुन सक्छन् । तर, नेप्से १८ सय, ३२ सय अंक पुग्दा त राम्रो नाफा पनि गरेका छन् नी । बजारमा होल्ड गर्याे भने लगानीकर्ताले कमाउँछन् ।

सिटिजन्स सुपर ३० म्युचुअल फण्डले कुन-कुन क्षेत्रमा लगानी गर्छ ?

यस म्युचुअल फण्डले इक्विटीमा ८० प्रतिशतसम्म लगानी गर्छ । बण्ड तथा ऋणपत्रमा १० प्रतिशत, एफडीमा १० प्रतिशत लगानी गर्ने योजना छ । यो भन्दा बाह्य क्षेत्रमा लगानी गर्न म्युचुअल फण्डलाई अनुमति पनि दिइएको छैन ।

सिटिजन्स सुपर ३० म्युचुअल फण्डले कमाएको नाफाबाट इकाईधनीहरुलाई कतिसम्म प्रतिफल दिन सक्छ ?

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको अवधि १० वर्ष हो । यस फण्डका इकाईधनीहरुलाई वार्षिक २०.४१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेका छौं । १० वर्षको अवधिमा १४.५१ रुपैयाँमा न्याभ हुने प्रक्षेपण छ । अहिले इकाईधनीहरुले १० रुपैयाँ लगानी गर्नु भएको छ भने प्रत्येक वर्ष २०.४१ प्रतिशत प्रतिफल दिन्छौं । १० वर्षपछि प्रतिइकाई १४.५१ रुपैयाँमा फिर्ता दिन्छौं । बजारको परिस्थती अनुसार राम्रो नाफा कमायो भने धेरै लाभांश पनि दिन्छौं ।

यसअघिका केही म्युचुअल फण्डले १० रुपैयाँ लगानीलाई २० रुपैयाँ रिटर्न दिने भनेका छन् । यो हेर्दा परिकल्पना गरेको जस्तै लाग्छ । किनभने १० वर्षमा न्याभ दोब्बर हुन्छ । हरेक वर्ष बजारमा बुल आएको देखिन्छ । तर, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको कल्पना गरेको छैन । वास्तविक प्रक्षेपण गरेर प्रतिफल दिने भनेको हो ।

पहिलो वर्ष १२ रुपैयाँ न्याभ हुनेछ भने अन्तिम वर्ष १४.४१ रुपैयाँ न्याभ हुनेछ । हामीले न्याभमा खेलेका छैनौं किनभने १० वर्षको अवधिमा बुल र वेयरिस दुवै आइरहन्छन् । अहिलेको सिनारियो हेर्दा पक्कै पनि बुल आउने देखिन्छ । त्यो बुल आएपछि सिटिजन्स सुपर ३० म्युचुअल फण्डको न्याभ १४.४१ रुपैयाँ सहजै पुग्छ । त्यसैले बजारमा भएका अन्य म्युचुअल फण्ड जस्तो सिटिजन्स सुपर ३० फण्डलाई डर छैन ।

यसअघि जारी गरेका म्युचुअल फण्डको अवस्था कस्तो छ ? ती म्युचुअल फण्डबाट कस्तो अनुभव बटल्नु भएको छ ?

७ वर्ष अवधिका सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ सञ्चालनमा छन् । सिटिजन्स म्युचुअल फण्ड–१ अर्काे वर्षको फागुनमा परिपक्व हुँदैछ भने सिटिजन्स म्युचुअल फण्ड–२ केही वर्ष बाँकी छ । सिटिजन्स म्युचुअल फण्ड–१ले हालसम्म ६२ प्रतिशत प्रतिफल दिइसकेको छ भने सिटिजन्स म्युचुअल फण्ड–२ ले ५० प्रतिशत प्रतिफल दिएको छ । समग्रमा हाम्रो फण्डको सेलेक्सन एकदमै राम्रो छ । बजारमा भएका म्युचुअल फण्डसँग तुलना गर्दा सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ टपटेन फण्डभित्र पर्दछन् । यो हाम्रो उपलब्धि हो ।

सिटिजन्स म्युचुअल–१ ले ७, १५ र ४० प्रतिशत लाभांश दिएको छ । ४० प्रतिशत प्रतिफलले २/३ वर्षको प्रतिफल कभर गरेको छ । त्यसैले हामीले प्रक्षेपण गरेको प्रतिफलभन्दा धेरै लाभांश इकाईधनीहरुलाई दिएका छौं । गत आर्थिक वर्ष २०७८/७९ मा पनि दुवै फण्डको २० प्रतिशतभन्दा बढी प्रतफिल दिन सक्ने क्षमता थियो । तर, न्याभले सपोर्ट नगरेका कारण दिन सकेनौं ।

लगानी गर्नको लागि अहिले कस्तो समय हो ? बजारलाई कसरी हेरिरहनुभएको छ ?

लगानी गर्नका लागि अहिले सुनौलो मौका हो । ४/१२ को सीमा, बैंकहरुको सीडी रेसियो टाइट, आयात निर्यातमा आएको गिरावट लगायतका कारण बजार ३२ सय अंकबाट तल झर्याे । बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन पनि आएको छ । तर, बजार १८ सय अंकभन्दा तल झर्न मानेको छैन । १८ सय अंक नै न्यूनतम विन्दु होकी भन्ने संकेत गरेको छ ।

विगत हेर्दा असारमा बजार बढेको देखिन्छ । किनभनेर असारमा सरकारको खर्च धेरै हुन्छ । साथै, राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा पनि केही सहजीकरण गर्ने आशा गरेका छौं । यसअघि कडाइ गरेका कारण कर्जा ग्रोथ हुन सकेन । कर्जा विस्तार गर्न राष्ट्र बैंकले सहज व्यवस्था गर्न सक्छ । यी सबै कारणहरु हेर्दा बजार माथि नै उक्लिन्छ ।

बजार उच्च हुँदा म्युचुअल फण्डले शतप्रतिसम्म लाभांश वितरण गरे । बजार घटेको बेला लाभांश नै वितरण गरेनन् । त्यसैले पनि बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता छ नी ?

म्युचुअल फण्डलाई सेयरसँग मात्रै तुलना गर्न मिल्दैन । सेयर खरिद गरेपछि घटबढ भइरहन्छ । तर, म्युचुअल फण्ड परिपक्व हुँदासम्म लगानी होल्ड गर्नुपर्छ भन्ने सोच बनाउनुपर्छ । हो, बजार बढ्दा म्युचुअल फण्डको न्याभ बढ्छ । किनभने म्युचुअल फण्डले पनि सेयर खरिद गरेका हुन्छन् । त्यसैले विगतमा परिपक्व भएका म्युचुअल फण्डहरुले राम्रो प्रतिफल वितरण गरेका छन् । घटबढ हुन बजारको सुन्दरता हो ।

हामी राम्रा ३० कम्पनी छनोट गर्छाै । ती ३० कम्पनीले गरेको ग्रोथले बजारको मूल्यसँग म्याच नगरेको हुन सक्छ । त्यसैलाई समातेर हामी अघि बढ्ने हो । बजार राम्रो लयमा आएपछि ती कम्पनीहरुको सेयर मूल्य पनि लयमा आउँछ । बजार बढेको बेलामा लाभांश धेरै आउने पक्कै हो । त्यो लाभांश उच्च मूल्य भएको बेला लगानी गरेको हुन्छ । दीर्घकालिन लगानीबाट आउने प्रतफिलमा लगानीकर्ताहरुले जोड दिनुपर्छ । लाभांश तलमाथि भएपनि न्याभ भने एकनाश नै रहन्छ ।

समग्र म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ?

सामूहिक लगानी कोषमा म्युचुअल फण्डलाई दिइएको ५ प्रतिशत कोटा हटाउने भनिरहेको छ । त्यो म्युचुअल फण्डलाई पहिलादेखि नै दिईएको अधिकार हो । जनताको फण्ड व्यवस्थापन गर्ने भएकाले त्यो सुविधा दिएको हो । यो एकैपटक हटाउन हुँदैन । यस विषयमा नेपाल धितोपत्र बोर्डसँग मर्चेन्ट बैंकका सीईओहरु छलफल गरिरहेका छन् ।

भारत, अमेरिका लगायत देशमा पनि म्युचुअल फण्डले बजारको जोखिमलाई कम गरेको देखिन्छ । लगानीको सुनौलो लहर म्युचुअल फण्ड हो भन्छन् । म्युचुअल फण्डमा स्टक डाइभर्सिफाइड हुन्छ । बजारमा जोखिम बढी भएपछि प्रतिफल पनि बढी हुन्छ । जति जोखिम कम भयो त्यति प्रतिफल पनि कम हुन्छ । म्युचुअल फण्डले जोखिमलाई मिनिमाइज गर्छ भने प्रतिफल माथि गर्छ । यसकारण पनि म्युचुअल फण्ड नेपालका लागि राम्रो नै छ ।

१० वर्षमा कति बुल आउन सक्छन् ?

बजारलाई विभिन्न उपकरणहरुले सपोर्ट गरेको हुन्छ । कसैले पनि ठ्याक्कै यहि हुन्छ भन्न सक्दैन । यो बजारको सुन्दरता हो । जसले राम्रो कमाएको छ, उसले गुमाएको पनि छ । त्यसैले बजारमा यो बेला के यो हुन्छ भनेर ठ्याक्कै भन्न सक्दैन । तर, हामीले विभिन्न विधि वा अनुसन्धान गर्दा अहिले खरिद गर्नुपर्ने समय हो भन्न सक्छौं ।

अहिलेसम्म म्युचुअल फण्डले सेयर बजारमा मात्रै लगानी गरेका छन् । यदि आगामी दिनमा बोर्डले अन्य क्षेत्र सुनचाँदी, घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्न अनुमति दियो भने राम्रो अवसर हुनेछ । जुन क्षेत्रमा लगानी गर्न अनुमति दिएपनि लगानीकर्तालाई धेरै प्रतिफल दिने हाम्रो लक्ष्य हुन्छ । यदि बोर्डले बाटो खुलायो स्वागत गर्छाैं ।

सिटिजन्स क्यापिटलले अन्य कुनै फण्ड ल्याउने योजना बनाएको छ ?

क्यापिटलले निकट भविष्यमा खुलामुखी योजना म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । खुलामुखी योजनामा पनि सुनौलो अवसर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.