यसरी घटाउन सकिन्छ बैंकहरूको खराब कर्जा

  २०८० वैशाख ११ गते १५:२८     पर्शुराम कुँवर

नेपालमा बैंक तथा वित्तीय संस्थाहरु धेरै भएका हुन् । कुनै समय वाणिज्य बैंकको संख्या ३२ वटा थिए । ३२ वटा बैंकले सबै ठाउँमा शाखा खोल्नका लागि कुनै एउटा ठाउँमा शाखा खोल्नै पर्ने हुन्छ । सबै ठाउँमा शाखा खोल्नु बैंकका लागि जरुरी पनि छ । देशको अर्थतन्त्रको आकार हर्ने हो भने एउटै स्थानमा ३२ वटै बैंकका शाखा आवश्यक पर्दैनन् । कुनै ठाउँमा त ३/४ वटा बैंकका शाखा कार्यालय एउटै भवनमा सञ्चालनमा भएका छन् । यो आवश्यक छैन । बङ्गलादेश, पाकिस्तान लगायतका देशहरुमा जनसंख्या र जीडीपीको आकार अनुसार धेरै बैंक छैनन् । नेपालको कूल अर्थतन्त्र ४० अर्ब डलर र ३ करोड जनसंख्या छ । त्यसैले धेरै बैंक तथा वित्तीय संस्था आवश्यक छैनन् ।

विकास बैंकहरु पनि वाणिज्य बैंक जस्तै हुन् । विकास बैंकहरुले पनि वाणिज्य बैंक सरह नै कारोबार गरिरहेका छन् । केही राष्ट्रिय स्तरका विकास बैंक नयाँ वाणिज्य बैंकभन्दा ठूला छन् । विकास बैंकको पूँजी ४ सय करोडभन्दा बढी पुगेको छ । विकास बैंकलाई पनि जोड्ने हो भने नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरु आवश्यक छैनन् । साथै, बैंक तथा वित्तीय संस्थाहरुले प्रविधि तथा विशेषज्ञतामा खर्च गर्न सकेका छैनन् । जति संख्या छन् सो अनुसारको योगदान पनि दिन सकेका छैनन् । कुनै एउटा सानो सहरमा पनि सबै बैंक तथा वित्तीय संस्थाहरुले शाखा कार्यालय मात्रै खोलेका छन् ।

जस्तो म्याग्दि, पर्वत, बागलुङ, तनहु, गोर्खा लगायतका क्षेत्रमा शाखा खोल्नु पर्याे भने पोखरामा शाखा नखोली हुँदैन । त्यसकारणले पनि मर्जर जरुरी पनि थियो । मर्ज भइरहेका पनि छन् । बैंक तथा वित्तीय संस्था मर्ज हुँदा साना संस्था पनि आवश्यक पर्छन् । साना संस्थाहरुमा लघुवित्त संस्थाहरु छन् । राम्रोसँग नियमन गर्ने हो भने सहकारी संस्थाहरु पनि छन् । अहिले सहरतिरका बचत सहकारीहरुले गडबड गरेका हुन् । तर, गाउँगाउँमा भएका वस्तुगत सहकारी संस्थाहरुले धेरै राम्रो काम गरेका छन् । गाउँमा भएका सहकारी संस्थाहरुलाई सहयोग र क्षमता विकासमा जोड दिनुपर्छ ।

सहकारी संस्थाहरु वित्तीय पहुँचका लागि पहिलो संस्था हुन् । दूरदराजका सर्वसाधारण जनताले सबैभन्दा पहिला वित्तीय सेवा सहकारी संस्थाबाट पाउँछन् । ती सहकारी संस्थाहरुलाई बैंकसँग जोडेर सहकार्य गर्न जरुरी छ । सहकारीहरुलाई गाउँगाउँमा काम गर्न पूँजी दिएर सहयोग गर्नुपर्छ । सहकारी संस्थाहरुको क्षमता वृद्धि गराउनु पर्छ । सहकारी संस्थाहरुलाई खातापातादेखि हिसाब किताब सबै गर्न सिकाउनुपर्छ । साथै, सहकारी संस्थाहरुलाई स्रोत साधनको प्रबन्ध व्यवस्था मिलाउनुपर्छ । यसरी सहकार्य गरेर अघि बढ्यो भने सहकारी संस्थाहरुले राम्रो गर्न सक्छन् । त्यसैले साना वित्तीय संस्थाहरुको आवश्यकतासँगै क्षमता अभिवृद्धि पनि गर्न जरुरी छ । तर, वाणिज्य बैंक र विकास बैंकहरु धेरै आवश्यक छैन ।

यसरी घटाउन सकिन्छ खराब कर्जा

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा दर बढेको छ । बैंकहरुको खराब कर्जा घटाउनका लागि अर्थतन्त्र ‘बाउन्स ब्याक’ हुनै पर्छ । अर्थतन्त्र राम्रो नहुँदासम्म खराब कर्जा दर घट्न सक्दैन । अर्थतन्त्र राम्रो हुनु भनेको ब्यापार व्यवसाय नै बढ्नु हो । अहिले उद्योगी व्यवसायीहरुको आत्मविश्वास तल झरेको छ । आत्मविश्वासलाई बढाउन जरुरी छ । मनोबल बढाउने प्रयास भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालिसकेको छ । अहिलेका अर्थमन्त्री पनि क्षमतावान हुनु हुन्छ । अर्थमन्त्रीको सल्लाहकारमा राम्रा विज्ञहरु नियुक्त हुनु भएकाे छ । त्यसैले केही न केही सुधार हुने अपेक्षा छ । जादुको छडी नभएपनि वर्षाैदेखिको संरचनात्मक समस्या हल गर्नुपर्नेछ । संरचनात्मक समस्या सुधार गर्न समय लागेपनि तत्काललाई विश्वास जगाउने काम भएको छ । सधैँ तरलता झर्ने मात्रै हुँदैन, माथि पनि बढ्छ । एकचोटी ‘डाउन’ गएपछि ‘अप’ हुनै पर्छ । कार्लमाक्सले पनि अर्थतन्त्र तलमाथि भइरहने बताएका थिए । त्यसकारण नेपाली अर्थतन्त्र आगामी दिनमा सुध्रिन्छ ।

अर्थतन्त्र सुधार नभएसम्म ऋण असुली हुँदैन । असारसम्म खराब कर्जामा सुधार हुन सक्छ । असारसम्म खराब कर्जामा सुधार नआएपनि नेपालको बैंकिङ्ग क्षेत्र त्यति धेरै ‘डाउन एण्ड आउट’ हुँदैन । यदि असारपछि पनि सुध्रिएन भने मात्रै समस्या आउन सक्छ । द्धन्द्धकालमा पर्यटन व्यवसायले धेरै दुख पाएको थियो । कुनै एउटा क्षेत्र खराब भयो भने अर्थतन्त्रलाई ठूलो असर पर्दैन । जस्तो पुर्वाधार, पयर्टन क्षेत्र । तर, बैंकिङ्ग क्षेत्र नै समस्यामा पर्याे भने अर्थतन्त्रमा ठूलो समस्या उत्पन्न हुन्छ ।

यदि बैंकले दिएका कर्जा असुली भएन भने बैंकहरु थप नयाँ कर्जा दिन उत्साहित हुँदैनन् । जस्तो कुनै ब्यापारीले पसल खोलेर बसेको छ । पसलमा उधारो धेरै गएको छ । तर, उधारो खाएको मान्छेले पैसा दिएको छैन भने थप उधारो दिन मान्दैन । बरु ब्यापार कम गर्छु उधारो दिँदैन भन्छ । उधारो नदिएका कारण ब्यापार हुँदैन भने नहोस् भन्छ तर फस्ने गरी ब्यापार गर्दैन । अहिले उद्योगी व्यवसायीहरुको आत्मविश्वास घटेको छ । अझै यस्तै अवस्था रहि रहने हो भने बैंकरहरुमा पनि आत्मविश्वास घट्न सक्छ । जब बैंकहरुले कर्जा नै दिएनन् वा कर्जा नै दिन चाहेनन् भने अर्थतन्त्र ‘ग्रोथ’ हुन सक्दैन ।

साना उद्यमी व्यवसायीले नबुझेको कारण आन्दोलन गरेको हो भन्न मिल्थ्यो । बैंकरहरुले बुझाउन सकेन । साना व्यवसायीहरुलाई बुझाउनु पर्याे भन्न मिल्थ्यो । तर, ठूला ब्यापारिक घरानाहरु नै सडकमा गएर आन्दोलन गरे । सडकमा आन्दोलन गरेपछि बैंकरहरु कर्जा दिन उत्साहित भएनन् । बैंकबाट कर्जा लिएर पछि तिर्दैन भन्न मिल्दैन । बैंकरलाई नै रातदिन सडकमा बसेर गाली गर्ने काम गरे । केही उद्योगी व्यवसायीहरुले त जिन्दगीभर बैंकलाई गाली मात्रै गरेका छन् । यस्तो अवस्था आएपछि आत्मविश्वास बढ्दैन ।

संस्थागतको ब्याजदर घटाउनु पाप 

बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउनु हुँदैन । अहिले पनि व्यक्तिगतभन्दा संस्थागत निक्षेपकर्तालाई २ प्रतिशत कम ब्याज दिइएको छ । यो गलत हो । कर्मचारी सञ्चय कोषमा कर्मचारीको पैसा छ । यदि कर्मचारी सञ्चय कोषको आम्दानी बढी भयो भने कर्मचारीले नै बढी पैसा पाउने हो । यसरी संथागत निक्षेपकर्ताको ब्याजदर घटायो भने सर्वसाधारणको गाँस नै काटेको देखिन्छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाको ब्याजदर कम गर्नु भनेको सर्वसाधारणको गाँस काटे सरह हो । जस्तो जीवन बीमा कम्पनीको आम्दानी बढ्यो भने बीमा गर्ने मान्छेले बढी बोनस पाउँछ । यदि बीमा कम्पनीको आम्दानी घट्यो भने बोनसदर पनि घट्छ ।

त्यसैले ब्याजदर निर्धारणको जिम्मा बजारलाई छोड्नुपर्छ । यदि संस्थाहरुको सबै पैसा लिएर एउटै ले चलायो भने उसैले ब्याजदर निर्धारण गर्छ । जस्तो भारतमा सञ्चय कोष जस्ता संस्थाहरुको सबै रकम सरकारले उठाएर ब्याज दिन्छ । सरकारी संस्थाको सबै पैसा सरकारले चलाउँछ । तर नेपालमा संस्थाहरुको रकम सरकारले लिँदैन । संस्थाहरुले बैंकमा रकम जम्मा राखेर ब्याज खाने हो ।

संस्थागत लगानीकर्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अन्य क्षेत्रमा लगानी गर्न पनि दिनु हुँदैन । यी संस्थाको अन्य क्षेत्रमा लगानी गर्ने क्षमता हुँदैन । वर्षाैंदेखि बैंकमा काम गरेका मान्छेहरुको त ढंग नपुगेर कर्जा डुबेको धेरै उदाहरण छन् । त्यसैले सरकारी संस्थाहरुलाई कर्जा दिने संस्था बनाउनु हुँदैन । जबरजस्ती कर्जा दिनुपर्छ, सम्पत्तिमा लगानी गर्नुपर्छ भन्न मिल्दैन किनभने उनीहरुसँग त्यो क्षेत्रमा लगानी गर्ने दक्षता नै हुँदैन । जस्तो संस्थाहरुलाई होटल बिजनेश चल्छ की चल्दैन भनेर जानकारी नै हुँदैन । किनभने उसको कोर बिजनेश त्यो होइन । यदि होटल, सम्पत्ति लगायत अन्य क्षेत्रमा लगानी गरेर त्यो रकम डुब्यो भने कसले व्यहोर्ने हो ?

संस्थाहरुले ठूलो रकम लगानी नगरेपनि लगानी गरेको केही रकम समस्यामा छ । कर्मचारी सञ्चय कोषले सोझै कर्जा दिएको धेरै कम छ । तर, जति कर्जा दिएको छ त्यसको केही प्रतिशत रकम समस्यामा परेको देखिन्छ । विगतमा सरकारी बैंकसँग मिलेर दिएको कर्जामा यस्तो समस्या देखिएको हो । अहिले निजी बैंकहरुसँग मिलेर दिएको कर्जामा खासै समस्या नपरेको हुन सक्छ । जस्तो तामाकोशीमा सञ्चय कोष लगायतका संस्थाहरुले लगानी गरेका छन् । वायु सेवा निगमलाई दिएको कर्जा कहिले तिर्ने हो अत्तोपत्तो छैन । तामाकोशीले लगानी फिर्ता गर्न सक्ने अवस्था छैन । आयोजनाको रेभिन्यू तिर्नै सक्दैन । सर्वसाधारण जनताको पैसा भएको सरकारी संस्थाहरुलाई जोखिम भएको क्षेत्रमा लगानी गर्न दिनु हुँदैन ।

यदि बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउँछन् भने त्यो सरासर गलत हो । नागरिक लगानी, कर्मचारी सञ्चय, सामाजिक सुरक्षा कोष, जीवन बीमा कम्पनी लगायत संस्थागत निक्षेपकर्ताको ब्याजदर र व्यक्तिगत ब्याजदर समान हुनुपर्छ । जस्तो दूरसञ्चार कम्पनीमा सर्वसाधारण जनताको सेयर छ । यदि दूरसञ्चार कम्पनीको आम्दानी घट्यो भने मर्का पर्ने सर्वसाधारणलाई नै हो । सर्वसाधारण जनता बोल्दैनन्, जुलुस निकाल्दैनन्, आन्दोलन गर्दैनन्, प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरसँग पहुँच छैन भन्दैमा गाँस काट्न पाउँदैन, मार्न पाउँदैन । यहि हो धर्म ? जनताको गाँस काट्ने काम गलत हो ।

(पूर्व बैंकर कुँवरसँग विकासन्युजका सीआर भण्डारीले गरेको कुराकानीमा आधारित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.