अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ, त्यसलाई थेग्ने हो : गभर्नर अधिकारी

  २०८० वैशाख १० गते १५:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उतारचढावलाई स्वीकार गर्दै व्यवसायी अघि बढेको उनले उल्लेख गरे । अर्थतन्त्रमा भएको असहजतालाई सहजीकरण गर्ने विषय राज्यले सोच्ने उनले बताए ।

‘अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ, त्यसलाई थेग्ने हो,’ उनले भने ।

गभर्नर अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताए । लगानीयोग्य रकम बढेकाले उद्योगीलाई ‘फाइनान्सियल रिसोर्स’ अभाव नहुने उनको भनाइ छ ।

‘तपाईंहरू चिन्ता नगर्नुस्, तपाईंहरू ठूला आयोजना निर्माण गर्नुस्, बैंकहरू लगानी गर्ने स्थितिमा छन्,’ उनले भने, ‘उत्पादनमूलक क्षेत्रमा लगानी बढोस् भन्ने हाम्रो लक्ष्य हो, त्यहीअनुसार नीतिमा सुधार हुन्छन् ।’

गभर्नर अधिकारीले बैंकहरूसँग २ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी रहेको बताए । अर्थतन्त्र बिग्रियो भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘अहिले जुन फाइनान्सियल तनाव थियो, त्यसमा क्रमशः सुधार हुँदै गएको छ, सीडी रेसियोबाट हेर्दा बैंकहरूसँग २ खर्ब लगानीयोग्य पुँजी छ,’ उनले भने ।

११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको पनि उनले बताए । उनले गएको वर्ष झन्डै अढाई खर्बभन्दा माथि डेफिसिट भएको बीओपी अहिले सहज स्थितिमा रहेको जिकिर गरे । उनले अहिले १४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको तथ्य प्रस्तुत गरे ।

उनले मासिक दशौँ अर्ब रुपैयाँको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने गरेको जानकारी दिए । यसले प्रविधिका क्षेत्रमा पनि महत्त्वपूर्ण सुधारको संकेत गरेको उनले बताए । उनले हाल कनेक्ट आईपीएसमार्फत मासिक ५० अर्बको र क्यूआरमार्फत मासिक २० अर्ब रुपैयाँको भुक्तानी भइरहेको जानकारी दिए ।

‘ई–कमर्स र डिजिटल पेमेन्टलाई सघाउ पुगोस् भनेर डलर कार्ड ल्याएका छौँ, धेरै मान्छेलाई फाइदा पुगेको छ,’ उनले भने ।

नेपालमा वैदेशिक लगानी भित्र्याउन आवश्यक प्रक्रिया समेत डिजिटल माध्यममा ल्याइएको उनले बताए । गर्भनर अधिकारीले ब्याजदर मात्र ठूलो समस्या नभएको बताए । उनले २०५६/५७ सालअघि कर्जाको ब्याजदर १६ देखि १८ प्रतिशत पुगेको स्मरण गरे ।

अहिले बजारमा वस्तुको माग घटेका कारण समस्या आएको उनले बताए । ब्याज भोलिको दिनमा घट्ने भन्दै उनले यसलाई समस्याका रूपमा नलिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.