निगमले माग्यो ऋणको ब्याज, हर्जाना र पेनल छुट

  २०८० वैशाख ७ गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको ब्याज, हर्जाना पेनल छुटका लागि लगानीकर्तासँग आग्रह गरेको छ ।
निगमले दुई थान न्यारोवडि र दुई थान वाईडबडी जहाज खरिद कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

तोकिएको समयमा ऋणको साँवा तथा व्याज भुक्तानी नगरेको निगमले हर्जाना र पेनल छुटका लागि आग्रह गरिएको जनाएको छ ।
निगमले बिहीबार जारी गरेको विज्ञप्ती अनुसार निगम व्यवस्थापनले लगानीकर्ता कोषलाई व्याज, हर्जाना र पेनल छुटका लागि पत्राचार गरिएको जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाइएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।’

निगमले जहाज खरिद गर्दा लिएको ऋणको सावाँ र ब्याज भुक्तानी गरिएको जनाएको छ । कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट दुई थान न्यारोवडि र दुई थान वाईडबडी जहाज खरिद गर्दा ऋण लिएको थियो ।

उक्त ऋणको साँवा र ब्याज वापत निगम व्यवस्थापकले चैत महिनामा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसंगै ऋणको सावाँ र ब्याज भुक्तानी गरिएको निगमले जनाएको छ ।

यसअघि निगमले असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुस महिनामा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैत महिनामा उक्त रकम भुक्तानी गरेको छ ।

२०७९ को चैत महिनासम्म निगमले २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ रकम भुक्तानी गरिसकेको छ ।

सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ थियो । तर पछिल्लो समय तोकिएको समयमा साँवा र ब्याज भुक्तानी नहुँदा उक्त ऋण ४० अर्बभन्दा बढी भैसकेको छ ।

दुई कोषले जहाज खरिद गर्दा ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्त तोकिएको थियो । निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर पछिल्लो समय निगमले तोकिएभन्दा न्यून रकम भुक्तानी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.