आरकेडी होल्डिंग्सले ७५ अर्ब लगानीमा रासायनिक मल उद्योग खोल्दै, कम्पनीले सेयर पनि बेच्दै

  २०८० वैशाख ७ गते ११:०८     विकासन्युज

काठमाडौं । रियल स्टेट तथा परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्दै आएको आरकेडी होल्डिंग्सले नेपालमा नै रासायनिक मलको उद्योग खोल्ने तयारी थालेको छ । विगत ८ वर्षदेखि रियल स्टेटको व्यवसाय गर्दै आएको कम्पनीले करिब ८० अर्बको लगानीमा नेपालमा नै अत्याधुनिक प्रविधियुक्त रासायनिक मल सहितका उद्योग खोल्ने तयारी गरेको हो ।

केही दिन अघि बसेको कम्पनीको छैठौं साधारण सभाले स्टिल तथा रासायनिक मल कारखाना खोल्ने प्रस्ताव पारित गरेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार साधारण सभाले स्वीकृति दिएसँगै अब उक्त दुई परियोजना निर्माणको तयारी सुरु भएको छ ।

‘हामीले स्टिल तथा रासायनिक मल सञ्चालनका लागि साधारण सभाबाट अनुमति पायौं, ठूलो परियोजना भएका कारण समय धेरै राखिएको हो, तोकिएको समयभित्र उत्पादन गरि सक्ने हाम्रो योजना हो’, उनले भने ।

नेपाललाई निर्यातमुखी र उत्पादनमुखी उद्योगको खाँचो देखिएको भन्दै कम्पनीले आगामी चार वर्षभित्र सञ्चालन गर्ने गरी स्टिल उद्योग स्थापना गर्ने तयारी गरेको हो । कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँको लागतमा उक्त उद्योग खोल्ने तयारी थालेको हो ।

यस्तै, ७५ अर्बभन्दा बढी लगानीमा पूर्ण इलेक्ट्रिक सिस्टममा आधारित पूर्णरुपमा स्वचालित अत्याधुनिक प्रकारको रासायनिक मल उत्पादन गर्ने तयारी थालेको हो । आगामी १० वर्षभित्र मल उत्पादन गरिसक्ने कम्पनीको तयारी छ । उक्त उद्योगबाट वार्षिक रुपमा ४ लाख मेट्रिकटन युरिया मल उत्पादन गर्नसक्ने तयारी भएको अध्यक्ष शर्माले बताए ।

नेपालमा वार्षिक रुपमा ८ लाख मेट्रिकटन भन्दा बढी युरिया मलको माग हुँदा आयातलाई निरुत्साहन गर्न नेपालमा नै रासायनिक मल उद्योग सञ्चालनको तयारी थालिएको उनको भनाइ छ । परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्ने र रियल स्टेट ब्यापार गर्ने उद्देश्य राखेर युवा व्यवसायीहरु मिलेर उक्त कम्पनी सञ्चालनमा ल्याएका हुन् ।

कम्पनीले हाल रियल स्टेट, पूर्वाधार, पर्यटन, होटल, साहसिक पर्यटन क्षेत्र तथा रोप–वे केवलकारको उद्योगहरु निर्माणको नेतृत्व गरिरहेको छ । कम्पनीले उक्त नीती अनुसार हाल सातै प्रदेशमा केबलकार सहितको तारे होटलहरु निर्माण गरिरहेको छ ।

उक्त समूहले बन्दीपुरमा ४ अर्बभन्दा बढीको लगानीमा ५ तारे होटल, केबलकार सहितको परियोजना निर्माण गरिरहेको छ । पाँचतारे होटल निर्माणको अन्तिम चरणमा पुगेको छ भने बैशाख महिनाभित्रै केबलकार सञ्चालनकोे तयारी भएको अध्यक्ष शर्माले बताए ।

यस्तै, आरकेडी होल्डिंसले नै रुपन्देहीको भैरहवामा लर्ड बुद्ध अन्तरास्ट्रिय टुरिजम गार्डेन निर्माणको काम गरिरहेको छ । यस्तै, ५ अर्बभन्दा बढीको लगानीमा तनहुँको आन्बुखैरेनिमाको खानिखोला देखि छिम्केश्वरी मन्दिरसम्म ३६ सय मिटर लामो केबलकार सहितको अत्याधुनिक सांस्कृतिक थिम पार्कको काम अगाडी बढाएको छ ।

पोखराको पंचासेमा ८ अर्ब लागत रहने गरी पर्यटन पूर्वाधारयुक्त केबलकार निर्माणको काम समेत अगाडि बढाएको छ । कम्पनीमा हाल ११ हजारभन्दा बढी लगानीकर्ता छन् भने २१ भन्दा बढी कम्पनी आवद्ध छन् ।

कम्पनीको नयाँ खाेल्न लागिएकाे २ वटा उद्याेगकाे ५१ प्रतिशत शेयर आरकेडि होल्डिग्सको नाममा राखेर बाँकी शेयर बिक्री गर्ने समेत निर्णय गरेको छ । उक्त शेयर बिक्रीबाट आएको रकम दुई ठूला परियोजना लगानी गर्नेगरी सभाले स्वीकृति दिएको हो ।

One comment on "आरकेडी होल्डिंग्सले ७५ अर्ब लगानीमा रासायनिक मल उद्योग खोल्दै, कम्पनीले सेयर पनि बेच्दै"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.