बढ्न थाल्यो भन्सार राजश्व, एक महिनामै थपियो ३३ अर्ब

  २०८० वैशाख ६ गते १६:५३     विकासन्युज

काठमाडौं । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको आयात प्रतिबन्ध हटेपछि पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको छ ।
गत माघदेखि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध, एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजश्वमा बृद्धि हुन थालेको हो ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालू आवको नौ महिनाको तथ्यांक अनुसार राजश्व संकलनमा बृद्धि भएको हो । गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्रै ३३ अर्ब ३२ करोड ९२ लाख २७ हजार रुपैयाँ बढीको राजश्व संकलन भएको हो ।

गत फागुन महिनासम्म भन्सारले २ खर्ब ४२ अर्ब ७२ करोड ४४ लाख ३२ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा २ खर्ब ७६ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको हो ।

भन्सार विभागका सूचना अधिकारी पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको बताउँछन् । ‘विभिन्न वस्तुको आयातमा लगाईएको प्रतिबन्ध हटेपछि त्यसको असर भन्सार राजश्वमा देखिन थालेको छ, विस्तारै राजश्व संकलन बढ्ने हाम्रो अनुमान छ’, उनले भने ।

चालू आवको नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत फागुन महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो ।

चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.