नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता, २१६ उद्याेग दर्ता

  २०८० वैशाख ६ गते १४:२३     विकासन्युज

काठमाडौं । नौ महिनामा करिब दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना गत साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ ।

चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि २५ अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।

यस्तै, नौ महिनामा दुई सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार चार सय ४६ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६४ करोड नौ लाख रुपैयाँ, भदौमा तीन अर्ब ४४ करोड ६५ लाख रुपैयाँ, असोजमा एक अर्ब ८५ करोड ४७ लाख रुपैयाँ र कात्तिकमा तीन अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस्तैगरी, मङ्सिरमा ८० करोड आठ लाख रुपैयाँ, पुसमा चार अर्ब ८५ करोड २० लाख रुपैयाँ, माघमा एक अर्ब ३९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनमा पाँच अर्ब ५३ करोड ५० लाख रुपैयाँ, भदौमा छ अर्ब ३२ करोड रुपैयाँ, असोजमा एघार अर्ब ९६ करोड पाँच लाख रुपैयाँ, कात्तिकमा ९८ करोड रुपैयाँ, मङ्सिरमा पाँच अर्ब १५ करोड ५१ लाख रुपैयाँ, पुसमा ६१ करोड २० लाख रुपैयाँ, माघमा ५३ करोड ९५ लाख रुपैयाँ र फागुनमा दुई अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ रुपैयाँ लाभाशंबापत रकम फिर्ताको सिफारिस भएको हो । विभागले नौ महिनामा रोयल्टीबापत दुई अर्ब ११ करोड ६ हजार छ सय ३४ रुपैयाँ, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर रुपैयाँ, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभाशंबापत तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई सय ३५ रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो ।

यस्तै, रोयल्टीबापत चैत महिनामा बीस करोड ६० लाख नौ हजार पाँच सय २६ रुपैयाँ, ७३ हजार तीन सय १३ अमेरिकी डबर रुपैयाँ, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले एक सय ६६ लगानीकर्ता, ४५ प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.