रूकुमका राजा, शहरका सर

  २०८० वैशाख ६ गते ११:१८     सन्तोष रोकाया

काठमाडौं । तत्कालीन माओवादी पार्टी र त्यसको नेतृत्वमा उठेको १० वर्षे जनयुद्द । त्यो जनयुद्दको उदगम स्थल हो रूकुम । यो हिसाबले पनि रूकुमको बेग्लै परिचय, परिभाषा र पहिचान छ ।

कुनै समय रूकुम एउटा राज्य थियो । पछि टुक्रियो । रूकुम, मुसिकोट, बाँफीकोट, आठबिस, जहारी, गोताम र खगेना जस्ता स–साना राज्यमा परिणत भयो रूकुम ।

बहादुर शाहको नायवी र रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविस कोट, बाँफीकोट, कोटजहारी नेपालमा गाभिए । वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरियो । पछि रुकुम सिंगो जिल्ला बन्यो ।

अहिले पुनः पश्चिम रूकुम र पूर्वी रूकुम गरेर दुई जिल्लामा परिणत भएको छ । देश परिवर्तनको एउटा सम्वाहक बन्ने अवसर रूकुमले पाएको छ । १० वर्षे जनयुद्धले नै पछिल्लो शाही शासनको अन्त्य गर्यो । अहिले देशमा गणतन्त्र छ । सबै समान हौं भन्ने भावना संविधानले समेटेको छ ।

तर, अतितलाई कसले पो भुल्न सकिन्छ र । १० वर्षे जनयुद्दमा ध्वस्त पारिएका तत्कालीन रूकुम राज्यका राजाका दरबारका अवशेषहरु अहिले पनि ठाडै छन् । संरचनाहरु स्वस्थ छैनन् । तर, मान्छेको मानसपटलमा भने ती संरचनाहरु ताजै छन् ।

तत्कालीन रूकुम बाँफीकोट राज्यका राजाका सन्तान हुन् अभिषेक बिक्रम शाह । उनको मानसपटलमा पनि केही सीमित घटनाक्रमहरुले राज गरेर बसेका छन् । त्यो आत्मिता, हार्दिकता । एक अर्काप्रतिको चिन्तन । सहयोगी भावना र मान–सम्मान । वाउ !

तर, अहिले एकअर्काप्रतिको हार्दिकता, सहयोगी भावना र मित्रता घटिसकेको बताउँछन् अभिषेक । अभिषेक विक्रम शाह रूकुमको बाफीकोटमै जन्मिए । सानो छँदा रूकुमको विरेन्द्र माध्यामिक विद्यालयमा पढे ।

बुबा निजामति सेवामा कार्यरत । बुबा जता सरुवा भयो, उतै पढ्न जानु पर्ने बाध्यता अभिषेकमा थियो । उनी सानै हुँदा सुदूरपश्चिमको बैतडीमा पनि पुगे । विद्यालय स्तरको पढाइ उनले बैतडी पुगेर गरे । पछि काठमाडौं आए । काठमाडौंमै पढाइलाई अगाडि बढाए ।

पढ्नमा औसत विद्यार्थी थिए अभिषेक । त्यतिबेला पढेपछि डाक्टर, पाइलट र सरकारी जागिरे बन्ने ‘ह्विम’ थियो । तर, उनले सजिलो बाटो समाते । पर्यटन क्षेत्रमै काम गर्ने सोच बनाए । उनले स्वविवेकले त्यही क्षेत्रसँग सम्बन्धित अध्ययन गरे । काम पनि सुरु गरे ।

अन्नपूर्णको क्यासिनोबाट काम सुरु

कक्षा १२ को पढाइ सकेपछि अभिषेकलाई पढ्न विदेश जाने रहर थियो । तर, उनी गएनन् । काठमाडौंमै पढे । त्यतिबेला नेपालको पर्यटनमा एक किसिमको आकर्षण थियो ।

‘राम्रो आथित्यता तथा सत्कार, काम पनि सजिलो, मलाई अब यो क्षेत्रमै काम गर्नु पर्छ जस्तो लाग्यो, अन्नपूर्ण होटलको क्यासिनोमा काम गर्न सुरू गरेँ, उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने,’ ‘त्यतिखेर घर परिवार र साथीहरुले गाली पनि गरे ।’

रूकुमेली राजाको सन्तान । बुबा निजामति कर्मचारी (सुधिरकुमार शाह) सहसचिव थिए । पछि निर्वाचन आयुक्त भएर रिटायर्ड भए । अंकल (सुरेश विक्रम शाह) डिआईजी । बुबा र काकाको सम्बन्धले पनि उनी जुनसुकै ठाउँ र क्षेत्रमा सजिलै काम पाउन सक्थे । तर, उनलाई आफ्नै मेहेनत र पौरखले काम गर्नु पर्छ भन्ने लाग्यो ।

अन्नपूर्ण होटलमा काम सुरू गर्दा धेरैले राजाको सन्तान किन होटलको भाँडा माझ्ने काममा लागेको भनेर गाली पनि गरेको उनी स्मरण गर्छन् । ‘म मेरो योजनामा अडिक थिएँ, काम सानो ठूलो हुन्न भन्ने कुरामा कन्भिन्स थिएँ, ठूलो लक्ष्य हासिल गर्न सानोबाट काम सुरु गर्नु पर्छ भन्नेमा विश्वास गर्थें,’ उनले भने ।

अन्नपूर्ण होटलको क्यासिनोमा काम गर्दै गर्दा उनी बिरामी भए । पछि काम नै छोडे । केही समयपछि सोल्टी होटलमा ट्रेनिङका लागि आवेदन खुल्यो । ट्रेनिङपछि काम पनि मिल्थ्यो । ट्रेनिङ पुरा गरे । र सोल्टी होटलमा फ्रण्ट अफिसरबाट काम सुरु गरे । त्यहाँ आफुले ५ वर्ष काम गरेको उनी सुनाउँछन् ।

सन् २००५ देखि २०१० सम्म उनले सोल्टी होटलमै काम गरे । त्यसपछि उनी सोल्टी छोडेर हायात पुगे । सोल्टी होटल छोडेर हायात जाँदा पनि उनले आफन्त र साथीहरुको गाली खानु पर्यो । तर, उनले केही वास्ता गरेनन् । त्यहाँ पनि साढे ४ वर्ष काम गरे । पुनः हायात छोडेर समिट होटलमा साढे २ वर्ष काम गरे ।

समिट होटलमा काम छोडेर उनी चन्द्रागिरि हिल्स पुगे । चन्द्रागिरि केबलकारको उनी महाप्रबन्धक बने । त्यतिखेर पनि उनका साथीभाइ र घरपरिवारले उनको आलोचना गरे । ‘चन्द्रागिरि किन गएको ? केबलकार बन्छ कि बन्दैन, कहाँ जंगलमा गएको ? भनेर धेरै मानिसहरु मसँग रिसाए, तर म काम गर्दै गएँ, चन्द्रागिरिलाई सफल प्रोजेक्टका रूपमा अगाडि बढाएँ,’ उनले खुसी हुँदै भने ।

चन्द्रागिरि हिल्समा गएको भनेर रिसाएकाहरुसँग भने अभिषेकको गज्जबको अनुभव छ । सुरूमा रिसाउनेहरु चन्द्रागिरि बनेपछि जागिर, टिकट लगायतका लागि सहयोग माग्ने गरेको उनी सुनाउँछन् । ‘सुन्न रमाइलो लाग्छ, अगाडि गाली गर्नेहरुको दृष्टिकोण पछि बदलिँदा खुसी मिल्दो रहेछ,’ उनले भने ।

मान्छेले सफलता र ग्रोथ हासिल गर्न जोखिम पनि लिन सक्नु पर्ने उनी बताउँछन् । ‘हिजो गालि गर्ने, आलोचना गर्ने मान्छेलाई नै आज सिकाउनु परेको छ, मान्छेले कम्फर्ट जाेन छोड्नु पर्छ, तब मात्रै करिअर बन्छ, रिक्स लिन सक्नु पर्छ,’ उनले भने, ‘मैले त्यही रिक्स लिएँ र अहिले यता छु ।’

जुँगा र महाप्रबन्धकको किस्सा

टाउकोमा ढाँकाको टोपी । रातो फ्रेमको चस्मा । गालामा दाह्रीजुँगा अनि चिटिक्क ‘गेटअप’ । हामीले अभिषेक विक्रम शाहलाई प्रश्न गरौं, ‘तपाईंको दाह्रीदेखि चस्माको फ्रेमसम्म बैंकर अनिल केशरी शाहसँग मिल्दोजुल्दो छ, तपाईं उहाँको अनुयायी हो, यो संयोग मात्रै ?’

उनले यसलाई अस्वीकार गरे । उनले यो आफुलाई सुहाउने र आफ्नो व्यक्तिगत शोख पनि भएको बताए । यो सँगै उनले अर्को गज्जबको किस्सा सुनाए । उनी चन्द्रागिरि हिल्सको महाप्रबन्धक थिए ।

केबलकार निर्माण गर्दा स्थानीयहरुले केही अवरोध गरे । एकदिन स्थानीयहरुले उनलाई भेट्न खोजिरहेका थिए । महाप्रबन्धक (जीएम) उनै शाह थिए । तर, स्थानीयले उनैलाई जीएमलाई बोलाउन भनिरहेका थिए । उनले आफु नै जीएम भएको बताए पनि उनीहरुले पत्याएनन् । पछि भित्र गएर ‘गेटअप’ चेञ्ज गरेपछि र केही कन्भिन्स गरेपछि उनीहरुले कुरा गर्न चाहे । कारण थियो कलिलो उमेर ।

उनी ३२ वर्षको उमेरमा चन्द्रागिरि हिल्सको जीएम बनेका थिए । त्यो घटनापछि उनलाई दाह्री जुँदा पाल्नु पर्दो रहेछ भन्ने महसुस भयो । ‘जीएम अर्थात् सीईओ या कुनै संस्थाको नेतृत्व गर्न दाह्री कपाल फुल्नै पर्छ भन्ने मानसिकता हामीमा छ, त्यसलाई काउन्टर दिन पनि मैले यो गरेको हुँ, दाह्री–जुँगा सुहाउने भएकोले पनि मैले नकाटेको हो, यसको छुट्टै चार्म छ, पहिचान पनि हुने भयो,’ उनले ठट्यौली शैलीमा भने ।

उनी अहिले ४० वर्षका भए । उनी अहिले होटल ले हिमालयनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा काम गरिरहेका छन् । उनलाई यो क्षेत्रमा काम गर्न थालेको दुई दशक बढी समय भइसकेको छ । उनी मुस्कुराउँदै भन्छन्, ‘अब ४० कटेसी रमाउँला भन्दा पनि ४० कटेसी झन नयाँ किसिमले दौडिनु पर्नेछ ।’

उनले सर्टिफाइड बिजनेस हस्पिटालिटी एडमिनेस्ट्रेसन (सीएचबिए) पनि पास गरेका छन् । यो टाइटल नेपालमा आफुले मात्रै लिएको उनी दाबी गर्छन् । उनी अब नयाँ जोस, जाँगर र शैलीका साथ काम गर्ने संकल्पमा छन् ।

नेपाली ब्राण्ड स्थापित गर्ने

सीईओ शाह अब नेपाली होटलहरुमा नेपाली ब्राण्ड नै स्थापित गर्नु पर्ने बताउँछन् । विदेशी चेन ब्राण्डलाई प्रोत्साहन गर्नेभन्दा पनि पर्यटकहरुले नेपाली स्ट्याण्डर्ड नै मन पराउने हुनाले अब नेपाली हस्पिटालिटी क्षेत्रमा नेपाली ब्राण्डको अभ्यास सुरू गर्नु पर्ने उनको भनाइ छ । त्यसका लागि आफुहरुले अभ्यास सुरू गरिसकेको उनी बताउँछन् ।

‘अब हामीले नेपाली ब्राण्डलाई स्थापित गर्नु पर्नेछ, विदेशी चेन ब्राण्ड आएर करेन्सी लिएर जान्छन्, हाम्रो आफ्नै आतिथ्यता छ, विदेशी आएर हामीसँग सिकेर जान्छन्, हामी विदेशी अभ्यास सुरु गर्छौं, हामी अहिले आफ्नै हस्पिटालिटी ब्राण्ड बनाउने प्रयासमा छौं, होटलमा नेपाली जीएम, नेपाली खाना, नेपाली स्ट्याण्डर्ड बनाउन सकिन्छ, नेपालमा आउने पर्यटकले यहाँकै आथित्यता चाहिन्छ, आफ्नोपनलाई प्रमोट गर्न आवश्यक छ, सोही ढंगले हामी काम गरिरहेका छौं,’ उनले भने ।

यस्तै, उनले पर्यटकीय गन्तव्रयहरुको प्रचारप्रसार गरेर काम गर्नु पर्ने आवश्यकता रहेको पनि बताए । उनी अब आफु यही क्षेत्र पृथक र सिर्जनशील भएर काम गर्ने बताउँछन् ।

रूकुमलाई फर्केर हेर्दा

अभिषेक बिक्रम शाह कहिले काहीँ रूकुम जान्छन् । आफ्नो पुर्खाहरु बसेको बाफीकोट दरबार नियाल्छन् । कहिलेकाहीँ उनलाई लाग्छ, ‘यो दरबार पुनर्निर्माण गर्न कति खर्च खर्च लाग्ला ?’ ‘अझ उनी आफ्नै मन बुझाउँछन्, पुरानो दरबार जस्तो बनाउन सकिँदैन, सामान पनि पाइँदैन ।’

शाहले स्केचमा तयार पारेको बाँफीकोट दरबार ।

उनलाई अझै पनि रूकुमा पाइने सम्मान ताजै छ । जसरी उनका पुर्खाले पाउँथे । ‘शहरिया सर र रूकुमको राजा भाषा उस्ता उस्तै हुन्, यी दुवै सम्मानित भाषा हुन्, यसलाई म सम्मानको रूपमा लिन्छु, पहिला ठकुरी भाषालाई सामन्ती भन्थे, खाना मिठो थकालीको, भाषा मिठो ठकुरीको भनिन्छ नी, उनले स्पष्ट पार्न खोज्दै भने, ‘अहिले सबैलाई यही भाषा चाहिएको छ ।’

उनी रूकुमलाई पर्यटकीय हिसाबमा चिनाउन चाहन्छन् । भत्केका दरबारहरुलाई संग्राहलय बनाउन चाहन्छन् । तर, यसमा सरकारको साथ आवश्यक छ । ‘ऐतिहासिक धरोहरको भ्यालू छ, त्यो क्षति देशको लागि पनि नोक्सान हो, यसलाई पुर्ननिर्माण गर्नतर्फ सरकार अग्रसर हुनु पर्ने उनको भनाइ छ ।

रूकुम प्राकृतिक दृष्टिकोण र पर्यटकीय सम्भावनाले पनि भरिभराउ भएकोले त्यसको प्रचारप्रसार तथा प्रमोटका लागि आफु लागि पर्ने बताउँछन् । अहिले पनि रूकुममा ओझेलमा परेका धेरै ठाउँ भएकोले त्यसको प्रचार प्रसार गर्न आवश्यक छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेज्मेन्टबाट स्नातक तह पुरा गरेका शाह बढी घुमघामा रुचाउँछन् । उनको शोख भनेको ‘एयर गन सुटिङ’ हो । फुर्सदमा उनी सुटिङको अभ्यास गर्छन् । विभिन्न समयमा उनी पर्यटन क्षेत्रमा पुर्याएको योगदान स्वरुप सम्मानित हुँदै आएका छन् ।

गत फागुनमा पनि उनलाई सगरमाथा प्रतिष्ठान नेपालले सम्मान गरेको थियो । अघिल्लो वर्ष पनि बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा मत्वपूर्ण योगदान पुर्याएको भन्दै शाहलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.