चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

  २०८० वैशाख ५ गते १४:३९     विकासन्युज

काठमाडौं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहँदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरु कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ ।

त्यो क्षेत्रमा भोलि ‘डेडिकेडेट’ बस लेन वा अरु कुनै प्रयोजनका लागि प्रयोग गर्न सकिने विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । अहिले सडक सुरक्षाको पनि काम गर्छ भनेर कम्तीमा तीन मिटर राख्न लागिएको हो । त्योभन्दा दायाँबायाँ चार–चार लेनको सडक हुने र छेउछेउमा पैदल यात्रुका लागि हिँड्ने मार्ग बनाउन लागिएको उनले बताए । पैदल यात्रु मार्गभन्दा मुनि ‘युटिलिटि करिडोर’ राख्ने गरी छलफल भइरहेको छ ।

उनले भने, ‘पैदल यात्रु मार्ग छेउमा ग्रीन बेल्ट बनाउने र त्योभन्दा पनि छेउमा सर्भिस लेन बनाउने गरी छलफल भइरहेको छ ।’ सडकको बीचको भाग ३८ मिटरमा चार लेनसहितको सडक र पैदलयात्रु मार्ग निर्माण हुनेछ ।

भविष्यमा कुनै पनि सुधार, विस्तार, चुस्त सडक व्यवस्थापनका लागि चाहिने संरचना बनाउनका लागि अहिले बनेको संरचनालाई बाधा नपर्ने गरी डिजाइन गर्नुपर्छ भनिएको महानिर्देशक ढकालले बताए । चक्रपथको पहिलो खण्ड कोटेश्वरबाट कलङ्कीसम्मको सडकमा निर्माण सम्पन्न भएको केही वर्षमा नै कहिले आकाशे पुल त कहिले ‘फ्लाई ओभर’ निर्माणका लागि संरचना बिगार्नु परेको छ ।

कलङ्कीदेखि बसुन्धारासम्मको सडक चीन सरकारले निर्माण गर्ने गरी फाइनल डिजाइनको क्रममा छ । आवश्यक स्थानमा संरचना निर्माण अहिले भर्खरै चिनियाँ पक्षले नगरेपनि भविष्यमा बनाउन सकिने गरी डिजाइन गर्ने सहमति भएको छ । उनले भने, ‘उसको डिजाइनमा हुन्छ र खर्च सरकारले गर्ने गरी छलफल भइरहेको छ ।’

यो खण्डमा ‘फलाई ओभर’ लगायतका संरचना नबन्न सक्ने उनले बताए । उनले भने, ‘चाहिने नै ठाउँमा पछि पनि बनाउन सकिन्छ ।’ ‘सर्भिस लेन’को सवारीसाधन मुख्य लेनमा नआउने गरी डिजाइन गर्न लागिएको विभागले जनाएको छ ।

चक्रपथको पहिलो खण्डमा चीन सरकारले जम्मा तीन आकाशे पुल निर्माण गरेको थियो भने सरकारले पछि छ आकाशे पुल निर्माण गरेको थियो । दोस्रो खण्डमा यात्रुलाई सडक पार गर्न कुन संरचना ठीक हुन्छ भनी छलफल भइरहेको छ ।

चक्रपथको पहिलो खण्डभन्दा डिजाइनका हिसाबले दोस्रो केही फरक बन्न सक्ने देखिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए । पहिलो खण्डमा बीचमा दुईवटा आउने र दुई वटा जाने गरी चार लेन थियो । बीचमा दुबैतर्फको सडक र दायाँबायाँ लाग्न सर्भिस लेन थियो । अहिले एकातर्फबाट आउने र अर्को तर्फबाट जाने मात्रै गर्न छलफल भइरहेको छ ।

उनले भने, ‘पहिले बीचको लेनका कारणले गर्दा दुर्घटना बढाएको भनेकाले अहिले बीचको हटाएर एकातिरबाट जाने चार लेन र अर्कातर्फबाट फर्कन चार लेन बनाउन छलफल भइरहेको छ ।’ निर्माणस्थल खाली हुँदै गर्दा चिनियाँ पक्षले निर्माणका लागि छलफल अघि बढाएको हो ।

अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झण्डै ८० प्रतिशत खाली गरिएको छ । पहिले चावहिल नजिकै धोबीखोलासम्म विस्तार गर्ने योजना बनाइएको भए पनि निर्माणस्थल खाली गर्न नसकिएकाले कलङ्कीबाट बसुन्धारासम्म मात्रै विस्तारको योजना अघि बढाइएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.