जनताको घर खाली, सरकारको ढुकुटी खाली

  २०८० वैशाख ३ गते ११:२४     रामकृष्ण पौडैल

विक्रम सम्वत् आधारमा नेपाल २०८० को दशकमा प्रवेश गरेको छ । सत्तरीको दशकमा नेपालले केही ठूला उपलब्धि पनि हासिल गर्यो भने धेरै ठूला क्षति पनि बेहोर्यो । संविधानसभाबाट संविधान, संघीय गणतन्त्र नेपालको घोषणा र कार्यान्वयन सत्तरीको दशकको राजनीतिक उपलब्धि हो । लोडसेडिङको अन्त्य, आम नेपालीमा वित्तीय क्षेत्रको पहुँच र सञ्चार क्षेत्रको पहुँच विस्तार यो दशकको आर्थिक सामाजिक क्षेत्रमा भएको स्मरणीय विकास हो । गोर्खा भूकम्प, नाकाबन्दी, विश्वव्यापी कोभिड-१९ महामारी, रुस-युक्रेन युद्धको प्रभाव नकारात्मक तर दशककै अविस्मरणीय घटना रहे ।

२०७० को दशकमा भएका राजनीतिक, सामाजिक, आर्थिक विकासका आधारमा यति भन्न सकिन्छ कि २०८० को दशकमा नेपालको जनसंख्या घट्नेछ । जन्मदर नघट्ला तर नेपाल छोडेर विदेशमा स्थायी बसोबास गर्ने नेपालीको संख्यामा ठूूलो वृद्धि हुनेछ । काम गर्ने वर्गले देश छोड्नु नै २०८० को दशकको सबैभन्दा ठूलो समस्या हुनेछ । नागरिकता सम्बन्धि खुकुलो कानुन बन्यो र लाखौंको संख्यामा भारतीयहरुले नेपाली नागरिकता लिए भने नेपालको जनसंख्या वृद्धि हुन पनि सक्छ । तर त्यो देशको राजनीतिक स्थायीत्व, सार्वभौम सत्ताको सुरक्षा र अखण्डताको हिसावले ज्यादा जोखिमपूर्ण हुनेछ ।

राजनीतिक दलको सोच र संस्कारमा सुधार आएन भने गणतन्त्र जोखिममा पर्छ । संघीय शासन प्रणाली जोखिमतर्फ धकेलिएको छ । सरकारको राजश्व आम्दानीले साधारण खर्च नधान्ने संकेत चालु आर्थिक वर्षको तथ्याङ्कले गरेको छ । राजनीतिक नियुक्तीका पदाधिकारीहरुको संख्या र सुविधा कटौति नगर्ने हो भने, सरकारी कर्मचारीहरुको संख्या र सुविधा कटौति नगर्ने हो भने, वृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता नीति खारेज नगर्ने हो भने सरकारले विकास निर्माणमा खर्च गर्न सक्दैन । २०८० को दशकमा सरकारलाई आम्दानी र खर्चबीच सन्तुलन कायम गर्नु दोस्रो ठूलो समस्या हुनेछ ।

कृषिको आधुनिकीकरण र औद्योगिक विकासमा सरकार र निजी क्षेत्र दुबै चुकेका छन् । २०८० को दशकमा पनि वस्तु तथा सेवाको उत्पादनमा व्यापक वृद्धि हुने, आयात प्रतिस्थापन हुने वा निर्यात वृद्धि हुने आधार बनेको छैन । यसको परिणाम देशको वैदेशिक व्यापार घाटा अझै बढ्ने छ । २०६० र २०७० को दशकमा वैदेशिक रोजगारीमा जानेको संख्या भन्दा सीमापारको शिक्षामा जाने नेपालीको संख्या कम थियो तर २०८० को दशकमा भने यो तथ्याङ्क उल्टो हुनेछ । वैदेशिक रोजगारीमा जानेको संख्या भन्दा पढ्नको लागि विदेश जानेको संख्या बढ्ने छ । त्यसले रेमिट्यान्स आय घटाउने छ । मुलभूत यी दुई कारणले विदेशी मुद्राको व्यवस्थापन सरकारको लागि तेस्रो ठूलो चुनौति हुनेछ ।

उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थी लहडको असरले निजी क्षेत्रको लगानीमा खुलेका नेपालका कलेजहरुको लागि २०८० को दशक सकसपूणर् हुनेछ । विद्यार्थीहरु भिषा लिएर नेपाल छाड्नेको संख्यामा उछाल आउँदा नेपालको उच्च शिक्षा प्रणाली उच्च जोखिमा पर्नेछ । युवा पलायनले शैक्षिक, आर्थिक, सामाजिक क्षेत्रमा ठूलो असर पारेपछि सरकारले सीमापारिको उच्च शिक्षामा राखेको अहिले जस्तो खुकुलो नीति कसिलो बनाउन पनि सक्छ ।

२०६० र २०७० को दशकमा वैदेशिक रोजगारीमा पुगेका लाखौं नेपाली २०८० को दशकमा वृद्ध र रोगी भएर नेपाल फर्कने छन् । यसले स्वास्थ्य सेवा क्षेत्रको व्यापार त वृद्धि गर्ला तर देशको उत्पादकत्वमा ऋणात्मक असर पुर्याउने छ । युवा पुस्ता विदेशमा हुनु र वृद्धवृद्धा तथा रोगीको संख्या देशमा वृद्धि हुनुले २०८० को दशकमा व्यवसायिक रुपमा वृद्धवृद्धा हेरचाह सेवा व्यवसायले स्पष्ट आकार लिन सक्छ ।

२०७० को दशकमा सामाजिक सञ्जालको प्रयोगले नेपाली समाजको उत्पादकत्वमा ठूलो गिरावट आएको छ । २०८० को दशकमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग र दुरुपयोगले हंगामा ल्याउन सक्छ । डिजिटली राखिएका डाटाको असुरक्षा र दुरुपयोग गम्भिर समस्याको रुपमा आउनेछ । यसले सरकार र निजी क्षेत्र सबैको टाउको दुखाउनेछ । नेपालको श्रम बजारमा बेरोजगारी पनि बढ्ने र श्रमिकको तलव पनि उच्च दरले बढ्ने सम्भावना छ । क्षमतायुक्त व्यक्तिलाई विदेश जानबाट रोक्नका लागि पनि नेपालका कम्पनीहरुले उच्च तलव दिनैपर्ने हुन्छ । तर २०७० को दशकमा सामाजिक सञ्जालको लतमा फसेर स्कूल तहको शिक्षामै कमजोर भएका धेरै युवाले देश/विदेशमा काम नपाउने र बेरोजगारी बढ्ने जोखिम पनि उत्तिकै छ ।

असीको दशकमा अर्को एउटा फरक सामाजिक विकासका दृष्यहरु देखिनेछन् । सत्तरीको दशकमा देखिएको कृषियोग्य जमिन बाँझो हुने क्रम अझ बढ्नेछ । ग्रामीण क्षेत्रका वस्तीहरु पुरै खाली भएको समाचारहरु श्रव्यदृष्यसहित आउनेछन् । भाडा खाने उद्देश्यले बनेको सहरका आवासीय घरहरु ठूलो संख्यामा खाली हुनेछन् । त्यसले घर र जग्गा जस्ता स्थीर सम्पत्तिप्रति मानिसको मोह कम गराउने छ । स्थीर सम्पत्ति भन्दा छिटो नगदमा रुपान्तरण गर्न सकिने प्रकृतिको सम्पत्तिमा मानिसको आकर्षण र लगानी बढ्नेछ ।

भूकम्प, नाकाबन्दी, संक्रामक महामारी, अति वर्षा, सुख्खा खडेरी जस्ता विपत्ती र अन्तर्राष्ट्रिय सम्बन्धमा आउने परिवर्तन र त्यसले नेपालमा पार्ने असरको भविष्यवाणी गर्न सकिँदैन । २०८० को दशकमा संघीयताको सफल कार्यान्वन होला, राजनीतिक संस्कारमा सुधार आउला भनेर आशा त गर्न सकिन्छ तर विश्वास गर्न चाहिँ सकिँदैन । ठूला राजनीतिक दलहरु कामजोर हुँदै जाने, साना र अस्थिरलाई मलजल गर्ने शक्तिहरुको भूलभूल आउने, २०७२ सालको संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता असीको दशकमा खारेज नै हुनसक्ने जोखिम पनि देखिन्छ, भलै त्यो राजनीतिक हिसावले पश्चगामी विकास हुनेछ ।

२०८० को दशक जस्तो भएपनि २०८० मै भने नेपाल शान्त र स्थीर हुनेछ । यो वर्ष सरकार परिवर्तन हुने छैन । स्थानीय तहको निर्वाचन, प्रदेश तथा केन्द्रको निर्वाचन, राष्ट्रपतिको निर्वाचनदेखि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समेत २०७९ मा सकिएका छन् । सबैतिर नयाँ नेतृत्व आएकोले २०८० मा ठूला निर्वाचन हुने छैनन् । राजनीतिक रुपमा स्थीरता देखिए पनि गठबन्धनभित्र हुने किचलो र आर्थिक संकटमा फसेको सरकारबाट ठूलो अपेक्षा गर्न भने सकिंदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.