राजश्व वृद्धि गर्न सके मात्र सामाजिक सुरक्षामा खर्च गर्न सकिन्छ : अर्थमन्त्री

  २०७९ चैत २६ गते १८:३१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजश्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताएका छन् । आईतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

‘सामाजिक सुरक्षा भत्तामा गरिबीको रेखामुनी रहेकाहरुलाई राज्यले सहयोग गर्ने उद्देश्यले विगतदेखि निरन्तरता दिएको सामाजिक सुरक्षा भत्ता देशको साधन स्रोत बिना सकिन्न,’ उनले भने ।

मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको बताए । ‘चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था छैन, मुलुकको राजश्व संकलन भन्सारमा निर्भर छ, यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन सकेन,’ उनले भने ।

सरकार साधारण खर्च धान्न आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर भएको बताउँदै उनले यस्तो गर्न उपयुक्त नभएको बताए ।

यस्तै, उनले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन् ।

‘अर्थतन्त्रमा देखिका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन म लागि रहेको छु, समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ,’ उनले भने ।

उनले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.