क्षितिज प्राइमरी स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न

  २०७९ चैत २६ गते १५:१५     विकासन्युज

काठमाडौं । काठमाडौंको लामपाटी, कलंकीमा सञ्चालनमा रहेको क्षितिज प्राइमरी स्कुलले सातौं वार्षिक अभिभावक दिवस सम्पन्न गरेको छ । आज काठमाडौंमा एक समारोहको आयोजना गर्दै स्कुलले अभिभावक दिवससँगै नयाँ विद्यार्थीलाई स्वागत र कक्षा तीनमा उत्तिर्ण भएका विद्यार्थीलाई विदाई गरेको छ ।

कार्यक्रममा बोल्दै स्कुलकी प्रिन्सिपल रमिला श्रेष्ठले ‘शिक्षा भनेको विश्वमा परिवर्तनका लागि सबैभन्दा शक्तिशाली हतियार भएको’ र आफ्नो स्कुलले राम्रो संस्कार सहितको शिक्षा दिन प्रयास गरिरहेको बताइन् । उनले एउटा बच्चालाई पूर्ण बनाउन उसको ‘होलिस्टिक’ विकासको लागि काम गरिरहेको बताइन् ।

प्रिन्सिपल श्रेष्ठका अनुसार यस वर्षबाट प्रभावकारी अध्ययनको लागि स्कुलले भिजुअल क्लासको पनि शुरु गरेको छ । उनले अभिभावकहरुले दिनमा एक घण्टा बच्चाहरुलाई राम्रो समय उपलब्ध गराउन आवश्यक रहेको समेत बताइन् ।

विद्यार्थीले राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रमको प्रमुख अतिथि सानु अमात्यले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी, कक्षा एक, कक्षा दुई र कक्षा तीनका विद्यार्थीहरुले विभिन्न प्रकारका नाच तथा प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, अभिभावक प्रतिनिधि र विद्यार्थी प्रतिनिधिले आफ्नो तर्फबाट मन्तव्य राखेका थिए भने स्कुलले विद्यार्थीहरुलाई विभिन्न किसिमका मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो ।

नयाँ शैक्षिक सत्रसँगै स्कुलले प्ले ग्रुप, नर्सरी, कक्षा एक, दुई र तीनमा नयाँ भर्ना पनि खुलाएको छ । ७ वर्षदेखि सञ्चालन हुँदै आएको सो स्कुलमा कक्षा तीन सम्म मात्रै अध्ययन हुने गर्छ । पछिल्लो समयमा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको स्कुलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.