अनुसन्धान प्रतिष्ठान र घरेलु उद्योगबीच सहकार्य, ईको सिस्टम विकास गरी उत्पादकत्व बढाउने

  २०७९ चैत १९ गते १६:४१     विकासन्युज

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य भएको छ । उद्योग विकासको लागि ईको सिस्टम विकास गरी उद्योगको उत्पादकत्व बढाउने विषयमा दुई संस्थाबीच सहकार्य भएको हो ।

महासंघ र प्रतिष्ठानले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सो विषयमा सम्झौता गरेका हुन् । कार्यक्रममा उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरूको इकोसिस्टम विकास गरी सफल उद्योग बनाउने पाइलट परियोजना सञ्चालन गर्नको लागि पनि यो सहकार्य आवश्यक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गरीले बताए ।

‘अहिले साना तथा घरले उद्योग लगभग ६ लाख दर्ता भएका छन्, तर नवीकरण भने ५ लाख भन्दा कमले गरेका छन्, नवीकरणको लागि छुट दिएता पनि आएनन्, नवीकरण गर्नेको संख्या घट्नु आफैमा नराम्रो कुरा हो, हिजो हामीले सञ्चालन गरेका कार्यक्रम कतिको प्रभावकारी भए अब फर्किने बेला आएको छ,’ उनले कार्यक्रममा बोल्दै भने ।

महासंघ र प्रतिष्ठान मिलेर देशमा औद्योगिक सम्बन्ध र उद्यमशीलता प्रवर्द्धन गर्न पहल गरी औद्योगिक वातावरण प्रवर्द्धन गर्न नीति अनुसन्धानमा कार्य गर्नको लागि पनि यो सहमती भएको हो । औद्योगिक सम्बन्ध विकासका लागि व्यवसायिहरुको इकोसिस्टम विकास गर्ने क्षेत्रमा सहकार्य गर्ने बताइएको छ ।

के-के मा भयो सहमति ?

-उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरूको इकोसिस्टम विकास गरी उत्पादकत्व बढाउने क्रममा नेपाल सरकारका निकायहरू तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय निकाय संघ संस्था तथा मञ्चहरूमा प्रतिष्ठान र महासंघले एक अर्काको उपस्थितिलाई सफल बनाउन प्रयत्न गर्नेछन् ।

-महासंघ र प्रतिष्ठानले उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको व्यवसाय प्रवर्द्धन र सम्वर्द्धनका लागि थप कार्य योजना निर्माण गरी योजनाबद्ध रूपमा कार्य गर्नेछन् ।

-उत्पादनमूलक, कृषि, डिजिटल सेवा र अन्य सेवा क्षेत्रका उद्यमीको व्यवसाय विकास र प्रवर्द्धन गर्ने क्रममा दुवै पक्षले आफूसँग भएको विज्ञता, श्रोत, साधन र जनशक्ति परिचालन गर्नेछन् ।

-उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिस्टम विकास गरी उत्पादकत्व वृद्धि गर्ने क्रममा इन्टरभेन्सनको रूपमा हाललाई कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगहरू बिचको इकोसिस्टम विकास गर्न पहल गर्दै प्रत्येक प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा तीन क्षेत्रका २-२ वटा कम्पनीको छनौट गरी ७ वटा प्रदेशका ४२ वटा कम्पनीको इकोसिस्टम विकास गर्न कार्य गर्ने ।

-माथि बुँदा ४ मा उल्लेख भएका कम्पनीहरू बिच उत्पादकत्व वृद्धिका लागि इकोसिस्टम विकास गर्न आधारभूत सर्वेक्षण गरिने कम्पनीहरूको सूची महासंघले तयार गर्नेछ ।

-अनुसन्धान गर्ने तथा आवश्यक रणनीति बनाउने कार्यको नेतृत्व प्रतिष्ठानले गर्ने ।

-आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय तहका तीन वटै सरकार र विकास साझेदार तथा दातृ निकायहरू सँगको छलफल, लबिङ र नयाँ परियोजना प्राप्त गर्न वा भइरहेका परियोजनालाई सहयोग जुटाउन दुवै पक्षले संयुक्त पहल गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.