विद्यार्थीलाई भयरहीत रुपमा परीक्षा दिने व्यवस्था मिलाएका छौँ : परीक्षाकेन्द्र प्रमुख महर्जन

  २०७९ चैत १७ गते १०:५०     विकासन्युज

काठमाडौं । आजबाट माध्यमिक शिक्षा परीक्षा शुरु भएको छ । आज बिहान ८ बजेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको छ। पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ।

आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कुल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । यस वर्षको एसइईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहेपनि  कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार २ सय २७ जना भएका थिए । नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ जना छोराछोरीले जापानबाटै परीक्षा दिँदैछन् । परीक्षामा सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिव १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार ९ सय ८२ विद्यार्थी र ५०  दृष्टिबिहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

परीक्षा शुरु भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौंको टेकुस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयकी परीक्षाकेन्द्र प्रमुख रविना महर्जनले परीक्षाकेन्द्रमा सबै विद्यार्थीलाई भयरहीत वातावरणमा परीक्षा दिने व्यवस्था मिलाउन निर्देशन दिएको बताइन् । उनले परीक्षा केन्द्रका रुपमा बिहीवार नै सबै तयारी सकेकाले आज समयमा नै परीक्षा शुरु भएको बताइन् ।

यस वर्ष ७ हजार २ सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् । एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए । चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.