अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ : प्रधानमन्त्री दाहाल

  २०७९ चैत १६ गते १४:१२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ भने ।

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।’

सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।’ बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्व बोकेको उनले बताए ।

यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको बताए । उनले भने, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्वका साथ छलफल गर्नेछु ।’

लुम्बिनी विमानस्थलका विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने उनले बताए । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्वका साथ अघि बढाएको उनको भनाइ छ । द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताए ।

चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै उनले त्यहाँबाट समेत छिट्टै उडान हुने बताए । उनले भने, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो ।’

विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रुपमा काम गर्ने उनको विश्वास थियो । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको व्यारेकलाई भरतपुर महानगरपालिका–१ स्थित दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उहाँले स्थानान्तरणका लागि एक दुई दिनमा सहमति हुने बताए ।

फरक प्रसङ्गमा उनले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण चाँडै सुरू हुने जानकारी दिए । रङ्गशालाको समस्या एक दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने उनले बताए । उनले भने, ‘त्यो रङ्गशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण् अगाडि बढ्छ ।’

नयाँ ट्रमिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको थियो । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एशियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइएको थियो ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टीकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहजरुपमा उपभोग गर्न सक्नेगरी बनाउन लागिएको छ ।

चौध कठ्ठा क्षेत्रफलमा आठ हजार वर्ग मिटरको दुईतले ट्रमिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठतले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि रु एक अर्ब ९२ करोडमा निर्माण कम्पनी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.