२०७९ चैत १४ गते ११:४४ विकासन्युज
काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ)हरुसँग चार घण्टा छलफल गर्यो । रात्रिभोजसहितको सो छलफलमा विभिन्न बैंकका सीईओहरुले आफ्नो बैंकमा देखिएका समस्या र त्यसमा राष्ट्र बैंकले गर्न सक्ने सहजीकरणको विषयमा चर्चा भयो ।
गभर्नर महाप्रसाद अधिकारीले प्रत्येक बैंकका सीईओ तथा प्रतिनिधिलाई आफ्नो बैंकको समस्या राख्न आग्रह गरे । गभर्नरको आग्रह बमोजिम बैंकका सीईओ तथा प्रतिनिधिहरुले आफ्नो कुरा त राखे तर खुलेर बोल्न चाहेनन् ।
बजारमा देखिएका वर्तमान समस्याको विषयमा नै छलफल केन्द्रित बन्यो । बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा बजारमा भइरहेको विरोध, बढ्न सक्ने सम्भावित खराब कर्जा, विभिन्न ठाउँमा बैंकरमाथि भइरहेको हमाला र बैंकहरुले भोग्नु परेको तरलताको समस्याका विषयमा छलफल केन्द्रित भयो ।
धेरै बैंकरको धारणा छलफलमा समान रह्यो । तर, केही बैंकका सीईओहरुले भने राष्ट्र बैंकसँग पुँजीवृद्धिको विकल्प दिन आग्रह गरे । पछिल्लो समय बैंकहरुको पुँजीकोष टाइट हँदै गएको बताउँदै अब राष्ट्र बैंकले बैंकहरुलाई पुँजीवृद्धिका लागि विकल्प दिनु पर्ने धारणा राखेका थिए ।
‘अधिकांश समय समसामयिक विषयमा छलफल भयो, केही बैंकर्सले बैंकहरुको पुँजी कोष टाइट बन्दै गएको र लगानी गर्न सक्ने अवस्था नभएकोले पुँजीवृद्धिको माग गरेका थिए,’ सहभागी एक बैंकका सीईओले विकासन्युजसँग भने ।
उनका अनुसार अधिकांश बैंकर्सले आगामी वर्षदेखि काउन्टर साइक्लिकल बफरको व्यवस्था लागू गर्दा झन बैंकहरु समस्यामा पर्ने र लगानी नै गर्न नसक्ने अवस्था हुने भएकोले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नै पुँजीवृद्धिको विकल्पहरु राष्ट्र बैंकले दिनु पर्ने माग गभर्नरसमक्ष अधिकांश बैंकरले राखेका थिए ।
उनीहरुले विकल्पमा बैंकहरुले पुँजीवृद्धिका लागि हकप्रद सेयर जारी गर्न पाउनु पर्ने माग राखेका थिए । त्यसमा गभर्नरले भने कुनै जवाफ नदिएको ती बैंकरले बताए । गभर्नरले अहिले बजारमा देखिएका समस्या समाधानका लागि सबैले लागि पर्नु पर्ने धारणा राखेका थिए ।
‘अहिलेको चुनौति भनेको बजारमा देखिएका समस्यालाई समाधान गर्ने हो, सुरुमा सिस्टमको सुधार गर्नु पर्छ, यो चुनौतिलाई समाधान गर्न तर्फ लाग्नु तपाईं/हामी सबैको उत्तरदायित्व हो, बैंकहरुका समस्या पनि हामीले बुझेका छौं, हामीले तपाईंहरुका कुरालाई पनि सिरियस रुपमा हेरेका छौं,’ गभर्नर भनाइलाई उदृत गर्दै एक बैंकरले भने ।
एक बैंकका सीईओले राष्ट्र बैंकले बैंकहरुलाई हकप्रद सेयर जारी गर्ने व्यवस्था गर्न लागेको पनि बताए । उनका अनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले सो व्यवस्था गर्न सक्छ । उनले बैंकहरुले १ः१ को अनुपातमा हकप्रद सेयरको माग बैंकहरुले गरिरहेको बताए ।
‘अहिले कर्जा तिर्न गाह्रो भएका ऋणीहरु र बैंकलाई पनि उत्साहित हुनेगरी प्योकजहरु ल्याउने भन्ने सुनिएको छ, रिफाइनान्सको सुविधा पनि पूर्ण रुपमा हटाउने तयारी छ, अहिले तिर्नुपर्ने ब्याजलाई बैंकको प्रोभिजन नबढ्ने गरी २ वर्षलाई पुर्नसंरचनाको व्यवस्था गर्याे भने सबैलाई राहत हुन सक्छ,’ ती बैंकरले भने ।
पछिल्लो समय वाणिज्य बैंकहरुबीच धमाधम मर्जर भइरहेको छ । हाल २१ वटा वाणिज्य बैंक छन् सनराइज र लक्ष्मी बैंकबीच मर्जरको सम्झौता भएको छ । ती बैंकबीच पनि मर्जर भएपछि २० वटामा सीमित हुनेछ । अधिकांश बैंकहरुको पुँजी १५ अर्ब माथि छ । अझै पनि बैंकहरले पुँजीवृद्धिको विकल्प माग गरेका हुन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.